‘सिन्धुलीमा निस्केलास् !’ भन्दै श्रीमानले ममाथि हातपात गरे, श्रीमतीको उपचारपछि मात्र पक्रनू भनेको छु

जेठ २७ गते, सोमबार, रातिको साढे ११ बजेको थियो । सिन्धुली अस्पतालमा ड्युटी सकेर क्वार्टरमा आराम गरिरहेको मलाई ड्युटीमा रहेका चिकित्सकले फोन गर्नुभयो । उहाँले बोलाउनेबित्तिकै म अस्पतालको आकस्मिककक्षमा पुगेँ । एक गर्भवती महिला रोइरहेकी थिइन्, कराइरहेकी थिइन् । आकस्मिक मानसिक समस्या लिएर एक गर्भवती महिला डेढ घण्टाअघि राति करिब १० बजे अस्पताल ल्याइएकी रहिछन् । उनका श्रीमान् ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसित चर्को वादविवाद गर्दै थिए ।

अस्पताल आइपुगेको केही समयमै बिरामीका श्रीमान्ले ड्युटीमा रहनुभएका डाक्टर तथा नर्सलाई जथाभावी मुख छाड्नुभएको रहेछ । अपमानजनक व्यवहार बढ्दै गएपछि ड्युटीमा रहनुभएका डाक्टरले मलाई बोलाउनुभएको थियो ।
बिरामीको अवस्था बिग्रिँदै गएको थियो । बिरामीलाई अस्पतालबाट सम्भव भएजति सबै सेवा–सुविधा उपलब्ध गराउँदा पनि उपचार सम्भव नहुने देखेपछि रेफर गर्ने निधोमा पुग्यौँ ।

बिरामी रोगकै कारणले उफ्रिरहेको अवस्थामा हामीले औषधोपचार दिएर शान्त बनाउनुपर्ने थियो । तर, बिरामी गर्भवती भएका कारण जुनपायो त्यही औषधि दिन नमिल्ने थियो । तैपनि हामीले मिलाएर औषधि दिइरहेका थियौँ । केही हदसम्म बिरामीलाई शान्त बनाउने काम भयो ।
तर, बिरामीमा आकस्मिकखालको मानसिक समस्या रहेकाले थप उपचारका लागि साइक्याट्रिक चिकित्सककै आवश्यक देखिएकाले उनलाई रेफर गर्ने निर्णय गरियो ।

अस्पतालबाट रेफर भएको १ घण्टापछि पनि उहाँले बिरामीलाई लाने तरखर नगरेको देखेपछि मैले बिरामीको अवस्था गम्भीर भएकाले तुरुन्तै रेफर गरिएको स्वास्थ्यसंस्थामा लिएर जान श्रीमान्लाई भनेँ ।

ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको खण्डमा विनाधरौटी जेलचलान गर्ने नियम छ । तर, मैले आकस्मिक केसलाई मध्यनजर गर्दै तुरुन्तै अस्पताल लिएर जानू, पहिला बिरामीलाई ठिक हुन दिनुहोस् । बिरामी स्वस्थ भएपछि दोषीलाई प्रकाउ गर्नुहोस् भनेर प्रहरीलाई भनेको छु ।

‘बिरामीको अवस्था गम्भीर छ, किन ढिलो गरिराख्नुभएको छ ? के समस्या भयो ?’ भनेर बुझ्न मात्र के खोजेको थिएँ, उहाँले ‘तेरो अस्पतालमा राख्न नपाउने हो ? तँलाई सिन्धुलीमा बाहिर निस्कन मन छैन ? भनेर एक्कासि धम्कीपूर्ण भाषा बोल्नुभयो । मैले उहाँको नजिकै गएर तपाईंले यस्तो के भन्नुभएको ? बिरामीको अवस्था गम्भीर छ । यहाँ उपचार सम्भव छैन, अन्यत्रै अस्पतालमा लिएर जानुहोस्’ भन्दै थिएँ, उहाँले ममाथि हातपात नै सुरु गर्नुभयो । मलाई धक्का दिएर हातपात गर्दै तल्लोस्तरको गालीगलौज गर्नुभयो ।

अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएर स्वास्थ्यकर्मी तथा बिरामीले असुरक्षित महसुस गरेपछि मैले प्रहरी प्रशासनलाई फोन गरेँ । प्रहरी आइसकेपछि बिरामीको अवस्था गम्भीर रहेका कारण हातपात गर्ने व्यक्तिलाई श्रीमतीलाई अस्पताल लिएर जानू भनेर छोडिदियौँ ।

ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको खण्डमा विनाधरौटी जेलचलान गर्ने नियम छ । तर, मैले आकस्मिक केसलाई मध्यनजर गर्दै तुरुन्तै अस्पताल लिएर जानू, पहिला बिरामीलाई ठिक हुन दिनुहोस् । बिरामी स्वस्थ भएपछि दोषीलाई प्रकाउ गर्नुहोस् भनेर प्रहरीलाई भनेको छु । बुझ्दै जाँदा हातपात गर्ने सिन्धुली जिल्ला कमलामाई–१० का कृष्ण बस्नेत भएको खुलेको छ ।

यसअघि पनि अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपातका केही घटना घटिरहेका छन् । डाक्टर नै असुरक्षित भएपछि हामीले सुरक्षाको प्रत्याभूति नहोउन्जेल ओपिडीसेवा बन्द गर्ने भनेका थियौँ । तर पनि सर्वसाधारण बिरामीको समस्यालाई ध्यानमा राखेर सेवा दियौँ । ओपिडीमा आउनुभएका बिरामीलाई आकस्मिकमा हेरेर पठायौँ । आज पनि एकजना बिरामीले डाक्टरमाथि हातपात गर्न खोजेजस्तो व्यवहार गर्नुभयो ।

यहाँका स्थानीयवासीमा स्वास्थ्यप्रतिको जुन चासो र सचेतता छ, त्यसमा वृद्धि गर्न सकिन्छ कि भन्ने हाम्रो प्रयास हो । तर, बिरामीले नबुझेसम्म डाक्टरले जति नै राम्रो गरे पनि गल्ती नै गरेको ठान्छन् । त्यसकारण बिरामीले चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति गर्नुपर्ने व्यवहार सिक्नुपर्ने अवस्था छ जस्तो लाग्छ । प्रहरी प्रशासनले पनि सुरक्षामा कडाइ गर्नुपर्छ । अन्यथा यस्ता घटनाले प्रश्रय पाउँदै जाने हो भने चिकित्सकले स्वास्थ्य सेवाप्रवाह गर्न सक्ने अवस्था रहँदैन ।

(हेल्थपोस्टका पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय