डडेल्धुरा अस्पतालका सबै चिकित्सक सामूहिक बिदामा, सिडिओले धम्की दिएको आरोप

डडेल्धुरा अस्पताल अनिश्चितकालका लागि चिकित्सकविहीन हुने भएको छ । अस्पतालमा कार्यरत ११ चिकित्सक आइतबारदेखि अनिश्चितकालका लागि सामूहिक बिदामा बसेपछि अस्पतालको सेवा पूर्णतः प्रभावित हुने भएको हो ।

केही दिनदेखि अस्पतालमा भड्किएको तनावलाई शान्त पार्नुको साटो प्रमुख जिल्ला अधिकारीले उल्टै चिकित्सकलाई धम्की दिने काम गरेकाले अस्पतालमा काम गर्ने वातावरण नबनेसम्मका लागि चिकित्सकहरूले सामूहिक बिदा बस्ने निर्णय लिएको उनीहरूले मेडिकल सुपरिटेन्डेन्टलाई दिएको निवेदनमा उल्लेख छ । ‘हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील स्थानमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई चाँडोभन्दा चाँडो कानुनी कारबाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भएकाले यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरू आजैबाट सामूहिक बिदा बस्ने अवगत गराउँछौँ,’ चिकित्सकहरूको सामूहिक निवेदनमा उल्लेख छ ।

३१ जेठमा अमरगढी नगरपालिकाकी २५ वर्षीया गीता ताम्राकारको अप्रेसनका क्रममा निधन भएपछि अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका छन् । आक्रोशित आफन्त उपचारमा संलग्न चिकित्सकहरूमाथि खनिएपछि चिकित्सकहरूले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयको ढोका ढकढक्याएका थिए । तर, प्रमुख जिल्ला अधिकारीले समस्या समाधानमा पहल गर्नुको साटो उल्टै आफूहरूलाई धम्की दिँदै गैरजिम्मेवार रूपमा प्रस्तुत भएको चिकित्सकहरूको आरोप छ ।

सामूहिक बिदाका लागि निवेदन दिनेमा डा. ललित सुरी, डा. उत्तम भट्ट, डा. पदम नेपाली, डा. अमृत अधिकारी, डा. सुभास लामिछाने, डा. विकास दुवाडी, डा. विभव बस्याल, डा. नरेश श्रेष्ठ, डा. सिर्जना अधिकारी, डा. सिर्जना महर्जन र डा. डबल बुडा छन् ।

के भएको थियो ?
जेठ १६ गते शल्यक्रियामार्फत सुत्केरी गराइएकी अमरगढी नगरपालिका–६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भयो । घटनापछि अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गरे ।

ताम्राकार ३१ गते बिहान साढे ८ बजे अस्पताल पुगेकी थिइन् । १४ दिनसम्म रक्तश्राव नरोकिएपछि उनलाई शुक्रबार अस्पताल लगिएको थियो, तर चिकित्सकले ढिला भइसकेको भन्दै काठमाडौं रेफर गरेका थिए । सोही दिन पनि सुरुमा चिकित्सकले जाँच गरेर ताजा रगत नभई पाठेघरमा पुरानो जमेको रगत बगेको बताएको पीडित पक्षको भनाइ छ । सोही दिन दिउँसो बिरामीको अवस्था झन् बिग्रिएपछि हेलिकोप्टरबाट काठमाडौं लैजान सल्लाह दिइएको थियो । तर, साँझ साढे पाँच बजे गीताको मृत्यु भयो ।

बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकले रेफर गर्न नमानेका कारण अप्रेसनमै त्रुटि भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका थिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिनका लागि विशेषज्ञ टोली पठाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ । यसैगरी मृतक महिलाको शवको पोस्टमार्टम जिल्लाबाहिरका चिकित्सकबाट गराउने र मृतकका आफन्तलाई नियमानुसार राहत उपलब्ध गराउने सहमति भएपछि स्थिति केही शान्त भएको थियो । तर, आइतबार अस्पतालमा कार्यरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै अनिश्चितकालका लागि सामूहिक बिदा बस्न निवेदन दिएसँगै घटना बल्झिने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय