अब विदेश जाने कामदारको स्वास्थ्यपरीक्षण राजधानीबाहिर पनि, चितवन मेडिकल कलेजलाई पनि अनुमति

चितवन मेडिकल कलेजले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरीक्षण गर्ने भएको छ । सरकारले सोमबार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरीक्षण गर्न पाउने संस्थाहरूमा चितवन मेडिकल कलेजलाई पनि सूचीकृत गरेपछि अस्पताललाई सेवा दिन बाटो खुलेको हो ।

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्यपरीक्षणका लागि ५१ वटा स्वास्थ्यसंस्थालाई सूचीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आह्वानमा स्वास्थ्यपरीक्षण अनुमतिका लागि कुल १ सय २६ स्वास्थ्यसंस्थाले निवेदन दिएकोमा अनुगमनका क्रममा ५१ स्वास्थ्यसंस्थाको मात्र मापदण्ड पुगेको पाइएपछि सरकारले ती स्वास्थ्यसंस्थालाई सूचीकृत गरेको थियो ।
यससँगै वैदेशिक रोजगारीका लागि जाने चितवनलगायत आसपासका जिल्लावासीले स्वास्थ्यपरीक्षणका लागि राजधानी नै धाउनुपर्ने बाध्यताको अन्त हुने भएको छ । चितवन मेडिकल कलेजमै स्वास्थ्यपरीक्षण हुने भएपछि स्थानीयले राहत पाउने भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३ चैत ०७५ मा सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरीक्षण गर्न चाहने स्वास्थ्यसंस्थालाई सूचीकरणका लागि नवेदन आह्वान गरेको थियो । सूचीकृत स्वास्थ्यसंस्थालाई मन्त्रालयले सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन भनेको छ । सूचीकृत संस्थाले धरौटीबापत ३ लाख २५ हजार र सूचीकृत शुल्क २५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

सूचीकरणमा ठूला अस्पताल परेकाले विगतमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरीक्षण देखिएका बेथिति, लापरबाही तथा अनियमितता रोकिने विश्वास लिइएको छ । विगतमा चिकित्सकको छाप प्रयोग गरी स्वास्थ्यपरीक्षणको कागजी प्रक्रिया मात्र पूरा गर्नेजस्ता अनियमितता हुँदै आएकोमा पछिल्लो समय नेपालका ठूला अस्पतालहरुले नै कामदारको स्वास्थ्यपरीक्षण गर्न चासो देखाएकाले वास्तविक रिपोर्ट आउने र कुनै कामदार विदेश गइसकेपछि स्वास्थ्य समस्याका कारण स्वदेश फर्कनुपर्ने घटनामा न्यूनीकरण हुने मन्त्रालयले विश्वास लिएको छ ।

राजधानीबाहिरको चितवन मेडिकल कलेजसँगै अब वैदेशिक रोजगारीमा जान चाहने कामदारको स्वास्थ्यपरीक्षणका लागि काठमाडौंका चर्चित ठूला अस्पतालहरु नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल, बानेश्वरस्थित एभरेस्ट अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, धापासीस्थित ग्रिनसिटी अस्पताललगायत सूचीकृत भएका छन् । यसैगरी, राजधानीबाहिर पोखरास्थित सनसाइन हेल्थ केयर सेन्टर, विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्ज प्रालि र चितवनकै पुष्पाञ्जलि हस्पिटलले पनि स्वास्थ्यपरीक्षण अनुमति पाएका छन् । यी क्षेत्रका कामदारले पनि अब स्वास्थ्यपरीक्षणका लागि राजधानी धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय