बर्डफ्लुबाट मृत्यु घटनामा संक्रमणको कारण नखुल्ने निश्चित, देशी–विदेशी विशेषज्ञ टोलीको महिनादिनसम्मको अनुसन्धान कारण पत्ता लगाउन नसकी टुंगियो

ठिक दुई महिनाअघि नेपालमै पहिलोपटक बर्डफ्लु (इन्फ्लुएन्जा एच५एन१)को संक्रमणबाट एक युवकको ज्यान गएको घटनाको राज सधैँका लागि राजमै सीमित हुने भएको छ । इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले संयुक्त राष्ट्रसंघका विश्व स्वास्थ्य हेर्ने विशिष्टीकृत संस्थाहरूसमेतको सहयोग र देशी–विदेशी विशेषज्ञको संलग्नतामा गरेको रोगको संक्रमणको कारणबारेको एक महिना लामो अनुसन्धान कारण पत्ता लगाउन नसकेको अवस्थामै टुंगिएसँगै यस घटनाको गाँठो सम्भवतः कहिल्यै नफुक्ने गरी कसिएको छ ।

१० चैत ०७५ मा ज्वरो तथा खोकीको लक्षणसहित अस्पताल भर्ना भएका काभ्रेका २१ वर्षीय युवकमा इन्फ्लुएन्जा संक्रमणको शंका लागि चिकित्सकले बिरामीको र्याल प्रयोगशाला परीक्षणमा पठाउँदा नेपालको प्रयोगशालाबाट कुन भाइरस हो भन्ने यकिन हुन सकेन । इन्फ्लुएन्जाकै संक्रमणको अनुमानमा बिरामीमा अपनाइएका सबै विधि निष्प्रभावी बन्न पुगी १५ चैतमा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण बिरामीको मृत्यु भएपछि रोगको यकिन गर्न बिरामीको र्याल परीक्षणका लागि जापान पठाइयो । बिरामीको मृत्यु भएको ३२ दिनपछि प्राप्त रिपोर्टमा बिरामीमा इन्फ्लुएन्जा एच५एन१ (बर्डफ्लु) पुष्टि भएपछि सरकारी संयन्त्रहरूबीच खैलाबैला मच्चियो । रोगबारेको विवरण कसरी सार्वजनिक गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयमा भएको लामो छलफलपछि १९ वैशाखमा मन्त्रालयले संक्रमणबाट मृत्यु भएका युवकको नाम, वतन, उपचार भएको स्वास्थ्यसंस्था, उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायतको विवरण गोप्य राखी घटनाको आंशिक विवरण सार्वजनिक गरेको थियो ।

संक्रमितसित जोडिएका कसैमा पनि छैन भाइरसको कत्ति पनि संक्रमण
घटनालगत्तै प्राणघातक इन्फ्लुएन्जा एच१एन१ भाइरसको संक्रमणको त्रासका बीच देशी–विदेशी विशेषज्ञ तथा संघ–संस्थाको संलग्नतामा करिब ३ दर्जन विशेषज्ञले घटनाबारेको अनुसन्धान सुरु गरेका थिए । संयुक्त राष्ट्रसंघअन्तर्गतका विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम, खाद्य तथा कृषि संगठनसमेतको संलग्नतामा देशी तथा विदेशी विशेषज्ञहरूले आफ्ना हरेक संयन्त्र र विशेषज्ञताको प्रयोग गरी सार्वत्रिक अनुसान्धान गर्दा पनि मृतकमा भाइरस संक्रमणको कारणबारे पत्ता लगाउन सम्भव भएन ।

स्वास्थ्य मन्त्रालयका अनुसार विशेषज्ञ टोलीले मृतक बिरामीसँग जोडिएका हरेक पाटोको अध्ययन–अनुसन्धान गर्यो । बिरामीका परिवारका तथा नजिक रहेका हरेक सदस्य, बिरामीले काम गरेका स्थानका मानिसहरू, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलगायत सम्भावित सबैको परीक्षण गर्दा कसैमा पनि भाइरसको गुन्जायस नभेटिएपछि अनुसन्धान टोलीको प्रयास निरर्थक टुंगिएको हो ।
‘एक महिनासम्म देशी–विदेशी विशेषज्ञले गरेको अनुसन्धानले रोगको कारण पत्ता लगाउन सकेन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘त्यसलै घटनाबारेको अनुसन्धान पत्ता लगाउन नसकेको अवस्थामै अनुसन्धान टुंगिएको छ ।’ बिरामीको मृत्यु एच१एन१ भाइरसकै कारण भएको यकिन भए पनि उसमा रोग कहाँबाट आयो भन्ने कुरा कसैगरी पनि पत्ता लगाउन नसकिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कुखुराको मासु काट्ने साथीसित नजिकिन्थे संक्रमित, तर मासु काट्नमै संलग्नमा संक्रमण शून्य
स्वास्थ्य मन्त्रालयका अनुसार अनुसन्धानका क्रममा संक्रमितले १०–१५ दिनजति कुखुराको गाडी चलाएको खुलेको छ । तर, स्वयम् कुखुरासँग निकट हुने अन्य गतिविधिमा भने उनको संलग्नता नरहेको अनुसन्धान टोलीको भनाइ छ । यद्यपि, एकजना कुखुराको मासु काट्ने साथीसित संक्रमितको निकटता रहेको र सँगै बस्ने गरेको भने खुलेको छ । तर, सम्बन्धित साथी र सँगै काम गर्ने व्यक्तिहरूको समेत परीक्षण गर्दा उनीहरूको शरीरमा भाइरसको संक्रमण वा अलिकति मात्र पनि सम्भावना नदेखिएपछि मृतकमा भाइरसको संक्रमण कहाँबाट भयो भन्ने विषय नसुल्झिएको पहेलीजस्तै बन्न पुगेको छ ।

संक्रमितको परिवारका कुनै पनि सदस्य, नजिकमा रहेका व्यक्तिहरू, उपचारका क्रममा नजिकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको समेत जाँच गर्दा संक्रमणको कुनै पनि खाले लक्षण नपाइएपछि अनुसन्धान टोली खाली हातमा सीमित हुन पुग्यो । अनुसन्धानका सम्भावित सबै उपाय अपनाउँदा पनि संक्रमणको कारण पत्ता नलागेपछि र थप अनुसन्धानले पनि अपेक्षित नतिजा नदिने देखिएपछि टोलीले अनुसन्धान बन्द गरेको हो ।

नमुना परीक्षणका लागि ४२ जनाको रगत जापान पठाइँदै, तर संक्रमणको सम्भावना शून्यप्रायः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार बर्डफ्लु संक्रमणबाट मृत्यु भएका युवकसित नजिकिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, परिवारजन तथा आफन्तको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि जापान पठाउने तयारी गरिएको छ । सम्भावित ठानिएका ४२ जनाको रगतको नमुना संकलन भइसकेको प्रयोगशालाले जनाएको छ । यद्यपि, रगतको परीक्षणमा एच५एन१को संक्रमण देखिने सम्भावना भने नगण्य रहेको प्रयोगशालाकी कार्यकारी निर्देशक डा. रुना झाले जानकारी दिइन् । डा. झाका अनुसार छातीमा इन्फेन्सन भई रोगका लक्षणहरू देखिएका बिरामीको हकमा र्यालको र लक्षण नदेखिएका बिरामीको हकमा भाइरसका कारण एन्टिबडी विकास भए–नभएको पत्ता लगाउन रगतको परीक्षण गर्ने गरिन्छ ।
‘हामी संक्रमितसित एकदमै नजिकका ४२ जनाको रगतको नमुना परीक्षणका लागि जापान पठाउने तयारीमा छौँ,’ डा. झले भनिन्, ‘यद्यपि, प्रारम्भिक अनुसन्धानअनुसार इन्फ्लुएन्जा पोजेटिभ रिपोर्ट आउने सम्भावना भने शून्यप्रायः छ ।’

खकार परीक्षणका लागि नमुना पठाइएको समाचार गलत : राष्ट्रिय प्रयोगशाला
प्रयोगशालाका अनुसार बर्डफ्लुको संक्रमणबाट मृत्यु भएको रिपोर्टले पुष्टि गरेपश्चात् हालसम्म कसैको पनि खकार वा रगतको नमुना परीक्षणका लागि विदेश पठाइएको छैन । उनका अनुसार प्रयोगशालाले हाल पठाउन लागेको नमुना खकारको नभई रगतको हो । ‘१७९ जनाको घाँटीको र्याल परीक्षणका लागि जापान पठाइएको भन्ने समाचार झुटो हो,’ राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. झाले भनिन्, ‘खकार नभई ४२ जनाको रगतको नमुना जापानको पुरानै प्रयोगशालामा पठाउनेक्रममा छौँ ।’

केही दिनअघि बर्डफ्लु संक्रमितको उपचार गराउने २ अस्पतालका १ सय ७२ स्वास्थ्यकर्मी र ७ जना परिवारका सदस्य गरी १ सया ७९ जनाको रगतको नमुना परीक्षणका लागि जापान पठाइएको समाचार एक अनलाइन मिडियामा प्रकाशन भएको थियो । उक्त समाचारमा कुनै सत्यता नभएको र हचुवाका भरमा लेखिएको राष्ट्रिय प्रयोगशालाले पुष्टि गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय