सिद्धार्थनगरमा ज्येष्ठनागरिकलाई घरघरमै स्वास्थ्यसेवा

कृष्ण मल्ल
प्रकाशित
२०७६ जेठ २३ गते १४:५१

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ज्येष्ठनागरिकलाई घर–घरमा पुगेर स्वास्थ्यसेवा दिन सुरु गरेको छ । विशेषज्ञ चिकित्सकको टोलीसहित नगरपालिकाले घर–घरमा पुगेर ज्येष्ठनागरिकलाई स्वास्थ्यसेवा दिन सुरु गरेको हो । कार्यक्रम एक सातासम्म चल्नेछ ।

नगरभित्र बसोवास गर्ने ८५ वर्ष पुगेका ज्येष्ठनागरिकको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यसेवा पुर्याइएको नगरपालिकाको भनाइ छ । नगरभित्र १ सय ८७ जना ८५ वर्ष पुगेका ज्येष्ठनागरिक छन् ।

जनप्रतिनिधि आएसँगै ज्येष्ठनागरिकलाई सम्मान गर्ने र कुनै कारणले अस्पतालसम्म जान नसक्ने भए उनीहरुलाई घरमै सहज सेवा दिने उद्देश्यले सेवा सुरु गरिएको नगरकी उपप्रमुख उमा काफ्लेले बताइन् । नगरपालिकाले थालेको ज्येष्ठनागरिक उपचारसेवामा भैरहवाको युनिभर्सल मेडिकल कलेजले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

नगरपालिकाका अनुसार ज्येष्ठनागरिकको घरमै पुगेर सुगर, ब्लड प्रेसर, सामान्य चेकजाँचलगायत परीक्षण गरिएको हो । समस्या देखिएका ज्येष्ठनागरिकलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

कार्यक्रमको पहिलो दिन नगरका वडा नं. २, १० र ११ का ज्येष्ठनागरिकलाई घरमै पुगेर सेवा दिइएको छ । चेकजाँचका क्रममा अधिकांश ज्येष्ठनागरिकमा सामान्य समस्या देखिएको चिकित्सकले बताएका छन् । केहीमा ग्यास्ट्रिक तथा मोतियाविन्दुको समस्या देखिएको युनिभर्सल मेडिकल कलेजका चिकित्सक डा. सुमनराज सापकोटाले बताए ।

नगरपालिकाका अनुसार ज्येष्ठनागरिकको घरमै पुगेर सुगर, ब्लड प्रेसर, सामान्य चेकजाँचलगायत परीक्षण गरिएको हो । समस्या देखिएका ज्येष्ठनागरिकलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ । उनीहरुको उपचार र पोषणयुक्त खानका लागि नगद ३ हजार ५ सयसमेत सहयोग गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए । जेकजाँचका क्रममा थप उपचार गर्नुपर्ने भए ज्येष्ठनागरिकलाई भैरहवा मेडिकल कलेजमा २० प्रतिशत छुटमा उपचार गरिने व्यवस्था मिलाइएको अधिकारीले जनाए ।

ज्येष्ठनागरिकलाई स्वास्थ्यसेवा दिन चिकित्सक तथा प्राविधिक टोलीसहित नगरप्रमुख, उपप्रमुख, वरिष्ठ लेखाअधिकृत गणेशबहादुर क्षेत्री, वडा २ का अध्यक्ष दीपककुमार थापा, वडा १० का विजयनाथ धवल, वडा ११ का अध्यक्ष दिलीपकुमार यादव, सामाजिक विकास अधिकृत यादवप्रसाद सापकोटालगायत ज्येष्ठनागरिकका घर–घरमा पुगेका छन् । स्वास्थ्यसेवाका लागि युनिभर्सल मेडिकल कलेजबाट २ सदस्यीय चिकित्सक टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय