डा. वन्दनामाथि अभद्र व्यवहार गर्ने मिश्र एक सातापछि प्रहरी हिरासतमा, अनुसन्धान हुँदै

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ २१ गते १४:४४

हेटौँडा अस्पतालमा कार्यरत डा. वन्दना अधिकारीमाथि अभद्र व्यवहार गर्ने परमानन्द मिश्रलाई प्रहरीले प्रकाउ गरेको छ । घटनाको एक सातापछि मंगलबार प्रक्राउ परेका मिश्रमाथि आवश्यक छानबिन भइरहेको दोषी पाइएमा कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । जेठ १४ गते राति १० बजे मिश्रले डा. अधिकारीमाथि आकस्मिककक्षमा ड्युटीमा खटिएकै समयमा गालीगालौजसँगै भौतिक आक्रमणको समेत प्रयास गरेका थिए ।

पेट दुखेर आकस्मिकसेवाका लागि अस्पताल ल्याइएकी गर्भवती बुहारीको उपचारमा चासो नदेखाएको आरोप लगाउँदै मिश्रले ड्युटीमा खटिएकी डा. वन्दनामाथि गालीगलौजसँगै टुल उचालेर प्रहार गरेपछि अस्पतालले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएको थियो । आफूविरुद्ध उजुरी परेसँगै लुक्दै आएका मिश्रलाई प्रहरीले मंगलबार बिहान ९ बजे हिरासतमा लिएको हो ।

अभद्र व्यवहार गरेको ठहर भएमा दोषीलाई १ वर्षसम्म कैद र २० हजारसम्म जरिवानाको सजाय हुने कानुनी व्यवस्था रहेको सिंह बताउँछन् ।

‘बुहारीको उपचारका क्रममा असन्तिुष्टि देखाउँदै मिश्रले अस्पतालमा ड्युटीमा रहेका डाक्टरमाथि अभद्र व्यवहार देखाएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश सिंहले भने, ‘मिश्रलाई हामीले हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानमा दोषी ठहर भएमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर हुन्छ र सोहीअनुसारको कारबाही हुन्छ ।’
अभद्र व्यवहार गरेको ठहर भएमा दोषीलाई १ वर्षसम्म कैद र २० हजारसम्म जरिवानाको सजाय हुने कानुनी व्यवस्था रहेको सिंह बताउँछन् ।

अघिल्लो मंगलबार राति १० बजे पेट दुखेको समस्या लिएर गर्भवती कविता चापागाईं अस्पतालको आकस्मिककक्षमा पुगेकी थिइन् । डा. अधिकारीका अनुसार बिरामीपक्षले उपचारका लागि आग्रह गरेपछि डा. अधिकारीले यस्तो केसमा भिडियो एक्स–रेको रिर्पोटका आधारमा मात्रै उपचार गनुपर्ने तर अस्पतालमा रातिको समयमा एक्स–रे सेवा उपलब्ध नभएको भन्दै सेवा उपलब्ध भएका अन्य अस्पतालमा जान अनुरोध गरेकी थिइन् ।

डा. अधिकारीको सल्लाहबमोजि सुरुमा बिरामी पक्ष उपचारका लागि अन्य अस्पतालको खोजीमा गएको थियो । तर, अन्यत्र पनि रातिको समयमा उक्त सेवा उपलब्ध नभएका कारण उपचार हुन नसकेपछि उनीहरू पुनः हेटौँडा अस्पताल फर्केका थिए । डा. अधिकारीले पुनः आफ्नो बाध्यता दोहोर्याएपछि आक्रोशित बनेका बिरामीका सुसरा मिश्रले कुरा गरिरहेकै अवस्थामा एक्कासि चर्को गालीगलौजसहित डा. अधिकारीमाथि टुल उचालेर प्रहार गरेको थिए । यद्यपि, टुलको प्रहार डा. अधिकारीलाई नलागी छलिएको थियो ।

१४ जेठ रातिको आफूमाथिको दुर्व्यवहारको घटनालाई डा. अधिकारीले आफ्नै शब्दमा यसरी चित्रण गरेकी थिइन् :

जेठ १४ गते, मंगलबार, रातिको करिब १० बजेको समय थियो । म अस्पतालको आकस्मिककक्षमा बिरामी हेर्दै थिएँ । एकजना अपरिचित महिला आएर आफ्नो पेट दुखिरहेकाले उपचार गरिदन गुनासो पोख्नुभयो । उहाँ १ महिनाअघि गर्भवती हुनभएको रहेछ । करिब ३ दिनदेखि योनिबाट रगत बगिरहेको सुनाउनुभयो । उहाँको समस्यामाथि विचार गर्दा भिडियो एक्स–रे गरेर रिर्पोटका आधारमा मात्रै उपचार गर्नु अवस्था थियो । तर, अस्पतालमा राति भडियो एक्स–रे सेवा उपलब्ध नभएका कारण बिरामीलाई अन्यत्रै उपचार गराउन सल्लाह दिएँ ।

बिरामीकै सेवामा खटिएका हामी डाक्टर पटक–पटक बिरामीबाटै आक्रमणमा पर्दै आएका छौँ, अपमानित हुँदै आएका छौँ । यस्तो असुरक्षित अवस्थामा कसरी बिरामीलाई उचित सेवा दिन सकिन्छ र ? त्यसैले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दिनरात नभनी बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाका दोषीलाई कडा कारबाही हुनु जरुरी छ ।

बिरामीसित आउनुभएका आफन्तले उहाँलाई अन्य अस्पतालमा उपचारका लागि लैजानुभयो । तर, रातिको समयमा अन्य अस्पतालमा पनि उपचार सम्भव नभएपछि पुनः म भएको आकस्मिक कक्षमा आउनुभयो । र, एक्कासि ‘किन उपचार हुँदैन ?’ भन्न थाल्नुभयो । बिरामीलाई सम्झाउँदै ‘अस्पतालमा भिडियो एक्स–रे दिउँसो मात्र हुन्छ, रातिको समयमा हुँदैन’ भनेँ । तर, बिरामीका आफन्त झन् आक्रोशित हुन थाल्नुभयो । म उहाँहरूलाई सम्झाउँदै थिएँ । अकस्मात् उहाँसँगै नजिकमा उभिनुभएका एक पुरुषले टुल उचालेर ममाथि प्रहार गर्नुभयो । तर, संयोगवश म त्यो प्रहारबाट बचेँ । उहाँले मलाई पटक–पटक हातपात गर्न खोज्नुभयो, गाली–गलौज गर्नुभयो, मुखमा आएजति अपशब्द सबै बोल्नुभयो ।

विनाकारण बिरामीका आफन्तले यस्तो व्यवाहार देखाएपछि म अकमक्क परेँ । आफ्नो पेसाप्रति वितृष्णा पनि जाग्यो । आफू असुरक्षित भएको महसुस गरेर त्यहाँ रहेका स्टाफलाई प्रहरी बोलाउन भनेँ । केही समयमा प्रहरी आइपुग्यो र उहाँहरूलाई बाहिर निकाल्यो ।

म २ वर्षदेखि हेटौँडा अस्पतालमा कार्यरत छु । सुरुदेखि नै अस्पतालकै आवासगृहमा बस्दै आएकी छु । बिहान–दिउँसो–बेलुका मिलाएर डिउटीमा खटिँदै आएकी छु । अस्पतालमा डाक्टरमाथि आक्रमणको घटना यो पहिलो होइन । पछिल्लो १ वर्षमा मात्र यो तेस्रो घटना हो । यस वर्ष २ वटा यस्ता घटना यसअघि नै भइसकेका छन् ।

बिरामीकै सेवामा खटिएका हामी डाक्टर पटक–पटक बिरामीबाटै आक्रमणमा पर्दै आएका छौँ, अपमानित हुँदै आएका छौँ । यस्तो असुरक्षित अवस्थामा कसरी बिरामीलाई उचित सेवा दिन सकिन्छ र ? त्यसैले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दिनरात नभनी बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाका दोषीलाई कडा कारबाही हुनु जरुरी छ । यस्ता अवाञ्छित गतिविधिलाई समयमै निरुत्साहित गर्न सकिएन भने सेवाप्रवाहमै समस्या सिर्जना हुन्छ, काम गर्ने वातावरण नै रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय