क्षयरोगीको खकार बोक्न ड्रोन परिचालन, एसियाकै नौलो प्रयोगले उन्मूलन लक्ष्यमा देला त राहत ?

नेपालमा क्षयरोगको पहिचान र नियन्त्रणका लागि एसियामै पहिलोपटक अत्याधुनिक प्रविधि ड्रोनको परिचालन गरिने भएको छ । प्युठानका दुई स्थानीय तहमा स्थानीय स्वास्थ्यसंस्थामा संकलित बिरामीको खकारको नमुना ड्रोनमार्फत प्रयोगशालामा पुर्याउन सुरु गरिएको हो ।

क्षयरोग न्यूनीकरण सरकारका लागि गम्भीर चुनौतीको विषय बनिरहेका वेला नयाँ प्रविधिबाट क्षयरोग पत्ता लगाउन तथा बिरामीलाई उचित समयमा उपचारसेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्युठानबाट यो परियोजना सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । ‘भौगोलिक रूपमा विकट क्षेत्रमा जनतालाई स्वास्थ्यसंस्थामा पुग्न कठिन छ । यस्तोमा ड्रोनको प्रयोगले क्षयरोग नियन्त्रणमा देखिएका समस्या र चुनौती केही हदसम्म न्यूनीकरण हुने विश्वास छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्युठानमा नमुना परीक्षण गरिएको हो, प्रभावकारी भएको खण्डमा देशैभरका विकट क्षेत्रमा सञ्चालन गर्ने योजना छ ।’

कार्यक्रमअन्तर्गत मानवरहित ड्रोनको प्रयोगद्वारा प्युठान र स्वर्गद्वारी नगरपालिकाअन्तर्गतका सबै स्वास्थ्यकेन्द्रहरूबाट सम्भावित संक्रमितको खकारको नमुना संकलन गरी जिल्ला अस्पताल र भिंग्री प्राथमिक स्वास्थ्यकेन्द्रको प्रयोगशालासम्म पुर्याई जिन एक्स्पर्ट मेसिनबाट खकार जाँच गरेर क्षयरोग यकिन गर्ने काम हुन्छ ।

ड्रोनले एकपटकमा ३० वटासम्म नमुना ल्याउने गर्छ । ‘हाल दुईवटा नगरपालिकाका लागि दुईवटा ड्रोन परिचालन गरिएका छन्,’ सुवेदी भन्छन्, ‘समुदायमा लुकेर बसेका क्षयरोगीको खकारको नमुना संकलन गरी ड्रोनमार्फत स्वास्थ्यसंस्थामा पुर्याएर परीक्षण गराउन सहज हुन्छ ।’

विराट नेपाल मेडिकल ट्रस्टको मुख्य प्राविधिक तथा आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा ड्रोनेपाल प्रालि, नेपाल फ्लाइङ ल्याब, ह्वी रोबोटिक्स, लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन र स्टोनी ब्रुक युनिभर्सिटीको प्राविधिक सहकार्य तथा निक साइमन फाउन्डेसनको आर्थिक सहयोग रहेको जिल्ला जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार ड्रोनले एकपटकमा ३० वटासम्म नमुना ल्याउने गर्छ । ‘हाल दुईवटा नगरपालिकाका लागि दुईवटा ड्रोन परिचालन गरिएका छन्,’ सुवेदी भन्छन्, ‘समुदायमा लुकेर बसेका क्षयरोगीको खकारको नमुना संकलन गरी ड्रोनमार्फत स्वास्थ्यसंस्थामा पुर्याएर परीक्षण गराउन सहज हुन्छ ।’
नयाँ प्रविधिमार्फत क्षयरोगको रोकथाम र नियन्त्रणमा समुदायमा जनचेतना फैलाउन तथा क्षयरोगीको पहिचान गर्न सहज हुने र यसबाट क्षयरोगको उपचारमा सफतला मिल्ने सुवेदीको विश्वास छ ।
प्रवक्ता श्रेष्ठका अनुसार एउटा ड्रोनको खरिद मूल्य करिब ७ लाख पर्छ । उनी भन्छन्, ‘ड्रोनको मूल्य ७ लाख परे पनि सञ्चालन लागत भने धेरै पर्न आउँछ ।’

कार्यक्रमको १९ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नै उद्घाटन गरेका थिए । सो अवसरमा नयाँ प्रविधियुक्त ड्रोनको सफल परीक्षणसमेत गरिएको थियो । केही प्राविधिक विषयको व्यवस्थापन भएपछि नियमित रूपमा सञ्चालनमा आउने जिल्ला जनस्वास्थ्य प्रमुख सुवेदी बताउँछन् ।

दुर्गम स्थानमा बस्ने जनतालाई दैनिक उपचारमा आउन गाह्रो हुने भएकाले स्मार्ट पिलबक्स अथवा एमइआरएमएस (मेडिकसन इभेन्ट रिमान्डर मोनिटर सिस्टम)को सहयोगले उपचार गर्ने इआरएमएस प्रविधिमार्फत बिरामीले औषधि खाए–नखाएको निगरानी गर्न सकिनेछ । त्यसैगरी, स्वास्थ्यकर्मी र बिरामीलाई क्षयरोगको रोकथाम र उपचारमा सचेत गराउन जनचेतनामूलक भिडियो ट्युटोरियल (श्रव्यदृश्य शिक्षण–सामग्री)हरूको पनि प्रयोग हुनेछ ।

नेपाल फ्लाइङ ल्याबका संयोजक उत्तम पुडासैनीका अनुसार ड्रोन आफैँमा धेरै संवेदनशील प्रविधि हो । तसर्थ, यसको उचित प्रयोग र अनुगमनका लागि आवश्यक कानुन तथा प्राविधिक पूर्वाधार निर्माणकै क्रममा रहेको तथा परियोजनामा संलग्न विभिन्न निकायलाई परियोजनाको उपयोगिता बुझाउन धेरै समय लागेको पुडासैनीले बताए ।

नेपाल फ्लाइङ ल्याबका संयोजक उत्तम पुडासैनीका अनुसार ड्रोन आफैँमा धेरै संवेदनशील प्रविधि हो । तसर्थ, यसको उचित प्रयोग र अनुगमनका लागि आवश्यक कानुन तथा प्राविधिक पूर्वाधार निर्माणकै क्रममा रहेको तथा परियोजनामा संलग्न विभिन्न निकायलाई परियोजनाको उपयोगिता बुझाउन धेरै समय लागेको पुडासैनीले बताए ।

नेपालमा क्षयरोगको उपचार तथा निवारणका लागि वार्षिक ७० करोड रूपैयाँ खर्चिंदा पनि रोगबाट हुने मुत्युको कारणमध्ये सातौँ स्थान क्षयरोगले ओगटेको छ । त्यति मात्र होइन, नेपालमा प्रत्येक वर्ष करिब ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान विश्व स्वास्थ्य संगठनको छ, जुन उपचारको दायरामा आएका बिरामीका आधारमा गरिएको अनुमान हो ।

हाल नेपालमा पुराना तथा नयाँ गरी क्षयरोगीको संख्या करिब ६० हजार रहेको आकलन गरिएको छ भने प्रतिवर्ष ७ हजार नेपालीको मुत्यु क्षयरोगका कारण हुँदै आएको सरकारी तथ्यांक छ । तथ्यांकअनुसार दैनिक करिब १ सय २३ नेपालीमा क्षयरोगको संक्रमण हुने गरेको छ । कतिपय स्थानमा भौगोलिक अवस्था र स्वास्थ्यसंस्था नजिकमा नहुँदा रोगको पहिचान तथा सही समयमा उपचार हुन सकिरहेको छैन । त्यसैले कठिन तथा दुर्गम स्थानलाई लक्षित गरी क्षयरोगको पहिचान तथा उपचारमा प्रभावकारिता ल्याउन नवीनतम प्रविधि ड्रोनको उपयोग गर्न सुरु गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले सन् २०३५ भित्र क्षयरोग उन्मूलन गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपालले पनि निर्धारित समयावधिभित्र देशबाट क्षयरोग उन्मूलन गर्ने प्रतिबद्धता जनाइसकेको छ । तर, नेपाल सरकारले जुन रणनीति तय गरेर जुनकिसिमले कार्यक्रम अघिबढाइसकेको छ, त्यसबाट लक्ष्य हासिल हुन नसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले स्थलगत अध्ययन गरेर रिपोर्ट दिइसकेका छन् ।

क्षयरोग र उपचारपद्धतिको पछिल्लो अवस्थाबारे १५ सम्म अध्ययनमा खटिएको देशी–विदेशी विशेषज्ञसम्मिलित टोलीले यसै साता मात्र अध्ययनको प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले क्षयरोगको उपचार र निवारणका लागि अपनाएको रणनीति र कार्यक्रम दुवैमा परिवर्तनको आवश्यकता औँल्याएको थियो । यस्तोमा ड्रोनको प्रयोगमार्फत क्षयरोगको निदान गर्ने पछिल्लो अभ्यास केही हदसम्म भए पनि सहयोगी बन्ने सरकारी अधिकारीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय