जापानको हालसालैको अनुसन्धान भन्छ : गोलभेँडाको जुसले हृदयाघातको जोखिम घटाउँछ

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ २४ गते १०:३७

गोलभेँडा नेपालमा मात्र नभई दुनियाँका धेरैजसो देशमा खाइने तरकारी हो । नेपालमा आम रूपमा तरकारीलाई ग्रेबी बनाउन परिकारमा तिखो स्वाद ल्याउन गोलभेँडाको प्रयोग गरिन्छ । टोम्याटो सस त तपाईंले पनि खुब खानुभएको होला, तर के तपाईंले टोम्याटो जुस पिउनुभएको छ ? रसिला गोलभेँडाको जुस शरीरका लागि ज्यादै लाभदायक हुन्छ । पछिल्लो समय गरिएको एक अध्ययनले गोलभेँडाको जुस पिउनाले हृदयाघातको जोखिम कम हुने बताएको छ । यो अनुसन्धान ‘जर्नल अफ फुड साइन्स एन्ड न्युट्रिसन’मा छापिएको छ ।

विनानुन पिउनुहोस् गोलभेँडाको जुस
अनुसन्धानमा बताइएको छ, यदि तपाईं दैनिक १ कप विनानुन गोलभेँडाको जुस पिउनुहुन्छ भने तपाईंलाई हृदयाघात हुने खतरा कम हुन्छ । वास्तवमा गोलभेँडाको जुसले उच्च रक्तचाप र उच्च कोलेस्टेरोलको समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ । यी दुवै समस्याले व्यक्तिको मुटुलाई प्रभावित गर्छन् र हृदयाघातका प्रमुख कारण बन्छन् ।

कसरी गरिएको थियो अनुसन्धान ?
जापानस्थित टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटीमा भएको यो अनुसन्धानमा करिब ५०० मानिसलाई सहभागी गराइएको थियो, जसमा १८४ जना पुरुष र २९७ जना महिला थिए । अनुसन्धानका क्रममा दैनिक गोलभेँडाको जुस पिएका कारणले उच्च रक्तचापले पीडित ९४ जनाको रक्तचापमा कमी आएको थियो । यिनीहरूको सिस्टोलिक ब्लडप्रेसर १४१.२ बाट १३७ एमएमएचजी र डाइस्टोलिक ब्लडप्रेसर ८३.३ बाट ८०.९ मा झरेको थियो । यसका अलावा १२५ जनामा बढेको ब्याड कोलेस्टेरोल (एलडिएल)को स्तर १५५ बाट घटेर १४९.९ एमजी÷डिएलमा झरेको थियो ।

पछिल्लो अनुसन्धानका अनुसार दैनिक एक कप गोलभेँडाको जुस पिउनाले तपाईं हृदयाघातको जोखिमबाट बच्न सक्नुहुन्छ । यसका अलावा गोलभेँडाको जुसको सेवनले उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या पनि हराएर जान्छन् ।

महिला र पुरुष दुवैका लागि लाभदायक
अनुसन्धानमा गोलभेँडाको जुस महिला र पुरुष दुवैका लागि फाइदाजनक रहेको पाइएको थियो । त्यसैले जोसुकैले यसको सेवन गर्न सक्ने अनुसन्धाताहरूले बताएका छन् । यदि तपाईं जुन पिउनुहुन्न भने पनि दैनिक भोजनमा गोलभेँडालाई अवश्य सामेल गर्नुहोस् । सलादमा काँचो गोलभेँडा खानुहोस् । यसका अलावा तरकारीलाई ग्रेबी बनाउन गोलभेँडाको प्रयोग गर्नुहोस् । तर, ध्यान दिनुपर्ने कुरा के छ भने टोम्याटो सस र टोम्याटो केचअपमा धेरै मात्रामा चिनी तथा केमिकल मिलाइएका हुन्छन्, त्यसैले यिनको सेवन तपाईंको स्वास्थ्यका लागि लाभकारी छैन ।

केही अन्य रोगमा पनि लाभदायक छ गोलभेँडाको जुस
उल्लेखित आवस्थाका अलावा अन्य कतिपय रोगमा पनि गोलभेँडाको जुस लाभकारी पाइएको छ । गोलभेँडामा भरपूर मात्रामा फाइबर हुन्छ । यसका अतिरिक्त गोलभेँडामा एउटा खास तत्व हुन्छ, जसलाई ‘नियासिन’ भनिन्छ । नियासिनयुक्त आहार मुटुका लागि ज्यादै स्वस्थकर मानिन्छ, किनकि, यसले कोलेस्टेरोल घटाउँछ । यसका अलावा गोलभेँडामा पर्याप्त एन्टिअक्सिडेन्ट हुन्छ, जसमा बिटाक्यारोटिन, लाइकोपिन र साइटोन्युट्रियन्ट प्रमुख हुन् । यी एन्टिअक्सिडेन्टले क्यान्सर तथा हृदयाघातबाट बचाउन मद्दत गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय