बाँकेमा सिकलसेलबारे अभिमुखीकरण, जनचेतना विस्तारमा जोड

 

 

पश्चिम तराईको थारू समुदायमा व्याप्त सिकलसेल एनिमियाको नियन्त्रणका लागि रोगबारे व्यापक जनचेतनाको आवश्यकता औँल्याइएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा सम्पन्न सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले सिकलसेलबारे व्यापक जनचेतना अभिवृद्धि गर्न जोड दिएका हुन् ।

अभिमुखीकरण कार्यक्रमको प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले उद्घाटन गरिन् । उनले सिकलसेल एनिमिया रोग न्यूनीकरणका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिइन् । ‘विशेषगरी थारू समुदायमा यो रोगले दुःख दिइरहेको छ,’ उनले भनिन्, ‘रोगको पहिचान तथा सहज उपचारका लागि सरकारले योजना बनाइरहेको छ ।’

सिकलसेलबारे जानकारी दिने र उन्मूलनका उपायबारे छलफल गर्ने उद्देश्यले अभिमुखीकरणको आयोजना गरिएको हो । शैक्षिक रूपमा पछि रहेको थारू समुदायमा व्यापक जनचेतनाका कार्यक्रम समुदायस्तरमा लागू गर्नुपर्ने निष्कर्ष अभिमुखीकरण कार्यक्रमको छ ।

सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बाँके जिल्लामा सिकलसेल एनिमियाबाट पीडितको संख्या उल्लेख्य रहेको बताए । ‘बाँकेसहितका जिल्लामा ३ सय ६ जना बिरामी स्वास्थ्यसम्म आइपुगेका छन्,’ उनले भने, ‘जनचेनता अभावका कारण अधिकांश बिरामी अस्पताल नै पुग्दैनन् ।’ थारू समुदायमा अहिले पनि धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्ति व्याप्त भएकाले सिकलसेलका लक्षण देखापरेका बिरामी अस्पतालसम्म नआउने गरेको उनले बताए ।

अभिमुखीकरणकी प्रमुख प्रशिक्षक बालरोग विषेशज्ञ डा. रोमा बोराले सिकलसेल थारू समुदायमा आधारित वंशानुगत रोग भएको बताइन् । पछिल्लो समय सिकलसेल एनिमियाका बिरामी बढ्दै गएको पाइएकाले जनचेतना फैलाउनु आवश्यक रहेको उनको भनाइ थियो । थारू समुदायमा परम्परागत सोचाइका कारण बिरामी समयमा स्वास्थ्यसंस्थासम्म नपुग्नु प्रमुख समस्याका रूपमा रहेको उनले बताइन् ।

डा. बोराका अनुसार केही समययता बिरामी स्वास्थ्यसंस्थासम्म पुग्नेक्रम बढेको भए पनि पनि सबै सिकलसेल एनिमियाका पीडित स्वास्थ्यसंस्थासम्म नपुग्ने गरेको पाइएको छ ।
सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बाँके जिल्लामा सिकलसेल एनिमियाबाट पीडितको संख्या उल्लेख्य रहेको बताए । ‘बाँकेसहितका जिल्लामा ३ सय ६ जना बिरामी स्वास्थ्यसम्म आइपुगेका छन्,’ उनले भने, ‘जनचेनता अभावका कारण अधिकांश बिरामी अस्पताल नै पुग्दैनन् ।’ थारू समुदायमा अहिले पनि धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्ति व्याप्त भएकाले सिकलसेलका लक्षण देखापरेका बिरामी अस्पतालसम्म नआउने गरेको उनले बताए । अध्यक्ष चौधरीले सोसाइटीले धामीझाँक्री तथा समाजका बुद्धिजीवी र जनप्रतिनिधिलाई यसबारे अभिमुखीकरण गराउँदै आएको जानकारी दिए ।

यस्तै, थारू बाहुल्यका बस्तीहरूमा पनि विभिन्न माध्यमबाट जनचेतना फैलाउने कार्यक्रम भइरहेको चौधरीको भनाइ छ । सिकलसेल एनिमिया वंशानुगत रोग भएको हुनाले सिकलसेलबाट पीडितसँगको विवाहलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड छ । विवाह गर्दा नै सिकलसेल भए–नभएको विषयमा सजग रहन उनले सबैलाई आग्रह गरे । बैजनाथ गाउँपालिकामा अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पश्चिम तराईको थारू समुदायमा व्याप्त सिकलसेल एनिमिया रोगको नियन्त्रणका लागि जनचेतनामूलकलगायत विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट छुट्याएको छ । १५ जेठमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७६÷७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिकलसेल एनिमिया रोगविरुद्ध विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय