गंगालालका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा, शैक्षिक योग्यता प्रमाण–पत्र नक्कली पेस गरेको अख्तियारको ठहर

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा इन्जिनियर पदमा कार्यरत प्रदीपकुमार यादवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा यादवले जागिरका लागि नक्कली प्रमाणपत्र पेस गरेको पाइएपछि अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीका लागि आइतबार विशेषमा आरोप–पत्र दायर गरेको हो ।

यसअघि यावदविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ‘यादवको इन्जिनियरको सर्टिफिकेट नक्कली रहेको हुँदा आवश्यक छानबिनसहित कारबाही गरिपाऊँ’ भन्ने उजुरीका आधारमा छानबिन गर्दा यादव दोषी पाइएपछि प्रमाण र कसुरअनुसार हदैसम्मको सजायको मागदाबीसहित विशेषमा मुद्दा दायर गरेको आइतबार अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका अनुसार यादवले सुरुमा गंगालाल अस्पतालमा इलेट्रिसिटी सहायक पदमा नियुक्ति लिएका थिए । पछि यादवले इन्जिनियर पदमा बढुवा प्रयोजनका लागि पोखरा विश्वविद्यय, परीक्षा नियन्त्रण कार्यालयबाट ‘ब्याचलर अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र बनाई पेस गरेका थिए । त्यति मात्र नभई यादवले नेपाल इन्जिनियरिङ परिषद्, नक्सालबाट जारी भएको साधारण दर्तावाला इन्जिनियरको नामदर्ता प्रमाणपत्रसमेत नक्कली बनाई पेस गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

यादवले शैक्षिक योग्यता र लाइसेन्सको समेत प्रमाणपत्र नक्कली एवम् झुटा बनाई गंगालाल हृदय केन्द्रमा सहायक पदमा करार नियुक्ति भई सोही केन्द्रको इन्जिनियर पदमा बढुवा भई सरकारी ओहदामा बहाल रहेकाले उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसार कसुर गरेको अख्तियारको ठहर छ । यादवले उल्लेखित कनुनको उल्लेखित दफाबमोजिम कसुर गरेकाले सोही दफाबमोजिम नै कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबी अख्तियारले विशेषमा दायर गरेको आरोप–पत्रमा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय