जानकी मेडिकल कलेजका सञ्चालक पाण्डेविरुद्ध प्रकाउपुर्जी, एक दिनभित्र उपस्थित गराउने आदेश भएन कार्यान्वयन

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ १७ गते १७:०५

क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेजका सञ्चालक ओपी (ओमप्रकाश) पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउपुर्जी जारी गरेको छ । मेडिकल कलेजमा कार्यरत कर्मचारीको उजुरीका आधारमा प्रशासनले उनीविरुद्ध बुधबारको मितिमा एक दिनभित्र उपस्थित गराउन पक्राउ आदेश जारी गरेको हो । यद्यपि, उनी हालसम्म पक्राउ परेको खबर छैन । पाण्डेविरुद्ध लामो समयदेखि कर्मचारीलाई तलब नखुवाएको लगायत आरोप छन् ।

कर्मचारीको सञ्चालकविरुद्धको जाहेरीपछि जिल्ला प्रशासन कार्यालयले पाण्डेलाई कार्यालयमा उपस्थित हुन पटक–पटक पत्राचार गरेको थियो । तर, कार्यालयको आदेशको अवज्ञा गर्दै पाण्डे उपस्थित नभएपछि उनीविरुद्ध पक्राउपुर्जी जारी गरिएको कार्यालयका प्रशासन अधिकृत दिनेश शाहले जानकारी दिए । उनका अनुसार पक्राउपुर्जीमा एक दिनभित्र कार्यालयमा हाजिर गराउन प्रहरीलाई निर्देशन दिइएको छ । यसअघि कलेजका प्रिन्सिपल हुकुमदेव साहसहित कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा सञ्चालकविरुद्ध उजुरी दर्ता गराएका थिए ।

‘हामीले आन्दोलन थालेपछि अस्पताल सञ्चालकले तलब दिने आश्वासन दिने गरेका छन्, यसअघि यस्ता आश्वासन कैयौँपटक पाइयो, तर तलब भने पाइएन,’ संघर्ष समितिका संयोजक उमेश यादवले भने, ‘त्यसैले प्रशासनको सहयोग लिन बाध्य भएका हौँ ।’

लामो समयदेखि कलेजले तलब नखुवाएपछि प्रिन्सिपलसहित कार्यरत कर्मचारी संघर्ष समिति नै बनाएर सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका छन् । कर्मचारीको आन्दोलनका कारण विद्यार्थीको पठन–पाठनसहित अस्पतालको सेवासमेत प्रभावित बनेको छ । यसअघि पनि कर्मचारीहरू तलबको विषयलाई लिएर पटक–पटक सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिसकेका छन् ।

कर्मचारी आन्दोलित भएसँगै सञ्चालकले तलब दिने आश्वासन दिएर भुलाउने गरेको तर काममा फर्किएसँगै बेवास्ता गर्ने गरेको संघर्ष समितिको भनाइ छ । ‘हामीले आन्दोलन थालेपछि अस्पताल सञ्चालकले तलब दिने आश्वासन दिने गरेका छन्, यसअघि यस्ता आश्वासन कैयौँपटक पाइयो, तर तलब भने पाइएन,’ संघर्ष समितिका संयोजक उमेश यादवले भने, ‘त्यसैले प्रशासनको सहयोग लिन बाध्य भएका हौँ ।’

चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले यसअघि मेडिकल शिक्षा पढाउने नाममा अवैध धन्दामा संलग्न भएको भन्दै जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न पटक–पटक माग गरिसकेका छन् । बारम्बार अवैध रूपमा विद्यार्थी भर्ना लिने तथा न्यायालयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीविनै विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने धन्दामा कलेज संलग्न रहेको आरोप डा. केसीको छ । कलेजमाथि अवैध रूपमा विद्यार्थी भर्ना लिएको, प्रवेश परीक्षामा संलग्न नै नभएका तथा उत्तीर्ण नगरेका विद्यार्थीलाई भर्ना लिएको, आइओएमको निर्देशन पालना नगरेको, मापदण्ड पूरा नगरेको लगायत आरोप लाग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय