छैटौँ वर्षमा नेसनल बाथरोग सेन्टर, बाथरोगीको तथ्यांकै नभएको मन्त्रीको भनाइ

हेल्थपोस्ट नेपाल

नेसनल बाथरोग सेन्टरले स्थापनाको छैटौँ वर्षगाँठ मनाएको छ । ‘स्वास्थ्य तपाईंको, सेवा हाम्रो’ मूल नारा बोकेर वि.सं. ०७० मा स्थापना भएको बाथरोग सेन्टरले आफ्ना क्लिनिकल शाखाहरू विस्तार गरी बिरामीलाई सेवा–प्रदान गर्दै आएको छ ।
बुधबार वार्षिकोत्सव कार्यक्रममा बाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले नेपालमा बाथरोगमा केन्द्रित भएर उपचार गर्ने केन्द्रको अभावको महसुस भएपछि आफूहरूले सेन्टर स्थापना गरेको बताए । ‘सुरुवाती दिनमा धेरै चुनौती आएका थिए । दक्ष जनशक्तिको अभाव, प्रविधि र प्राविधिक ज्ञानको कमी र समाजमा बाथरोगबारे चेतना अभाव थियो,’ डा. वैद्यले भने, ‘विभिन्न चुनौतीको सामना गर्दै आज बाथरोग सेन्टर छैटौँ वर्षमा प्रवेश गरेको छ ।’

बाथरोगीको तथ्यांक नै छैन : मन्त्री पोखरेल
वार्षिकोत्सव कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा ६२ प्रतिशत नसर्ने रोगबाट मानिस ग्रस्त भएको बताए । ‘यी रोगलाई समयमै नरोक्ने हो, भने सन् २०३० सम्म दिगो विकासको लक्ष्यलाई जोडेर हर्दा भयावह अवस्था आउनेछ,’ मन्त्री पोखरेलले भने, ‘जीवनपद्धति बदलिएका छन्, जसले गर्दा समस्या पनि थपिँदै गएका छन् ।’

नेपालमा बाथरोगसम्बन्धी सर्भे नभएकाले बाथरोगीको यकिन तथ्य बाहिर ल्याउन नसकिएको मन्त्री पोखरेलको भनाइ थियो । ‘बाथरोगले ग्रस्त बिरामी कति छन्, सर्भे गरेर उनीहरूलाई उपचारको दायरामा ल्याउनुपर्छ,’ मन्त्री पाखरेलले भने ।

दक्ष जनशक्ति उत्पादनका लागि विगत ६ वर्षमा तालिम, प्रविधि तथा प्राविधिक क्षमतालाई अभिवृद्धि गर्ने काम भएको तथा कुल बिरामीमध्ये २.५ प्रतिशत बाथरोगबाट ग्रस्त बिरामीको सफल उपचार भएको सेन्टरका प्रबन्धनिर्देशक रोशन कक्षपतिले बताए ।

बाथरोग सेन्टरले नेपालमा पहिलोपटक adlimumab नामक बायोलोजिकल एजेन्ट ल्याएकाले हजारौँ बिरामीले अन्य मुलुक गएर उपचार गर्नुपर्ने बाध्यता न्यूनीकरण भएको सेन्टरको दाबी छ ।
सेन्टरले टेखापुखु, जावलाखेल, पोखरा, झापामा आफ्ना क्लिनिकल शाखाहरू विस्तार गरेको जानकारी दिएको छ । सेन्टरको ‘समयमै परीक्षण गरौँ, जोर्नीहरू बचाऔँ’ भन्ने अवधारणा छ । सेन्टरले हालसम्म भक्तपुरमा २ हजार १ सय ६१, जावलाखेलमा ६ हजार ४ सय २, रातोपुलमा २६ हजार १ सय ५४, पोखरामा ४ हजार २ सय ४५, झापाको बिर्तामोडमा ६ स १२ र निःशुल्क स्वास्थ्यशिविरमा ४३ हजार २ सयजना गरी कुल ८२ हजार ७ सय ७४ जना बाथरोगीलाई उपचार सेवा पुर्याइसकेको सेन्टरले जनाएको छ ।

वार्षिकोत्सवको अवसर पारेर सेन्टरले नेपालमा ज्येष्ठ प्राध्यापक सामाज एवम् बद्रीतीर्थ आर्थराइटिस समाजको संयुक्त अभ्यासमा प्रा. डा. वीरेन्द्र प्रसाद मिश्रलाई तीर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरेको छ । सेन्टरले वेब बेस्ड क्लिनिक सञ्चालनमा ल्याउने, वेब बेस्ड तालिम गराउने, कम्यिुनिटी बेस्ड रिसर्च र टेलिमेडिसिनलाई निरन्तरता दिने, गरिब तथा जनजातिलाई निःशुल्क उपचार गराउने, केन्द्रीयस्तरको अस्पतालको निर्माण गर्नेलगायत योजना अघि सारेको छ ।

करिब ३० लाख बाथरोगी, तर १ लाखको मात्र उपचारमा पहुँच, ‘८०% उपचार स्वदेशमै सम्भव’

मुलुकमा झन्डै २९ लाख बाथरोगी उपचारको पहुँचबाहिर रहेको पाइएको छ । नेपालमा ३० लाखको हाराहारीमा बाथरोगका बिरामी भएको तर तीमध्ये करिब १ लाखको हाराहारीमा मात्र उपचारमा पहुँचमा भएको डा. वैद्यले बताए । ‘बाथरोगको उपचारमा नयाँ प्रविधि भित्रिएका तथा आवश्यक औषधि उत्पादन भएकाले ८० प्रतिशत बाथरोगको उपचार नेपालमै सम्भव छ,’ डा. वैद्यले भने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *