खसी देखाएर बाख्री बेच्नेलाई ५० हजार जरिवाना

गुरुमुरत यादव
प्रकाशित
२०७६ जेठ १९ गते ११:१६

नेपालगन्जमा सञ्चालनरत आधिकांश मासुपसलले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेका एक अनुगमनका क्रममा भेटिएको छ । नेपालगन्जका अधिकांश मासुपसल मापदण्डविपरीत रहेको अनुगमन समितिले जनाएको छ । मासुपसलहरू फोहोरले युक्त र गुणस्तरहीन पाइएको समितिको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मासु विक्रेताले कानुनले निर्धारण गरेको मापदण्ड र गुणस्तरलाई ध्यान दिएको नपाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

बजार अनुगमनका क्रममा दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको, सरसफाइलाई ध्यान नदिएको, कतिपय व्यवसायीले खुला रूपमा मासु विक्री–वितरण गरेको, मूल्यसूची राख्ने नगरेको, काटेर विक्री गर्न राखेको मासु फ्रिजमा नराख्ने गरेको पाइएको गौतमले जानकारी दिए ।

नेपालगन्जको एक मासु पसलले खसी भनेर बाख्रीको मासु बेच्ने गरेको तथ्य बाहिर आएको छ । नियमविपरीत मासु विक्री–वितरण गरेको पाइएपछि रानीतलाउ सब्जीमन्डीनजिकै रहेको बब्लु फ्रेस हाउसका सञ्चालकलाई ५० हजार रूपैयाँ जरिवाना गरेको अनुगमन समितिले जनाएको छ ।

पसल नवीकरण नगरी सञ्चालन गरेको, पसलमा मूल्यसूची नराखेको, पसल फोहोर रहेको र पसलभित्र जिउँदा २ बाख्री राखेको पाइएकाले अनुगमन समितिले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम ५० हजार जरिवाना गरेको अनुगमनमा संलग्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

अनुगमनमा कडाइ गरिएको थाहा पाएपछि मापदण्डविपरीत मासुव्यवसाय गर्नेहरू पसल छाडेर भागेका छन् । अनुगमन टोली सब्जीमन्डीनजिक पुग्दा खुला रूपमा मासु माटेर बेच्ने व्यवसायीहरू पसल छाडेर भागेका थिए । मासुव्यवसायीले प्रहरी बस्ने बिटलाई समेत मासु काट्ने स्थल बनाएको पाइएको गौतमले बताए ।

अनुगमन टोलीले खुला रूपमा मासु बेच्ने व्यवसायीका मासु काट्ने र राख्ने सामग्री जफत गरेको थियो । अनुगमन टोली पसलनजिकै आएको देखेपछि पसलेहरू भागेको अनुगमनमा संलग्न वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेलले बताए ।

अनुगमनका क्रममा फ्रिज नै नगरेर मासु स्टोर गर्ने गरिएको, मासु काट्ने औजार फोहोर स्थानमा राख्ने गरेको, दूषित स्थानमा मासुको विक्री हुने गरेको, मासु काट्ने स्थान एकदमै फोहोर र दुर्गन्धित अवस्थामा फेला पारेको जनाएको छ ।

अनुगमन टोलीले, मासुमन्डी, रानीतलाउ, फुल्टेक्रालगायत स्थानमा मासु विक्रीको अवस्थाको अनुगमन गरेको थियो । अनुगमनमा पशु क्वारेन्टाइन कार्यालयका डा. शीतलबाबु श्रेष्ठ, पशुविज्ञ केन्द्रका डा. हरिबहादुर कुँवर, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय नेपालगन्जका सौरभ श्रेष्ठ, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमलगायतको सहभागिता थियो ।

अनुगमनका क्रममा फ्रिज नै नगरेर मासु स्टोर गर्ने गरिएको, मासु काट्ने औजार फोहोर स्थानमा राख्ने गरेको, दूषित स्थानमा मासुको विक्री हुने गरेको, मासु काट्ने स्थान एकदमै फोहोर र दुर्गन्धित अवस्थामा फेला पारेको जनाएको छ ।

अनुगमन गरिएका अधिकांश मासुपसलको वधस्थलको अवस्था नराम्रो रहेको, वधस्थल फोहोर रहेको, मासुको अवस्था पनि त्यति सन्तोषजनक नरहेको पशु क्वारेन्टाइन कार्यालयका पशुविज्ञ केन्द्र नेपालगन्जका डा. हरिबहादुर कँुवरले जानकारी दिए । यसैबीच, बाँके डुडुवा गाउँपालिकाअन्तर्गतका बजारको शुक्रबार संयुक्त अनुगमन गरिएको थियो । गाउँपालिका वडा नंं. ४ सिधानिया र ५ कम्दीमा रहेका विभिन्न पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मिठाइ, नास्ता पसलमा राखिएका मिठाइजन्य समाग्रीलाई राम्रोसँग सीसाभित्र राख्न, सरसफाइमा विशेष ध्यान दिन, फर्म दर्ता नगरेका पसललाई दर्ता गर्न, पसलको बोर्ड राख्न, रसायनको प्रयोग गरी फलफूल विक्री नगर्न, दर्ता भएका पसलको नियमित नवीकरण गर्न सुझाब दिइएको गाउँपालिका उपाध्यक्ष साहिदा बानोले बताइन् ।

पहिलोपटक स्थानीय तहका बजारमा संयुक्त अनुगमन टोली पुग्दा पसले तथा व्यापारी दंग परेका थिए । पहिलोपटक अनुगमन गरिएकाले मापदण्ड पूरा नगरेका पसलेलाई सुरुमा सुझाबसहितको चेतावनी दिइएको वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले बताए । कम्दी मिलनचोकमा नास्ता पसल, फलफूल तथा तरकारी, दुग्धउद्योग, किरानापसल, मासुपसल, हार्डवेयरलगायत पसल सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय