म्याद नाघेका औषधि विक्री गर्ने अष्टांग आयुर्वेद प्रालिमा सिलबन्दी, ३० दिनका लागि निलम्बन

गुरमुरत यादव
प्रकाशित
२०७६ असार ३ गते १६:१८

बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको अष्टांग आयुर्वेद प्रालिलाई औषधि व्यवस्था विभाग नेपालगन्जले सिलबन्दी गरी ३० दिनका लागि निलम्बन गरेको छ । औषधि व्यवस्था विभागले नेपालगन्जका औषधि पसल र एग्रोभेटमा शुक्रबार गरेको अनुगमनका क्रममा मापदण्डविपरीत आयुर्वेदिक औषधि पसल सञ्चालन गरेको पाइएपछि अष्टांगमा सिलबन्दी गरेको हो । पाँचवटा पसलमा गरिएको निरीक्षणका क्रममा अधिकांश पसलमा म्याद नाघेका औषधि भेटिएका छन् भने नियमविपरीत सञ्चालनमा रहेको पाइएको छ ।

अनुगमनका क्रममा कैफियत पाइएपछि अष्टांग आयुर्वेद प्रालिमा सिलबन्दी गरी ३० दिनका लागि निलम्बन गरिएको औषधि व्यवस्था विभाग नेपालगन्जले जनाएको छ । आयुर्वेदमा दर्ता भएको उक्त पसलले एलोप्याथिक औषधि विक्री–वितरणका लागि राखेको र नेपालमा दर्ता नभएका औषधिसमेत सञ्चय गरेकाले उक्त पसलमा सिलबन्दी गरी निलम्बन गरिएको विभागका फार्मेसी अधिकृत दीपेन्द्रकुमार साहले जानकारी थिए ।

निरीक्षणका क्रममा चितवन एग्रोभेटले नेपालमा दर्ता नभएका औषधि विक्री–वितरण गर्नुका साथै म्याद नाघेका औषधि राखेको पाइएको शाहले बताए । भेटेरिनरी औषधि कारोबारमा दर्ता रहेको उक्त पसलले कृषिका बिउ–बीजनका साथै कीटनाशक विषादीसमेत विक्री–वितरण गरेको पाइएकाले आवश्यक कारबाहीका लागि कार्यालयमा बोलाइएको फार्मेसी अधिकृत साहले जानकारी दिए ।

साहको नेतृत्वमा फार्मेसी सुपरभाइजर यादवप्रसाद ढकाल र अनिश ढोडरीको टोलीले गरेको अनुगमनमा हरिओम मेडिकलमा म्याद नाघेको औषधि राखेको पाइएको छ । उचित तापक्रममा राख्नुपर्ने औषधि फ्रिजमा नराखेकाले औषधिको गुणस्तरमा प्रतिकूल प्रभाव पर्ने भएको हुँदा उक्त मेडिकलका सञ्चालकलाई कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको फार्मेसी अधिकृत साहले बताए ।

यस्तै, उपकार मेडिकल हल र कुलासिस मेडिकल हलमा समेत अनुगमन गरिएको थियो । दुवै मेडिकल नियमानुसार सञ्चालन भएको पाइएको औषधि व्यवस्था विभाग नेपालगन्जले जनाएको छ । नियमविपरीत सञ्चालन र म्याद नाघेको औषधि विक्री–वितरण गर्ने पसलमाथि विभागीय निर्णयअनुसार निलम्बनसम्मको कारबाही गरिने फार्मेसी अधिकृत साहले बताए ।

२ दिनअगाडि प्रदेश ५ मा आयोजित आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवाला निकायले झोले आयुर्वेद व्यापारी र अवैध वैद्यलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रदेश ५ स्वास्थ्य निर्देशनायका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेलले झोले आयुर्वेद व्यापारी र अवैध वैद्यका कारण आयुर्वेद उपचारपद्धति बद्नाम भएको बताएका थिए । व्यावसायिक रुपमा सडक, बाटो र घर–घरमा गएर आयुर्वेदिक औषधि विक्री गर्नेलाई स्थानीय प्रशासन, प्रहरी र स्थानीय निकायले कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

प्रदेश ५ का १२ जिल्लाका सहरदेखि ग्रामीण तहसम्म अवैध झोले आयुर्वेदिक व्यापारी र वैद्य रहेको बताइएको थियो । यस्तो व्यापारले सर्वसाधारणमाथि ठगी मात्र नभई मानवीय स्वास्थ्यमा खेलवाड र जटिल रोग निम्त्याएको सहभागीले बताएका थिए । प्रदेश ५ का १२ जिल्लाका १ सय ९ स्थानीय तहमध्ये अहिले ४५ स्थानीय तहमा मात्र सरकारी निकायबाट निःशुल्क सेवा प्रदान गर्ने आयुर्वेद स्वास्थ्यकेन्द्र सञ्चालनमा छन् । बाँकी ४५ स्थानीय तह आयुर्वेद स्वास्थ्यकेन्द्रविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय