समता अस्पतालको बन्द कोठाभित्र महिला कर्मचारीको शव शंकास्पद अवस्थामा भेटियो, आफन्त तोडफोडमा उत्रिएपछि बल प्रयोग

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार ३ गते १७:२४

सय रुपैयाँमा बिरामीको उपचार गर्ने छविका कारण चर्चामा रहेको बौद्धको कुमारीगालस्थित समता अस्पताल मंगलबार रणमैदानमा परिणत भएको छ । अस्पतालमा सरसफाइको काम गर्दै आएकी कर्मचारीको मंगलबार शंकास्पद अवस्थामा अस्पतालको कोठाभित्रै शव फलापरेपछि अस्पताल क्षेत्र तनावग्रस्त बन्न पुगेको हो ।

सोमबार सदाझैँ काममा गएकी दोलखा स्थायी घर भएकी २७ वर्षीया विमला तामाङ बेलुकी घर भने फर्किनन् । खोजीका क्रममा मंगलबार बिहान अकस्मात् उनको शव अस्पतालको बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेलापरेपछि घटना शंकास्पद बनेको छ । शंकास्पद रूपमा अस्पतालम शव फेलापरेसँगै मृतक तामाङका परिवार तथा आफन्त आक्रोशित बनेका छन् ।

मृतकका श्रीमान् बुद्धिराज योञ्जनसहित परिवार तथा आफन्तले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । घटानाबारे सत्य–तथ्य बाहिर ल्याउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका आफन्तले अस्पतालमाथि आक्रोश पोखेका छन् ।उनीहरूले अस्पतालपरिसरमा ढुंगामुडासहित आगजनीको प्रयास गरेका छन् । प्रहरीले अस्पताल क्षेत्रलाई शान्त बनाउन आन्दोलनकारीलाई लाठी तथा अश्रुग्यास प्रहार गरेको छ ।

अस्पतालमा सरसफाइको जिम्मेवारीमा रहेकी विमला २ महिनादेखि कार्यरत थिइन् । अफ्नो कर्मचारी तामाङको मृत्यु विषयमा अस्पताल प्रशासनले भने स्वयम् झुन्डिएको वा अरु नै कारणले मृत्यु भएको भन्ने यकिन नभएको जनाएको छ ।

मृतक तामाङ सोमबार बेलुकी कामबाट घर नफर्किएपछि आफन्तले उनको खोजीकार्य सुरु गरेको र मंगलबार बिहान मात्र अस्पतालको कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । ‘प्रहरीको रोहबरमा घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी चन्दले भने ।

मृतकका आफन्तले आक्रोशित हुँदै अस्पतालमा ढुंगमुडा र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको डिएसपी चन्दको भनाइ छ । ‘मृतकका आफन्तले आक्रोशित हुँदै अस्पतालपरिसरमा ढुंगा हान्ने तथा अस्पतालक्षेत्रमा आगजनीको प्रयास गर्न थाल्नुभयो,’ डिएसपी चन्दले भने, ‘स्थितिलाई नियन्त्रणमा लिन तथा थप क्षति पुग्न नदिन प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्नुपर्ने बाध्यता भयो ।’

प्रहरीले बल प्रयोग गरेपछि सम्भावित क्षति न्यूनीकरण भए पनि मृतकका अफन्तले अझै पनि अस्पतालपरिसरमा प्रदर्शन गरिरहेका छन् । अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको बताइएको छ । घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग मृतकका आफन्तको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय