डेंगु नियन्त्रणका लागि विभागका महानिर्देशक नेतृत्वको टोली धरानमा, टोल–टोलमा जनचेतना र ‘खोज र नष्ट गर’ अभियान जारी

धरानमा डेंगुको संक्रमण फैलिनेक्रम बढिरहेको छ । स्वास्थ्यसेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार हालसम्म ७७ जनामा डेंगु फेलापरेको छ । डेंगु संक्रमित बिरामीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । प्रतिष्ठानमा ६४ र विजयपुर अस्पतालमा १३ जनाको उपचार भइरहेको महाशाखाले जनाएको छ ।

विभागका महानिर्देशक नेतृत्वको विशेषज्ञ टोली आइतबारदेखि धरानमा

डेंगुको संक्रमण फैलिँदै गएपछि स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीको नेतृत्वमा महाशाखाका डा. समीर अधिकारीसहित प्राविधि प्रकाश घिमिरेको विशेषज्ञ टोली घरान पुगेको छ । आइतबार धरान पुगेको टोलीले उपमहानगरका मेयर तथा बिपी प्रतिष्ठानका निर्देशकसँग बसेर डेंगु संक्रमणको पछिल्लो अवस्था र नियन्त्रणका लागि अपनाउने उपायबारे छलफल गरेको थियो । टोलीले संक्रमित तथा प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा दिउँसो टोक्ने प्रजातिका लामखुट्टेको बिगबिगी पाइएको टोलीका सदस्य डा. अधिकारीले बताए । ‘घरमा राखिएको सफा पानी, गमला, टायर, खाल्डाखुल्डीमा जमेको पानीमा पनि लामखुट्टेका लार्भा रहेको पाइयो,’ उनले हेल्थपोस्टसँगको कुराकानीका क्रममा मंगलबार धरानबाट भने, ‘समुदायमा जनचेतना जगाउने तथा लामखुट्टे नष्ट गर्ने काम भइरहेको छ ।’ बुधबारबाट ‘खोज र नष्ट गर’ अभियानसहित टोल–टोलमा परिचालित हुने डा. अधिकारीले बताए ।

टायर, बोतल, गमला तथा बाटोमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटिएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले बताए । पोखरेलका अनुसार धरान उपमहानगरपालिका–१५ मा डेंगुको प्रकोप बढी फैलिएको छ । यसका साथै ७, ९ र १३ नम्बर वडामा समेत बिरामी फेलापर्न थालेका छन् । ‘संक्रमण फैलिए पनि हालसम्म कसैको पनि मुत्यु भएको छैन,’ पोखरेल भन्छन्, ‘प्रभावित क्षेत्रका लागि महाशाखाले आवश्यक औषधि तथा ७ सय किटबक्स पठासकेको छ ।’ पोखरेलका अनुसार प्रभावित ठाउँमा ‘खोज र नष्ट गर’ अभियानसहित टायर, बोतल, गमला तथा बाटोमा जमेको पानीका खाल्डाखुल्डी पुर्ने तथा टोल–टोलमा गएर जनचेतना जगाउने काम भइरहेको छ ।

डेंगुरोग र यसबाट बच्ने उपायबारे सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन यसो भन्छन् ः

डेंगु मान्छेबाट मान्छेमा सर्ने प्रकारको रोग होइन, लामखुट्टेको टोकाइका कारण मात्र लाग्ने रोग हो । चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो । पानी परिरहेको समयमा पनि जमेको पानी हल्लिएको हल्लियै हुने भएकाले पनि यो समय डेंगु संक्रमण गराउने लामखुट्टेका लागि उपयुक्त समय हो । मनसुनका वेला भएको वर्षाभन्दा यो समयमा सहरी क्षेत्रमा खाल्डाखुल्डीमा स्थिर रूपमा पानी जमिरहने भएकाले पनि यो समय यस्ता लामखुट्टेका लागि अनुकूल मानिएको छ ।

सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न गएको हो । प्लास्टिकमा रेडिमेड खाना खाने प्रचलन र जथाभावी उक्त प्लास्टिक फाल्ने प्रचलनले पनि पनि डेंगुको प्रकोप बढेको हो । नेपालमा मात्रै नभई भारत तथा बंगलादेशमा पनि डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुरोगका ती क्षेत्रका कतिपय बिरामी उपचारका लागि टेकु अस्पताल पनि आउने गरेका छन् । मलेसियाबाट पनि डेंगुका बिरामी उपचारका लागि नेपाल आउने गरेका छन् । जंगली क्षेत्र बढी भएको ठाउँमा डेंगुको प्रकोप बढी पाइन्छ । जनघनत्व बढ्दै जाँदा यसको प्रकोप बढ्दै जान्छ । एउटै लामखुट्टेले पनि अनेकौँ व्यक्तिलाई डेंगु सार्न सक्छ । जहाँ सहरी विकास बढी हुन्छ, जनसंख्या बढी हुन्छ, त्यस्तो क्षेत्रमा डेंगुको प्रकोप बढी हुन्छ ।

व्यापक रूपमा भएको सहरीकरण, निर्माण तथा मर्मतका लागि बनाइएका कारखाना बढी भएकाले पनि काठमाडौंमा पछिल्लो समयमा डेंगुको प्रकोप एकदमै बढ्दै गएको छ । टोल–टोल, समुदाय–समुदायमा रहेका खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्छ । प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ । नेपालको मेची अञ्चल अस्पतालमा भने उपचारका क्रममा झुल लगाउने परिपाटीसमेत विकास भइसकेको छ । त्यो एकदमै सह्रानीय कदम हो ।

लक्षण
– मनसुनको अन्त्य भएसँगै एक्कासि ज्वरो आउने । यस्तोमा तुरुन्त स्वास्थ्यपरीक्षणका लागि जानु आवश्यक हुन्छ ।
– आँखाको गेडी दुख्ने ।
– जोर्नी दुख्ने ।
– एलर्जी हुने ।
– पेट दुख्ने ।
– वाकवाकी लाग्ने ।
– गिजा, नाक तथा दिसा–पिसाबमा रगत देखापर्ने ।
उल्लिखित सबै कुराको सम्मिश्रण भएमा डेंगु भएको शंका गर्नुपर्ने हुन्छ ।

उपचार
लक्षणका आधारमा डेंगुको उपचार गर्ने गरिन्छ । यसको विशेषखालको औषधि भने छैन । भ्याक्सिनको चर्चा गरिए पनि त्यो प्रयोगमा भने आएको छैन । त्यसैले उपचार विधिभन्दा पनि कसरी बच्ने भन्नेमा ध्यान दिनु आवश्यक छ । रोग लागिहालेमा पनि यसका कारण मर्ने सम्भावना कमै हुन्छ ।

रोकथाम
– लामखुट्टेका लागि उपयुक्त वातावरण सिर्जना गर्नु भएन ।
– डेंगु गराउने लामखुट्टे भएको क्षेत्रको पहिचान गरी त्यसलाई सखाप पार्ने ।
– उपचारका क्रममा झुल लगाउने प्रविधि अपनाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय