ग्रीष्मकालीन वर्षामा छालारोगको उच्च जोखिम, कसरी सुरक्षित राख्ने ?

वर्षाको मौसम सुरु भइसकेको छ । वर्षाकै कारण बढ्दो तापमानबाट हामीले केही हदसम्म राहत पनि महसुस गर्न थालेका छौँ । यद्यपि, हरेक मौसमका गुण र अवगुण अवश्य हुन्छन् ।

गर्मी मौसममा हुने वर्षाले हामीलाई गर्मीबाट जति राहत महसुस गराउँछ, त्यति नै संक्रमणको जोखिम पनि निम्त्याउँछ । विशेषगरी, वर्षाको समयमा हावा सुष्क हुने र हावामा रोगका कीटाणु तैरिएर बस्ने हुँदा विभिन्नकिसिमको संक्रमण हुने सम्भावना उच्च हुन्छ । त्यसैले, यो मौसममा हामीले समग्र स्वास्थ्यसँगै छालाको पनि विशेष ख्याल राख्नु जरुरी हुन्छ ।

विशेषगरी, यो मौसममा गर्मी अत्यधिक हुने र पसिना आउने भएकाले घामका हानिकारण विकिरणका कारण छालासम्बन्धी विभिन्न समस्या निम्तिने गर्छन् । त्यस्तै, वर्षाका कारण वातावरण चिसो भएर छालाका छिद्रहरू खुल्ने हुँदा छाला वा अनुहार चिपचिप हुने, छालामा अत्यधिक मात्रामा तेल जम्मा हुने, छाला कालो हुने तथा छालाबाट फोहर निस्कने गर्दछ ।

त्यति मात्र होइन, यो समयमा आएको पसिनाका कारण छालाको रोमछिद्र (स्किन पोर्स) चुस्त गतिमा खुल्दछ, जसले वातावरणमा भएको धुलो, धुवाँ, प्रदूषण मिसिएको वर्षाको पानी सीधै छालाभित्र छिरेर चाया, पोतोलगायत समस्या निम्तिने गर्दछ ।
यस्ता समस्याबाट बच्न वर्षाको मौसममा छालालाई विशेष सुरक्षा प्रदान गर्नु जरुरी छ ।

वर्षामा यसरी गरौँ छालाको सुरक्षा

सामान्य दिनहरूमा हामी दिनमा ३–४ पटक पानीले मुख धुन्छौँ भने वर्षाको समयमा ५–६ पटकसम्म मुख धोएर छालाको सुरक्षा गर्न सकिन्छ ।
त्यस्तै, बाहिर निस्कँदा छाताको प्रयोग गरेर तथा राम्रो सनक्रिमको प्रयोग गरेर पनि छालालाई सुरक्षित राख्न सकिन्छ । त्यस्तै, टोनर तथा मोइस्चराइजर क्रिमको प्रयोग गरेर पनि छालालाई सुरक्षित राख्न सकिन्छ ।

स्मरण रहोस्, गर्मीमा सूर्यका हानिकारक विकिरणले छालालाई अत्यधिक हानि गर्ने भएकाले सनक्रिमको प्रयोग गर्दा विशेषकिसिमको सजगता अपनाउनुपर्छ । जस्तो कि, यो मौसममा सनक्रिमको प्रयोग गर्दा एसपिएफ (सन प्रोटेक्टिभ फ्याक्टर)युक्त सनक्रिमकै प्रयोग गर्नुपर्छ । यस्ता सनक्रिमको प्रयोग दिनमा एकपटक मात्र गरेर पुग्दैन । आवश्यकताअनुसार दिनमा दुईदेखि तीनपटकसम्म लगाउनुपर्छ ।

बजारमा पाइने भिन्नाभिन्नै प्रकारका सनक्रिमको बाहिरी खोलमा दिइएको विस्तृत विवरण पढेर तथा प्रयोग गर्ने तरिकाबारे बुझेर मात्र प्रयोग गर्नुपर्छ । सामान्यतया, बजारमा पाइने प्रत्येक सनक्रिमका आ–आफ्नै एसपिएफ नम्बर हुन्छन्, जसले १०–१० मिनेटका दरले काम गर्छन् । उदाहरणका लागि ५० नम्बरको क्रिम छ भने त्यो संख्यालाई १० ले गुणन गर्दा आउने संख्या ५०० मिनेट अर्थात् झन्डै ‘आठ घण्टा’ त्यसले काम गर्छ । त्यस्तै, १५ एसपिएफको सनक्रिम छ भने त्यसले १ सय ५० मिनेट अर्थात् ‘साढे दुई घण्टा’ काम गर्छ ।

यसरी कुनै पनि एसपिएफको सनक्रिमको प्रयोग गर्दा त्यसमा अन्य मेकअप थप गर्न सकिन्छ, जसलाई बोलीचालीको भाषामा लेयर मेकअप भनिन्छ । लेयर मेकअपमा सनक्रिम, सनकेयर क्रिम, फाउन्डेसन, कम्प्याक्ट पाउडर र लुज पाउडर इत्यादि पर्दछन् । यिनीहरूलाई क्रमबद्ध तरिकाले लगाएको खण्डमा अनुहारलाई सुरक्षित राख्न सकिन्छ । यद्यपि, यस्ता मेकअपलाई धेरै समयका लागि भने राख्नुहुँदैन ।

तर, धेरैबेर नराख्नुहोस्

छालालाई घामबाट जोगाउन प्रयोग गरिने यस्ता मेकअपलाई अनुहारमा धेरै समयका लागि नराख्न विशेषज्ञको सुझाब छ । किनकि, लामो समयसम्म यस्ता मेकअप लगाएर राख्दा अनुहारमा चिल्लोपन पैदा भई छालाका छिद्र खुल्ने हुन्छन् । त्यसमा दूषित पानी छिरेमा केमिकल रियाक्सनको समस्यासमेत पैदा हुन सक्छ । यसबाट बच्नका लागि प्रत्येकपटक बाहिर निस्कनुअघि दिनमा दुईदेखि तीनपटक सफा पानीले राम्ररी मुख धोएर सनक्रिमको प्रयोग गर्न सकिन्छ । त्यसमाथि सोहीअनुसार लेयर मेकअप गरेर अनुहारलाई आकर्षित बनाउनुका साथै अनुहारलाई सुरक्षा प्रदान गर्न सकिन्छ ।

एसपिएफयुक्त सनक्रिमको प्रयोग गर्दा यी कुरामा अवश्य ध्यान दिनुहोस् :
– लामो समयावधिका लागि बाहिर जाँदा धेरै एसपिएफ भएको सनक्रिमको प्रयोग गर्नुपर्छ । उदाहरणका लागि ५० एसपिएफ ।
– छोटो अवधि (२–३ घण्टाका लागि) बाहिर जाँदा कम एसपिएफ भएको क्रिमको प्रयोग गर्ने ।
– छालाका लागि एसपिएफ ३० युक्त सनक्रिमको प्रयोग उपयुक्त मानिन्छ ।
– एसपिएफ ३० र एसपिएफ ५० भएको सनक्रिमबीच एक प्रतिशत मात्र भिन्नता हुन्छ ।
– कुनै पनि सनक्रिमले हानिकारक विकिरणलाई पूर्णतः रोक्न सक्दैन । यद्यपि, एसपिएफ १५ ले ९३ प्रतिशत, ३० ले ९७ प्रतिशत र ५० ले ९८ प्रतिशतसम्म मात्र हानिकारक विकिरणलाई रोक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय