सुर्तीजन्यपदार्थ सेवनका कारण वार्षिक २७ हजार नेपालीको मुत्यु, ४७ अर्ब ३० करोड उपचारमा खर्च

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ १७ गते १५:३३

आज ३१ मे, अर्थात् विश्व धूमपानरहित दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षका लागि विश्व धूमपानरहित दिवसको नारा ‘सुर्ती र फोक्सो स्वास्थ्य’ तय गरिएको छ । नेपालमा बढी मात्रामा सुर्तीजन्यपदार्थ चुरोट, बिँडी, पानलगायतको सेवनबाट वार्षिक करिब २७ हजारको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ भने हजारौँ मानिस असाध्य रोगको सिकार भइरहेका छन् ।

सुर्तीजन्यपदार्थको सेवनका कारण लाग्ने रोगहरू, क्यान्सर, मुटुरोग, मुधुमेह, दीर्घ श्वास–प्रश्वास आदिको उपचारमा एक वर्षमा ४७ अर्ब ३० करोड खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त अनुसन्धानले देखाएको छ, जसमध्ये ४ अर्ब ७० करोड सरकारले बेहोरेको छ भने बाँकी ४२ अर्ब ६० करोड जनताले आफ्नो गोजीबाट तिरेका छन् ।

नेपालमा रोगका कारण हुने कुल मृत्युको ६६ प्रतिशत नसर्ने रोगहरू (क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वास–प्रश्वासलगायत)का कारण भइरहेको छ । त्यसैगरी, क्यान्सरका कारण हुने कुल मृत्युको २९ प्रतिशत मृत्यु फोक्सोको क्यान्सरका कारण हुने गरेको छ, जसमा १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले फोक्सोको क्यान्सरबाट ज्यान गुमाउने गरेका छन् । धूमपानरिहत समाज बनाउन सकिएको खण्डमा फोक्सोको क्यान्सरमा ९० प्रतिशत नियन्त्रण आउने विशेषज्ञहरू बताउँछन् ।

धुवाँका रूपमा १८ प्रतिशत नेपालीले सुर्ती खाने गरेको र १८ प्रतिशतले काँचो सुर्ती खाने गरेको तथ्यांक छ । त्यस्तै, १३ देखि १५ वर्षका किशोर–किशोरीमा २०.४ प्रतिशतले सुर्तीजन्यपदार्थको सेवन गर्ने गरेको मन्त्रालयको तथ्यांक छ ।

‘धूमपानले शरीरका सबै अंगमा असर गर्छ,’ सुर्तीजन्यपदार्थ नियन्त्रण तथा स्वास्थ्य प्रवर्धन शाखाका प्रमुख डा. भक्तबहादुर केसी भन्छन्, ‘मुख्यतया सुर्तीजन्यपदार्थको प्रयोगले असर गर्ने भनेको फोक्सोमै हो ।’

धुवाँका रूपमा १८ प्रतिशत नेपालीले सुर्ती खाने गरेको र १८ प्रतिशतले काँचो सुर्ती खाने गरेको तथ्यांक छ । त्यस्तै, १३ देखि १५ वर्षका किशोर–किशोरीमा २०.४ प्रतिशतले सुर्तीजन्यपदार्थको सेवन गर्ने गरेको मन्त्रालयको तथ्यांक छ । ‘विशेषगरी, धूमपानले क्षयरोगका बिरामीलाई श्वास–प्रश्वासमा समस्या उत्पन्न गराउँछ,’ डा. केसी भन्छन्, ‘यसले गर्दा फोक्सोको क्षमतामा ह्रास आउने, फोक्सोमा रहेका विभिन्न जीवाणुलाई आक्रमण गर्ने गर्छ ।’ डा. केसीका अनुसार धूमपानले हृदयाघात, स्ट्रोक र मुटुरोग २ देखि ४ गुणासम्म बढाउने गरेको छ । डा. केसी भन्छन्, ‘धूमपान नगर्नेभन्दा गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर २२ गुणाले बढी हुने गरेको छ ।’

विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनअनुसार सुतीजन्य पदार्थको सेवनका कारण विश्वमा प्रति ४ सेकेन्डमा एकजनाले ज्यान गुमाइरहेका छन् । धूमपानकै कारण विश्वमा वार्षिक ८० लाख मानिसको मुत्यु हुने गरेको तथ्थांकले देखाएको छ । विश्वमा हरेक दिन १५ अर्ब खिल्ली अर्थात् प्रतिमिनेट एक करोड खिल्ली चुरोट विक्री हुने अनुमान छ । विश्वमा सुर्तीजन्यपदार्थको सेवनबाट हुने हरेक १० मृत्युमा एकजना वयस्कको ज्यान जाने गरेको तथ्यांक छ ।

प्रभातफेरी गरेर मनाइयो दिवस
विश्व धूमपानरहित दिवसका अवसरमा राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुले शुक्रबार राजधानीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौँ’ मूल नाराका साथ बिहान ७ बजे वीर अस्पतालबाट सुरु भएको प्रभातफेरी टेकुस्थित स्वास्थ्यसेवा विभागको प्रांगणमा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरीमा सयजनाभन्दा बढीको उपस्थिति थियो । प्रभातफेरीमा समुदाय साझेदारीअन्तर्गत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र, कुलेश्वरको समेत सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय