वीरको युरोलोजीसेवा अब्बल, अन्तर्राष्ट्रियस्तरका उपकरणबाट सेवा, सातामा ४५ शल्यक्रिया

मुलुककै स्वास्थ्योपचारको केन्द्र वीर अस्पतालको युरोलोजी विभागमा अन्तर्राष्ट्रियस्तरका उपकरण उपलब्ध छन् । जनसाधारणको पहुँचको वीरमा अब्बल सेवा उपलब्ध हुँदा युरोलोजीमा सर्वसाधारणले समेत गुणस्तरीय उपचारसेवा पाइरहेका छन् ।

२५ वर्षअघि युरो युनिटका रूपमा स्थापित वीरको युरोलोजी सेवा करिब ३ वर्षदेखि युरो विभागका रूपमा सञ्चालनरत छ । सेवाको गुणस्तर बढेसँगै बिरामीको चाप पनि बढ्न थालेपछि वीरको युरो विभागमा बिरामी उपचारका लागि पालो कुर्नुपर्ने बाध्यता भने छ ।

वीरको युरो विभागबाट सातामा ४ सयको हाराहरीमा बिरामीले ओपिडीसेवा लिँदै आएका छन् । युरोको उपचारका लागि आवश्यक अन्तर्राष्ट्रियस्तरका उपकरण हुँदा वीरले अन्य अस्पतालको तुलनामा ५ गुनाभन्दा कम दरमा युरोलोजीको गुणस्तरीय सेवा दिँदै आएको छ । सुरुमा युरोलोजी सर्जरीको सानो युनिटबाट सुरु भई हाल विभागका रूपमा बिरामीलाई गुणस्तरीय सेवा दिँदै आएको अस्पताल युरो विभाग प्रमुख प्रा.डा. पारसमणि श्रेष्ठले बताए ।

देशका ठूला अस्पतालमध्ये वीर, शिक्षण र अन्य केही अस्पतालमा मात्र युरोलोजी विभाग छन् । वीरमा अन्य अस्पतालमा उपचार सम्भव नभएर ठूलो संख्यामा बिरामी रेफर भएर आउने गरेको डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार वीरमा मिर्गौलामा भएको ढुंगालाई सजिलैसँग फुटाउनका लागि अति उपयोगी मानिने लेजर प्रविधिबाट बिरामीले सेवा पाइरहेका छन् । ‘पहिला–पहिला शरीरको केही भाग चिरफार गरेर बिरामीको शल्यक्रिया गरिन्थ्यो,’ डा. श्रेष्ठ भन्छन्, ‘हाल मिर्गौलाको अप्रेसन गर्दा सानो प्वाल बनाएर ‘ल्याप्रोकोपी’ युरोलोजीको सहायताले गरिरहेका छौँ ।’

पिट्याडिक युरोेलोजी अर्थात् बच्चामा देखिने मिर्गौलाको समस्याको उपचारसमेत वीरमा उपलब्ध छ । यस प्रविधिमार्फत बच्चामा जन्मजात तथा जन्मपछि देखिने मिर्गौलाको समस्याको अप्रेसन तथा उपचार गरिन्छ ।

कस्ता उपकरण उपलब्ध छन् वीरमा ?
अस्पतालमा मिर्गौलाको पत्थरीका बिरामीको चाप अत्यधिक छ । त्यसैगरी, मिर्गौलासम्बन्धी अन्य समस्या भएका बिरामी अस्पतालमा धेरै आउने गरेका छन् ।
डा. श्रेष्ठका अनुसार शल्यक्रियामार्फत पत्थरी निकाल्दा भित्रै बस्ने सम्भावना रहन्थ्यो, तर अहिले आएका लेजर, ल्याप्रोकोपीजस्ता उपकरणले उपचार गर्दा पत्थरी रहने सम्भावना ज्यदै न्यून मात्र रहन्छ ।
त्यसैगरी, आरएआरएस प्रविधिले प्वाल नपारीकन ढुंगा फुटाएर पिसाबबाट निकाल्ने गरिन्छ । बिरामीलाई बेहोस नबनाईकन विभिन्न प्रविधिले ठुल्ठूला ढुंगालाई सानो प्वालबाट निकाल्ने गरिन्छ ।

त्यसैगरी, पिट्याडिक युरोेलोजी अर्थात् बच्चामा देखिने मिर्गौलाको समस्याको उपचारसमेत वीरमा उपलब्ध छ । यस प्रविधिमार्फत बच्चामा जन्मजात तथा जन्मपछि देखिने मिर्गौलाको समस्याको अप्रेसन तथा उपचार गरिन्छ । उनी भन्छन्, ‘युरोथेराको सर्जरीमार्फत पुरुषको मूत्रनली बांगो वा साँघुरो भयो र कुनै कारणले पिसाब नआउने भयो भने अप्रेसन गरी ढुंगा निकालिन्छ । यो अप्रेसन अति संवेदनशील हुन्छ ।

त्यसैगरी, अस्पतालले महिलामा पिसाब चुहिने तथा पिसाब नआउने समस्याको उपचार गर्दै आएको छ । पिसिएनएलले मिर्गौलाभित्रको ढुंगालाई सानो प्वाल बनाएर ‘लेजर’ले फुटाएर निकाल्ने गरिन्छ । इन्डोस्कोपी सर्जरीका रूपमा पनि अप्रेसन गर्ने गरिएको छ । डा. श्रेष्ठ भन्छन्, ‘रोबर्ट एसिटेड ल्याप्रोस्कोपी सर्जरीबाहेक अन्तर्राष्ट्रिय रूपमा जुन उपचार र प्रविधि उपलब्ध छन्, ती सबै वीरमा वीरमा पनि उपलब्ध छन् ।’

इएसएब्लुएलले बाहिरबाट मिर्गौलाभित्र भएको ढुंगालाई फुटाउने काम गर्छ । अस्पतालले प्रमुख रूपमा चिरफार शल्यक्रिया, एन्टोयुरोलोजी सर्जरी, ल्याप्रोस्कोपीलगायत प्रविधिमार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

अन्य अस्पतालमा भन्दा ५ गुना सस्तो उपचार, विपन्नलाई निःशुल्क
वीरको युरो विभागअन्तर्गतको जुनसुकै अप्रेसन गराउँदा बिरामीलाई अन्य अस्पतालको तुलनामा ५ गुना सस्तो पर्छ । ‘अन्य अस्पतालमा २० हजार पर्ने अप्रेसन वीरले ३ हजारमा गर्दै आएको छ,’ डा. श्रेष्ठ भन्छन् । अस्पतालले उपचार खर्च बेहोर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गराउँदै आएको छ ।

नेपालमा युरो प्रमुख कन्सल्टेन्ट चिकित्सक करिब १० जना छन् । वीरमा ३ जना प्रमुख कन्सल्टेन्ट र १ जना कन्सल्टेन्ट कार्यरत छन् । हाल वीरको युरो विभागमा ४ जना कन्सल्टेन्डसहित ६ जना विद्यार्थीले सेवा दिइरहेका छन् ।

हरेक वर्ष दुईजना युरोलोजिस्ट उत्पादन गर्दै
अस्पताल (न्याम्स)ले प्रतिवर्ष दुईजनाका दरले एमसिएच युरोलोजिस्ट (सुपरस्पेसलिस्ट डाक्टर) पनि उत्पादन गर्दै आएको छ । एमसिएच युरोलोजीको उच्च तह हो, जसका लागि जनरल सर्जजीपश्चात् ३ वर्ष थप अध्ययन गर्नुपर्छ । वीरले प्रतिवर्ष २ जना जनरल सर्जरी गरेका डाक्टरलाई ३ वर्षको एमसिएच ट्रेनिङका लागि चयन गर्छ र एमसिएच उत्पादन गर्दै आएको छ ।

युरो विभागमा कन्सल्टेन्ट ४, विद्यार्थी ६
नेपालमा युरो प्रमुख कन्सल्टेन्ट चिकित्सक करिब १० जना छन् । वीरमा ३ जना प्रमुख कन्सल्टेन्ट र १ जना कन्सल्टेन्ट कार्यरत छन् ।
हाल वीरको युरो विभागमा ४ जना कन्सल्टेन्डसहित ६ जना विद्यार्थीले सेवा दिइरहेका छन् । प्रो.डा. पारसमणि, सहप्राध्यापक अनिल श्रेष्ठ, डा. रबिनबहादुर बस्नेत र डा. प्रमोद रेग्मीले वीरमा प्रमुख कन्सल्टेन्ट तथा कन्सल्टेन्ट सेवा दिइरहेका छन् । विभागीय प्रमुख डा. श्रेष्ठका अनुसार कन्सल्टेन्ट डाक्टर प्रर्याप्त भए पनि सहायक रूपमा काम गर्ने जनशक्तिको भने अभाव छ ।

हप्तामा ४५ शल्यक्रिया, २ दिन ओपिडी, ४ दिन शल्यक्रिया
वीरको युरो विभागले हप्ताको २ दिन मात्र ओपिटीसेवा दिँदै आएको छ । हप्तामा ४ सयको हाराहारीका युरो ओपिडीका टिकट विक्री हुने गरेको छ । यसबाहेक अन्य अस्पतालबाट रेफर भई आउनेको संख्या पनि उल्लेख्य छ ।
हप्ताको ४ दिन अप्रेसन हुने गरेको छ । ३ दिन युरोलोजीको अप्रेसन हुन्छ भने १ दिन मिर्गौला प्रत्यारोपण गर्ने गरिएको छ । ३ दिनमा साना–ठूला गरेर लगभग ४५ वटा अप्रेसन हुने गरेको अस्पताले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय