भिआइपी सुरक्षामा खटिने ५०% प्रहरीमा मोटोपन, तौल सन्तुलनमा नल्याए जिम्मेवारीबाट हटाइने

साधारण जनतादेखि भिभिआइपीसम्मको सुरक्षामा अहोरात्र खटिने प्रहरी स्वास्थ्यका दृष्टिकोणले आफैँ भने कति सुरक्षित छन् त ? यस विषयमा प्रश्न उठ्न थालेपछि प्रहरी प्रधानकार्यालयले सुरक्षा महाशाखाअन्तर्गत भिआइपीको सुरक्षामा खटिने प्रहरीको बडी–मास इन्डेक्स (बिएमआई) जाँच सुरु गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष निर्देशनमा प्रहरी अस्पताल, महाराजगन्जको पोषण शाखाले एक महिनादेखि यो जाँच गर्दै आएको हो ।

भिआइपी सुरक्षामा खटिने प्रहरीमध्ये ५० प्रतिशतमा मोटोपन
करिब एक महिनामा अस्पतालले हालसम्म चार सयभन्दा बढी प्रहरीको स्वास्थ्यपरीक्षण गरिसकेको छ । औसतमा दैनिक १५ जनाको स्वास्थ्यपरीक्षण हुँदै आएको छ । यसरी जाँच गरिएकामध्ये करिब ५० प्रतिशतमा मोटोपनको समस्या पाइएको छ ।

सामान्यतया बिएमआईको स्तर १८ देखि २५ भएमा त्यसलाई सामान्य मानिन्छ । त्यस्तै, बिएमआईको स्तर २५ देखि ३० भएमा त्यसलाई मोटोपन तथा ३० भन्दा बढी भएमा त्यसलाई ओबेसिटी भनिन्छ । अव्यवस्थित खानपान तथा खानपानमा पोषणको कमीका कारण पनि प्रहरीमा मोटोपनको समस्या बढ्दै गएको प्रहरी अस्पतालले जनाएको छ ।

मोटोपनको समस्या भएमा मुटुरोग, मधुमेह, मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचापलगायतको सम्भावना उच्च हुन्छ । रोगका कारण अस्पताल भर्ना हुने प्रहरीमा ज्यादातर डिप्रेसन, मधुमेह, मिर्गौला फेल तथा क्यान्सर देखिँदै आएका छन् । विशेषगरी, ४० वर्ष उमेर पुगेका प्रहरीमा उच्च रक्तचाप तथा मधुमेह मुख्य समस्याका रुपमा देखापर्दै आएको प्रहरी अस्पतालले जनाएको छ ।

प्रहरी अस्पतालका पोषण शाखाप्रमुख भूपाल बानियाँले भने, ‘हामीले चेकजाँच गरेका मध्ये अधिकांश प्रहरीमा मोटोपनको समस्या देखिएको छ । उनीहरूमा बिएमआईको स्तर १८ देखि २५ हुनुपर्नेमा २५ देखि ३० को हाराहारीमा रहेको पाइएको छ ।’

सुरक्षा महाशाखा प्रमुख डिआइजी तारिणी लम्सालले सुरक्षामा खटिने प्रहरी आफैँमा तन्दुरुस्त हुनुपर्ने सोचका आधारमा प्रहरीको जाँच एवम् परामर्श सुरु गरिएको बताए । सुरुको चरणमा भिआइपी, भिभिआइपीको सुरक्षामा खटिने प्रहरीबाट यस्तो जाँच सुरु गरिएको र पछि अरूमा पनि जाँच गरिने योजना रहेको उनले जानकारी दिए ।

अभियानले प्रहरीमाझ हलचल, तौल सन्तुलनमा नल्याए जिम्मेवारीबाटै हटाइने
प्रहरीकै स्वास्थ्य राम्रो नभए उसले दिने सेवाको गुणस्तरमा पनि ह्रास आउने भएकाले प्रहरीको स्वास्थ्यमा व्यापक सुधार गर्ने अभियानअन्तर्गत प्रहरी प्रधानकार्यालयले यो अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत प्रहरीले आफ्नो स्वास्थ्यमा सुधार नगरे मोटो शरीर भएका प्रहरीलाई महत्वपूर्ण जिम्मेवारीबाट हटाउनेसमेत प्रहरी प्रधानकार्यालयको नीति छ ।
अभियानले तीव्रता पाएसँगै प्रहरीमाझ यस विषयलाई लिएर व्यापक चर्चा चलेको छ । कतिपय प्रहरीले भने आफ्नो खानपानलाई लिएर विशेष सचेतता अपनाउन थालेका छन् ।

सबै प्रहरीमा जाँच विस्तार तथा बढुवाका लागि बिएमआई सन्तुलन अनिवार्य गर्ने योजना
अभियानको पहिलो चरणमा सुरक्षा महाशाखाअन्तर्गतका प्रहरीको बिएमआई जाँच सुरु गरेको कार्यालयले यो जाँचलाई क्रमशः विस्तार गर्दै लैजाने बताएको छ । यो अभियान सफल भएमा आगामी दिनमा बढुवा पाउन प्रहरीले अनिवार्य रुपमा बिएमआई जाँच गर्नुपर्ने प्रावधानको समेत व्यवस्था गर्ने योजना प्रहरी प्रधानकार्यालयको छ । यसका लागि कार्यालयले भविष्यमा बडी कम्पोजिसन टेस्टको जाँच लिनेसमेत योजना बनाएको छ ।

तौल सन्तुलनका लागि २ महिने ‘डाइट चार्ट’ र परामर्श
सुरक्षा महाशाखा प्रमुख डिआइजी तारिणी लम्सालले सुरक्षामा खटिने प्रहरी आफैँमा तन्दुरुस्त हुनुपर्ने सोचका आधारमा प्रहरीको जाँच एवम् परामर्श सुरु गरिएको बताए । सुरुको चरणमा भिआइपी, भिभिआइपीको सुरक्षामा खटिने प्रहरीबाट यस्तो जाँच सुरु गरिएको र पछि अरूमा पनि जाँच गरिने योजना रहेको उनले जानकारी दिए ।

लम्सालका अनुसार अहिले बढी तौल भएका र कम तौल भएका दुवैलाई निश्चित समय दिएर तौल सन्तुलनमा ल्याउन २ महिनाको ‘डाइट चार्ट’ बनाएर परामर्श दिइराखिएको छ । ‘दिइएको समयभित्र तौल मेन्टेन गर्न नसक्नेलाई भिआइपी सुरक्षबाट अन्यत्र सारिन्छ,’ उनले भने । उनका अनुसार अहिले समूह बनाएर जाँच चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय