पित्तथैलीको अप्रेसनका क्रममा सर्जनले आन्द्रा प्वाल परेको थाहा नपाउँदा रामप्यारीको मृत्यु, ओममा भड्कियो तनाव

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा चिकित्सक तथा अस्पतालको लापरबाहीका कारण शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका छन् । पत्थरीयुक्त पित्तथैली निकाल्न अप्रेसन गरेको ६ दिनपछि बिहीबार बिहान ७ बजे सिन्धुपाल्चोक इन्द्रावाती गाउँपालिका–१० की रामप्यारी थापाको मृत्यु भएको हो ।

थापाको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अप्रेसन भएको थियो । अप्रेसनको एक सातापछि अस्पतालले बिहीबार उनलाई मृत घोषणा गरेको हो । ५० वर्षीया रामप्यारी परिवारजनलाई खाना खुवाएर आफैँ हिँडेरै अप्रेसनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अप्रेसन गर्दा मेसिनले सानो आन्द्रा छेडेको र सर्जनले त्यसलाई नटालिकन बन्द गरिदिँदा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । डाक्टरले एक सातासम्म निको हुने आश्वासन दिँदै आएको तर बिहीबार बिहान मृत्यु भएको घोषणा गरेको आफन्तको भनाइ छ । उपचारमा संलग्न चिकित्सकको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । तर, अस्पताल प्रशासनले भने रामप्यारीको उपचारमा चिकित्सकबाट कुनै लापरबाही नभएको बताएको छ ।

पित्तथैली निकाल्नेक्रममा यन्त्रले आन्द्रामा प्वाल पारेको मेसिनमा नदेखिँदा संक्रमण फैलिएर मृत्यु : अस्पताल

बिरामीको अवस्था पहिलेदेखि नै गम्भीर रहेको र प्रयास गर्दागर्दै बचाउन नसकिएको अस्पतालको भनाइ छ । बिहीबार पत्रकारसम्मेलन गर्दै अस्पतालले ल्याप्रोस्कोपिक प्रविधि (दूरवीनको सहयोगमा मेसिनले प्वाल पारेर गरिने अप्रेसन)बाट पित्तथैली (गल ब्लाडर) निकाल्नेक्रममा ल्याप्रोस्कोपिक यन्त्रले आन्द्रामा प्वाल पारेको तर सर्जनले त्यसलाई नदेखेको स्विकारेको छ । सर्जनले अप्रेसनका क्रममा निकै सावधानी अपनाए पनि मेसिनले कुनै गडबडी नदेखाएका कारण घाउमा टाँका लगाएर अप्रेसन टुंग्याएको अस्पतालका मेडिकल डाइरेकटर डा. केपी देवकोटाले पत्रकारसम्मेलनमा बताए ।

तर, शनिबार बिरामीको अवस्थामा सुधार आउनुको साटो पेट दुख्ने, ज्वरो आउने, मुटुको धडकन बढ्ने, छातीमा निमोनिया तथा विभिन्न अंगमा संक्रमण फैलिएको लगायत समस्याका कारण अवस्था बिग्रिँदै गएपछि सर्जनले आइतबार अल्ट्रासाउन्ड, सिटी स्क्यानलगायत चेकजाँच गराउँदा पनि कुनै गडबडी नपाइएपछि सर्जनले अप्रेसनका क्रममा दूरवीन छिराउन पारिएको प्वालमध्येको एउटाको टाँका खोलेर हेर्दा त्यहाँबाट फोहोर निस्किएको देखेपछि बल्ल आन्द्रमा प्वाल परेको थाहा भएको डा. देवकोटाको भनाइ छ ।

त्यसपछि बिरामीको पुनः अप्रेसन गरी पेटबाट दिसा निकाल्ने पाइप जडान गरिएको तर आन्द्रा काटेर जोड्न भने बिरामीको बिग्रँदो अवस्थाका कारण सम्भव नभएको अस्पतालको भनाइ छ । बिरामीको अवस्थामा सुधार नआई आन्द्रा काटेर जोड्नेस्तरको अप्रेसन गर्दा बिरामीको होस आउन नसक्ने निष्कर्षमा पुगेर अप्रेसन नगरिएको छिटो सम्भव हुने पाइपजडान मात्र गरिएको डा. देवकोटाको भनाइ छ । त्यसपछि बिरामीका सबै अंगमा संक्रमण बढ्दै गई मिर्गौलालगायत सबै अंगले काम गर्न छोडेकाले बिरामीको मृत्यु भएको डा. देवकोटाले बताएका छन् । बिरामीको पहिले नै तीनपटकसम्म पाठेघरको अप्रेसन भइसकेकाले अप्रेसन जटिल रहेको कुरा सर्जनले पहिले नै आफन्तलाई जानकारी गराएको समेत उनको दाबी छ ।

रामप्यारीलाई मृत घोषणा गरेसँगै बिहीबार आफन्तले ओम अस्पतालपरिसरमा नाराबाजी गरेका छन् । तर, अहिले अवस्था सामान्य रहेको र समस्या समाधानका लागि छलफल भइरहेको गौशालाका डिएसपी प्रदीप सिंहले जानकारी दिए । उनले भने, ‘अहिले अवस्था सामान्य छ, अस्पताल प्रशासन र आफन्तबीच छलफल भइरहेको छ ।’

मृतकका आफन्तले घटनाको उचित छानबिन हुनुपर्ने, अस्पतालले माफी माग्नुपर्ने, उपचारमा संलग्न चिकित्सकमाथि कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय