गतिहीन स्वास्थ्यव्यवसायी परिषद्, १३ वर्षदेखि हुन सकेन निर्वाचन, मनोनयनमा समेत खिचातानीले बहुमत पद रिक्त

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ २३ गते ९:०८

सरकारमातहतको नेपाल स्वास्थ्यव्यवसायी परिषद् सदस्य तथा पदाधिकारीको निर्वाचन तथा नियुक्तिमा दाउपेच नमिल्दा गतिहीन अवस्थामा पुगेको छ । स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरूको क्षमता गुणस्तर नियमन र सुधारको जिम्मेवारी पाएको परिषद्ले प्रभावकारी रूपमा काम गर्न नसक्दा समग्र स्वास्थ्यक्षेत्रले नै मूल्य चुकाइरहेको छ ।

१३ सदस्यीय परिषद्मा हाल अध्यक्षसहित ६ सदस्य मात्र वहाल छन् । त्यसमा पनि प्रमुख आर्थिक तथा प्रशासकीय जिम्मेवारीको पद रजिस्ट्रार (कुलसचिव)को नियुक्ति राजनीतिक चलखेलका कारण लामो समयदेखि हुन नसक्दा कामचलाउ रजिस्ट्ररका रूपमा जिम्मेवारी तोकिएको अवस्था छ । निर्वाचिततर्फका ४ सदस्यका लागि १३ वर्षदेखि निर्वाचन हुन सकेको छैन भने मनोनीततर्फ पनि दाउपेच नमिल्दा ३ सदस्य पद लामो समयदेखि खाली छ । ७ सदस्य पद पूर्ण रूपमा रिक्त रहँदा र रजिस्ट्रार पनि कामचलाउ मात्र हुँदा परिषद्ले आफ्ना महत्वपूर्ण काम तथा जिम्मेवारी वहन गर्न सकिरहेको छैन । यद्यपि, देशमा दुईतिहाइ जनमतको तागतसहित एकल पार्टीलाई पूर्णबहुमतप्राप्त सरकार दोस्रो वर्षमा चलिरहेको छ ।

परिषद्मा विशिष्ट, क, ख, ग गरी ४ तहमा व्यवसायी दर्ता हुने गरेका छन् । ‘ग’ श्रेणीका टी एसएलसीबाट अध्ययन गरेका जनशक्ति हुन्, जुन सर्टिफिकेटभन्दा तल्लो तह हो,’ भण्डारी भन्छन्, ‘जसको संख्या परिषद्मा दुईतिहाइभन्दा बढी छ ।

लामो समयदेखि पदाधिकारीसहित सदस्य पदहरू रिक्त हुँदा परिषद्ले नीतिगत निर्णयमा समेत कठिनाइ भोगिरहेको छ । परिषद्को यो अपांगताको प्रत्यक्ष असर भने स्वास्थ्यका आमउपभोक्ता तथा सेवाग्राहीले झेलिरहेका छन् भने माफियाले त्यसको भरपूर लाभ उठाइरहेकै छन् । परिषद्मा अध्यक्ष र रजिस्ट्रार गरी २ पदाधिकारीसहित ११ सदस्य रहने व्यवस्था छ ।

हाल स्वास्थ्य मन्त्रालयले कामचलाउ रजिस्ट्रार नियुक्त गरेको छ भने ७ सदस्य पद अझै पनि पूर्ति हुन सकेका छैनन् । प्रत्येक ४ वर्षमा निर्वाचन भई पूर्ति हुनुपर्ने ४ सदस्य पदका लागि १३ वर्षदेखि निर्वाचन हुन सकेको छैन । पारामेडिकल एसोसिएसनको सिफारिसमा सरकारले मनोनयन गर्नुपर्ने तीन सदस्यको पनि राजनीतिक दाउपेचका कारण नियुक्ति हुन सकेको छैन ।

परिषद्बाट हालसम्म १ लाख १५ हजारले लाइसेन्स लिएका छन् । परिषद्मा बहुमत सदस्यसंख्या नै रिक्त रहँदा एकातिर नीतिगतदेखि नियमनका काममा गतिरोधको सिर्जना भएको छ भने अर्कोतर्फ आफैँ अल्पमतमा रहेको संस्थाले गर्ने अनुगमनलगायतका कामको वैधतामाथिसमेत प्रश्न उठ्ने गरेका छन् । कानुनी रूपमा तत्काल कायम रहेको सदस्य संख्याको महुमतले मान्यता पाउने भए पनि आफैँ कमजोर धरातलमा उभिएर काम गर्नुपर्दा शक्तिशाली मानिने व्यवसायीहरूले नपत्याउने गरेका गुनासाहरू सुनिने गरेका छन् ।

ठूलो संख्यामा सदस्य रिक्त रहेका कारण परिषद्ले गर्ने काममा असर परेको अध्यक्ष रामप्रसाद भण्डारी बताउँछन् ।

किन हुन सकेन निर्वाचन ?
परिषद्मा विशिष्ट, क, ख, ग गरी ४ तहमा व्यवसायी दर्ता हुने गरेका छन् । ‘ग’ श्रेणीका टी एसएलसीबाट अध्ययन गरेका जनशक्ति हुन्, जुन सर्टिफिकेटभन्दा तल्लो तह हो,’ भण्डारी भन्छन्, ‘जसको संख्या परिषद्मा दुईतिहाइभन्दा बढी छ । विद्यमान ऐनअनुसार ‘ग’ श्रेणीमा दर्ता हुनेले मतदान गर्न पाउने प्रावधान छ, तर उम्मेदवार हुन पाउँदैनन् ।’

अध्यक्ष भण्डारीका अनुसार ‘ग’ श्रेणीका व्यवसायीले उम्मेदवार हुन नपाएकाले आफ्नो प्रतिनिधित्व नभएकोमा विरोध जनाउँदै आएका छन्, जसका कारण चुनाव हुन सकिरहेको छैन ।
‘हामीले चुनाव गर्ने धेरै प्रयास गर्यौँ तर, विरोध भइरहेका कारण चुनाव गर्न सकेका छैनौँ,’ भण्डारीले भने, ‘परिषद् ऐनद्वारा गठन भएको संरचना हो, स्वास्थ्यव्यवसायी परिषद् ऐन २०५३ ले जे भन्छ, त्यहीअनुसार चल्नुपर्छ ।’

परिषद्को मुख्य काम विभिन्न विषयमा अध्ययन गरेर आएका स्वास्थ्यव्यवसायीहरूको प्रमाणपत्रका आधारमा परिषद्मा नाम दर्ता गर्ने रहेको भण्डारी बताउँछन् । स्वास्थ्यव्यवसायीहरूको अध्ययन–अध्यापन गराउने कलेजहरू अनुगन गर्ने काम पनि परिषद्कै हो । भण्डारी भन्छन्, ‘हामीले एउटा मापदण्ड निर्धारण गरेका छौँ, त्यसअनुरूप कलेजहरू चलेका छन् कि छैनन् भनेर अनुगमन गर्छौं । मापदण्डअनुरूप रहेको खण्डमा सम्बन्धन दिने वा नवीकरण गर्ने कार्य भइरहेको छ ।’

त्यसैगरी, विश्वविद्यालयहरूले लिने परीक्षाको अनुगमन गर्ने तथा दर्ता भएका व्यवसायीहरूको श्रेणीअनुसार तोकिएबमोजिम काम भए–नभएको अनुगमन गर्ने जिम्मेवारी पनि परिषद्कै हो ।

त्यसैगरी, विश्वविद्यालयहरूले लिने परीक्षाको अनुगमन गर्ने तथा दर्ता भएका व्यवसायीहरूको श्रेणीअनुसार तोकिएबमोजिम काम भए–नभएको अनुगमन गर्ने जिम्मेवारी पनि परिषद्कै हो ।
‘१३ जनाले गर्ने काम ६ जनाले गर्नुपर्दा आवश्यक मात्रामा जिम्मेवारी पूरा गर्न सकिएको छैन,’ भण्डारी भन्छन् ।

हाल परिषद्मा अध्यक्ष भण्डारीसहित कामचलाउ रजिस्ट्रार वसन्त अधिकारी, सदस्यमा मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा, चिकित्साशास्त्र अध्ययन संस्थानका डिनका प्रतिनिधि शान्तलाल श्रेष्ठ, प्यारामेडिकल एसोसिएसनका अध्यक्ष. हरि कुँवर, रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश झा, नेपाल फर्मास्युटिकल सोसाइटीका अध्यक्ष शशिकान्त चौधरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय