शिवराज अस्पतालमा शल्यक्रियाकक्षभित्रै चिकित्सकमाथि दुर्व्यवहार, दुई सातामा चिकित्सक आक्रमणको तेस्रो घटना

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ ३० गते १४:२९

शिवराज अस्पतालका चिकित्सकमाथि दुर्व्यहार भएको छ । बिरामीलाई अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गराइरहेका वेला शिवराज नगरपालिकाका रविदत्त मिश्र, कृष्णनगरका शिवकुमार गुप्ताले अस्पतालको शल्यक्रियाकक्षभित्रै प्रवेश गरी दुर्व्यवहार गरेका हुन् । यी दुवैजनालाई कानुनअनुसार कारबाही गर्न अस्पताल प्रशासनले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

घाइतेको उपचाररार्थ खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै शिवराज अस्पताल बहादुरगन्जले शान्तिसुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ । अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा घाइतेको उपचार भइरहेका वेला माइनर ओटीमा प्रवेश गरी केही व्यक्तिले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि तथानाम गालीगलौज, अभद्र व्यवहार र हातपात गरेको उल्लेख छ ।

अस्पतालका अनुसार बुधबार दिउँसो साढे २ बजे टाउको र शरीरका विभिन्न भागमा चोट लागेका असर्फी यादव, किशनकुमार यादव, हीरालाल यादव, रामनिवास पासी र प्रवीण यादवलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

स्वास्थ्यसंस्थाजस्तो संवेदनशील र शान्तिपूर्ण स्थललाई आपराधिक क्रियाकलापबाट टाढा राख्न एवम् कर्मचारीको सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसमक्ष अस्पतालले आग्रह गरेको छ ।

पछिल्लो समय उपचारमा खटिएका चिकित्सकमाथि भौतिक रूपमै आक्रमण, गालीगलौज तथा दुर्व्यवहारका घटना बढ्दै गएका छन् । दुई साताभित्र राजधानीबाहिरका अस्पतालहरूमा चिकित्सकमाथि दुर्व्यवहार भएको यो तेस्रो घटना हो । ३ दिनअघि सोमबार मात्र सिन्धुली अस्पतालमा कार्यरतर चिकित्सक दिवस ढकालमाथि रातको साढे ११ बजे आकस्मिककक्षमै आक्रमण भएको थियो । त्यसैगरी, दुई साताअघि १४ जेठको राति करिब १० बजे हेटौँडा अस्पतालको आकस्मिककक्षमा ड्युटीमा रहेकी डा. वन्दना अधिकारीमाथि भौतिक रूपमै आक्रमणको प्रयास भएको थियो । यसरी चिकित्सकमाथि लगातार भइरहेको आक्रमणका घटना सार्वजनिक भइरहँदा स्वास्थ्य सेवाप्रवाहमै समस्या उत्पन्न हुने चिकित्सकहरूको भनाइ छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको वातावरण शान्तिपूर्ण हुनुपर्नेमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई असुरक्षित महसुस गराउने यस्ता घटनाले अन्ततः स्वास्थ्यकर्मीलाई आतंकित तुल्याउने मात्र नभई सर्वसाधारणले पाउनुपर्ने गुणस्तरीय स्वास्थ्यसेवामै आँच आउन सक्न चिकित्सक तथा स्वास्थ्यकर्मीको भनाइ छ । दुई सातामा आकस्मिककक्ष हुँदै पछिल्लोपटक शल्यक्रियाकक्षभित्रै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु स्वास्थ्यक्षेत्रकै निम्ति चुनौतीको विषय बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय