विशेषज्ञ चिकित्सकको पुल दरबन्दी सिर्जनामा गम्भीर त्रुटि, केन्द्रमा समायोजन भएकालाई अनावश्यक सिफारिस तर स्थानीय र प्रदेशका भने छुटे (सूचीसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह तथा प्रदेशमा समायोजन भएका विशेषज्ञ चिकित्सकका लागि पुल दरबन्दी सिर्जना गर्न गरेको सिफरिसमा गम्भीर त्रुटि भेटिएको छ । स्थानीय तह तथा प्रदेशमा समायोजन गरिएका विशेषज्ञ चिकित्सकका लागि पुल दरबन्दी सिर्जना गर्ने भनिएकोमा सिफारिसपत्रमा केन्द्रमा समायोजन गरिएका केही चिकित्सकका हकमा समेत पुल दरबन्दी सिर्जना गर्न सिफारिस गरिएको छ भने स्थानीय तह र प्रदेशमा समायोजन गरिएका केही चिकित्सक भने छुटेका छन् ।

चिकित्सकहरूको निवेदन र उजुरीविनै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघमा समायोजन भइसकेका चिकित्सकका लागि अनाहकमा पुल दरबन्दीका लागि सिफासिर गरिएको हो । मन्त्रालयले संघमा समायोजन भइसकेका आठौँ तहका ७ विशेषज्ञ  चिकित्सकलाई पुल दरबन्दीमा राख्न सिफारिस गरेको छ । तर, पुल दरबन्दी आवश्यक रहेका स्थानीय तह तथा प्रदेशमा समायोजन भएका आठौँ तथा १०औँ तहका ९ जान विशेषज्ञ चिकित्सक भने सिफारिसमा छुटेका छन् । यसरी जसका लागि पुल दरबन्दीको नीति ल्याइएको हो, उनैलाई छुटाएर आवश्यक नभएकाहरूलाई सिफारिस गरिँदा समस्या सिर्जना भएको हो ।

सोमबार  सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले विज्ञप्ति निकाल्दै पुल दरबन्दीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गरेको सिफारिसपत्रमा त्रुटि औँल्याउँदै यथाशीघ्र सूची सच्याउन माग गरेको छ । गोदानले संघमा समायोजन गरिएका विशेषज्ञ चिकित्सकहरूको नाम सूचीबाट हटाएर स्थानीय तह र प्रदेशमा समायोजनमा परेका तर पुल दरबन्दीको सिफरिसमा छुटाइएका विशेषज्ञ चिकित्सकको नाम थप गरी सिफारिस सच्याउन सूचीसहित मन्त्रालयलाई आग्रह गरेको छ ।

यी चिकित्सकलाई अनाहकमा सिफरिस गरियो
मन्त्रालयले संघमा समायोजनमा परिसकेका डा. सुजितकुमार झा, डा. दोस्ती रेग्मी, डा. विनिता ढुंगेल, डा. रुद्र दाहाल, डा. पूजन बल्ला, डा. दीपिका सुवेदी, डा. अनुजा भण्डारी थापालाई पुल दरबन्दीमा राख्न सिफारिस गरेको छ । सिफारिस गरिएका सबै आठौँ तहका विशेषज्ञ चिकित्सक हुन् ।

यी चिकित्सकलाई सिफारिस गर्नुपर्नेमा छुटाइयो
सरकारले स्थानीय तह तथा प्रदेशमा समायोजन भएका आठौँ तहका विशेषज्ञ चिकित्सकहरू डा. सन्ध्या पौडेल, डा. रत्नवीर सुनुवार, डा. टेकेन्द्र चौलागाईं, डा. सरोजकुमार यादव, डा. शम्भु खनाल, डा. सुरेश अधिकारी र डा. रञ्जन थपलियालाई भने पुल दरबन्दी सिफारिसमा छुटाएको छ । त्यसैगरी, १०औँ तहका विशेषज्ञ चिकित्सकहरू डा. रामनारायण चौधरी तथा डा. प्रकाश राना पनि सिफारिसमा छुटाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय