गणतन्त्रपछिका १३ वर्षमा भरतपुरमा १७ मेसु, अधिकांशले ८ महिना पनि पूरा गर्न पाएनन्, निश्चित कार्यकाल तोक्न माग

भरतपुर अस्पतालको प्रसूति भवनको सिरानको तलामा प्रशासकीय कक्ष छ । त्यसको एउटा कुनामा मेसुको कार्यकक्ष देखिन्छ । आल्मोनियमले बारेर चिटिक्क पारिएको कोठाको पश्चिमतर्फ मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को कुर्सी राखिएको छ । अगाडिपट्टि १०–१२ जना अट्ने सोफा छन् । मेसुको कुर्सीअगाडि सेतो बोर्ड टाँसिएको छ । त्यहाँ हालसम्मका मेसुका नाम रातो अक्षरमा लेखिएका छन् । बोर्डको पुछारमा ३९औँ नम्बरमा डा. विश्वबन्धु बगालेको नाम छ । त्यसभन्दा तल लेख्ने ठाउँसमेत छैन । बोर्डको सूचीलाई नियाल्दा अधिकांश मेसुले आठ महिना पनि काम गरेका छैनन् ।

६३ वर्षमा ३९ मेसु, गणतन्त्रअघिका ५० वर्षमा २२, पछिका १३ वर्षमा १७
वि.सं. २०१३ मा डा. हिरण्यदेव प्रधानको नेतृत्वमा सञ्चालनमा आएको भरतपुर अस्पतालमा ३९ पटक मेसु फेरिएका छन् । मुलुकमा गणतन्त्र आउनुअघिका ५० वर्षमा २२ पटक मेसु परिर्वतन भएका थिए । गणतन्त्रपछिको छोटो समयमा १७ पटक मेसु परिर्वतन गरिएको छ । पछिल्लो १३ वर्षमा डा. दिलबहादुर के.सी., डा.नरेन्द्रकुमार सिंह, डा. सेनेन्द्रराज उप्रेती, केशवराज भुर्तेल, डा. महेन्द्रराज न्यौपाने, डा. हरिबहादुर के.सी., डा. विजयप्रसाद पौडेल, डा. मणिकलाल मानन्धर, डा. रुद्रप्रसाद मरासिनी, डा. रबिन खड्का, प्रा.डा. कृष्णप्रसाद पौडेल र डा. विश्वबन्धु बगाले मेसु भएका छन् ।

यसमध्ये केशवराज भुर्तेल चार र नरेन्द्रकुमार सिंह तीनपटक मेसु भएका छन् । केशव भुर्तेलले पहिलो र दोस्रोपटक १५ महिना मेसुको जिम्मेवारी सम्हाले पनि बाँकी दुईपटक ३–३ महिनाभन्दा बढी जिम्मेवारी सम्हाल्न पाएनन् । गणतन्त्रअघि एक मेसुको औसत कार्यावधि २ वर्षभन्दा बढी थियो । तर, गणतन्त्रपछिको अवधिमा अस्पतालका मेसु नियुक्तिमा यति धेरै राजनीतिक स्वार्थ मौलायो कि, एक मेसुको औसत कार्यावधि मात्र ९ महिनाको रह्यो, जहाँ २ महिनामै पनि मेसु परिवर्तन गरिएका उदाहरण अनेक छन् ।

६३ वर्षको अस्पतालको इतिहासमा गणतन्त्रअघिका ५० वर्षमा २२ पटक मेसु परिवर्तन हुँदा पछिका १३ वर्षमै १७ पटक परिवर्तन भइसकेका छन्

१ वर्षमै ४ मेसु, ०७१ यता ९ जनाले पाए जिम्मेवारी
पछिल्लो एक वर्षमा मात्र भरतपुर अस्पतालको मेसुको सूचीमा चारजनाको नाम अंकित भइसकेको छ । ०७५ को जेठसम्म रुद्र मरासिनीले जिम्मेवारीमा रहेकोमा त्यसपछि डा. रबिन खड्का, प्रा.डा. कृष्णप्रसाद पौडेल र डा. विश्वबन्धु बगाले जिम्मेवारीमा आइसकेका छन् । त्यसमध्ये डा. खड्काले ४ महिना र प्रा.डा. पौडेलले ७ महिना मात्र काम गर्ने अवसर पाए । हाल डा. बगालेमाथि मेसुको जिम्मेवारी छ ।

०७१ यता मात्र अस्पतालको बोर्डमा ९ जना मेसुले आफ्नो नाम सूचीकृत गरिसकेका छन् । त्यसमध्ये सबैभन्दा लामो अवधि मेसुको जिम्मेवारी सम्हाल्नेमा डा. रुद्रप्रसाद मरासेनी छन् । उनले २८ महिना मेसुका रुपमा काम गर्ने अवसर पाए । यस अवधिमा डा. मणिकलाल प्रधान र विजयप्रसाद पौडेल जम्मा २–२ महिना जिम्मेवारीमा रहे भने डा. हरिबहादुर क्षेत्रीले ७ महिनाको अवसर पाए ।

अधिकांश मेसुले ८ महिना पनि बिताउन पाएनन्, २ महिनामै पनि फालिए
भरतपुर अस्पतालका यसअघि नियुक्त अधिकांश मेसुले आठ महिना पनि काम गर्न पाएका छैनन् । यही अस्थिरताको पराकाष्ठालाई देखेरै होला, अर्थोपोडिक्स चिकित्सक प्रमोद लामिछानेले एक साताअघि आफ्नो फेसबुक वालमा लेखे, ‘प्रशासनिक काम अर्थात् मेडिकल सुपरिटेन्डेन्ट, सचिव हुने त पब्लिक हेल्थ पढेका, हस्पिटल म्यानेजमेन्ट गरेका अथवा कम्युनिटी मेडिसिन पढेका व्यक्ति हुन् । हामी सर्जन, फिजिसियनले त क्लिनिकल प्राक्टिस गर्ने हो । मेसु नै बन्नु छ त किन यत्रो खर्च गर्ने (पढ्नमा) । हामीले चलाएको प्रशासनभन्दा उहाँहरुले चलाएको चुस्त–दुरुस्त हुन्छ । यस्तै चाला हो भने, बिरामी जाँच्नेभन्दा मेसु पड्काउनेमा डाक्टरको ध्यान बढी तल्लीन हुन्छ ।’

०७१ यता मात्र अस्पतालको बोर्डमा ९ जना मेसुले आफ्नो नाम सूचीकृत गरिसकेका छन् । त्यसमध्ये सबैभन्दा लामो अवधि मेसुको जिम्मेवारी सम्हाल्नेमा डा. रुद्रप्रसाद मरासेनी छन् । उनले २८ महिना मेसुका रुपमा काम गर्ने अवसर पाए ।

मेसुको अधिकारक्षेत्रभित्र विशेषगरी प्रशासनिक र आर्थिक विषय पर्छन् । त्यसमा अस्पतालको सेवावृद्धिदेखि कर्मचारी नियुक्तिसम्मको अधिकार मेसुलाई छ । त्यसका लागि चिकित्सकहरु आफ्ना योजनासहित मन्त्रालय धाउनेक्रम बढेको छ । यसरी छिटो–छिटो मेसु परिवर्तन भइरहँदा अस्पतालको विकास र सेवाप्रवाहमा नराम्रो असर परिरहेको छ, जसबाट आमसर्वधारणसमेत प्रभावित भइरहेका छन् । अस्पतालको विकासका योजना लिएर आएको मेसुले कामको थालनी गर्न नपाउँदै उसको पद खोसिन्छ र अर्कै नियुक्त भएर आउँछ ।

गत साता २ जेठमा नियुक्ति पाएका डा. बगालेले पनि अस्पताल सुधारका लागि थुप्रै योजना ल्याएका छन् । उनले एक वर्षभन्दा माथिका शिशुलाई राख्ने ओएनएम सेवा, विदेशमा अपनाइँदै आएका प्रविधि र अत्याधुनिक उपकरणको प्रयोगमार्फत सेवा दिने योजना अघि सारेका छन् । तर, आफ्ना योजना कार्यान्वयनको थालनी गर्न पाउँदानपाउँदै पद गुमिसक्ने विगतको अभ्यास र अनुभवले काम पूरा गर्न नपाउने हो कि भन्ने चिन्ता उनमा पनि छ । ‘मलाई कर्मचारी समायोजन हुने समयसम्मका लागि मेसु भएर काम गर्नुपर्यो भनिएको छ, आ–आफ्ना क्षेत्रमा काम गर्ने हो । मैले जति सक्छु, काम गर्छु गर्दै जान्छु, बाँकी के हुन्छ थाहा छैन,’ डा. बगालेले भने । उनले अस्पतालको नियमित सेवामा गर्नुपर्ने सुधारका कामहरु अघि बढाउने बताए ।

काम सुरु गर्दानगर्दै जिम्मेवारी खोसिँदा सबै योजना अलपत्र
मेसुको कार्यावधि नहुँदा अस्पतालका भौतिक तथा अन्य सेवा विस्तार गर्न नसकिने यसअघिका मेसु डा. पौडेल बताउँछन् । ‘अस्पतलामा ल्याब, फार्मेसी, टिकट काउन्टर विस्तार गर्ने, गुणस्तरीय सेवा दिने, अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा विकास गर्ने, पैसा तिरेर छिटो उपचार गराउन चाहनेहरुका लागि छुट्टै भवन थप्ने, अतिक्रमित जग्गाको खोजी गर्नेलगायत योजना थिए,’ डा. पौडेलले भने, ‘योजना कार्यान्वयनका काम सुरु गर्न नपाउँदै निस्कनुपर्यो ।’ उनले सात महिनाको कार्यकालमा ल्याबको विकास, टिकट काउन्टर विस्तार, फार्मेसी सञ्चालन, अतिक्रमित जग्गाको खोजी, विद्युत्को व्यवस्थापन, आकस्मिक तथा ओपिडीकक्षको विस्तार, अनलाइन टिकट काट्ने व्यवस्था र डाक्टरले काम गर्ने अवधि डिजिटल बोर्डमा लेख्ने व्यवस्था गरेका थिए । केन्द्रको बजेट नआउँदा पनि उनले उल्लेख्य काम गरेको कतिपयले बताउने गरेका छन् । उनले सिटिइभिटीले प्रयोग गर्दै आएको अस्पतालको एक बिघा जग्गा अस्पतालमातहत ल्याएका छन् । सिटिइभिटीले प्रयोग गर्दै आएका दुईवटा भवन हाल अस्पतालले प्रयोग गर्दै आएको छ ।

अस्पतालका पूर्वमेसु डा. रुद्रप्रसाद मरासिनी मेसु बन्नका लागि राजनीतिक दलका नेतालाई खुसी पार्नुपर्ने बताउँछन् । ‘राजनीतिक दलका कार्यकर्तालाई जसले खुसी पार्न सक्छ, ऊ मेसु हुन्छ,’ डा. मरासिनीले भने, ‘मेसुलाई स्थायित्व दिनुपर्छ भन्ने भावना हाम्रा नेताहरुमा छैन, जता फाइदा हुन्छ, त्यतै लाग्छन् ।’

‘सरकारीबाट आफूलाई फाइदा कम हुने हुँदा निजी अस्पताल खोल्न प्रोत्साहन गर्छन् नेता’
सरकारी अस्पतालमा मेसुको चयन मन्त्रीस्तरीय निर्णयबाट हुने प्रावधान छ । यसका कारण मन्त्रीहरुले आफू वा आफ्नो पार्टीनिकट खुलेका चिकित्सकलाई वा आफ्नो इसारामा कार्म गर्न वाचाकबोल गर्ने चिकित्सकलाई मेसुमा नियुक्त गर्ने गरेको इतिहास छ ।

अस्पतालका पूर्वमेसु डा. रुद्रप्रसाद मरासिनी मेसु बन्नका लागि राजनीतिक दलका नेतालाई खुसी पार्नुपर्ने बताउँछन् । ‘राजनीतिक दलका कार्यकर्तालाई जसले खुसी पार्न सक्छ, ऊ मेसु हुन्छ,’ डा. मरासिनीले भने, ‘मेसुलाई स्थायित्व दिनुपर्छ भन्ने भावना हाम्रा नेताहरुमा छैन, जता फाइदा हुन्छ, त्यतै लाग्छन् ।’ राजनीतिक दललाई सरकारी अस्पतालबाट फाइदा नहुने भएकाले निजी अस्पताल खोल्न प्रोत्साहन गर्ने गरेको आरोप समेत उनले लगाए ।

मेसुको निश्चित कार्यकाल तोकिनुपर्ने माग
केन्द्रमा स्थायी सरकार हुँदा पनि हालै केन्द्रीयस्तरको मान्यता पाएको भरतपुर अस्पतालमा पटक–पटक मेसु फेरिएका छन् । मन्त्रीहरुले आफूनिकटलाई मेसु बनाउन अस्पतालमा कार्यरत चिकित्सकभन्दा जुनियरलाई नेतृत्व दिने गरेका छन् । भरतपुर अस्पतालमा ११औँ तहका ५ चिकित्सक कार्यरत छन् । तर, १०औँ तहका चिकित्सकले मेसुको जिम्मेवारी पाएका छन् । केन्द्रीयस्तरको अस्पतालमा यसरी छोटो पटक–पटक समयावधिमै मेसु परिर्वतन हुँदा अस्पतालको विकास, सेवाविस्तार र सेवाको गुणस्तरमा ठूलो क्षति पुग्ने गरेको छ, जसको प्रत्यक्ष मार आमसेवाग्राहीले खेपिरहेका छन् ।

त्यसकारण, मेसुको कार्यकाल निश्चित अवधिका लागि तोकिनुपर्ने बताउँछन्, प्रदेश ३ का सांसद तथा भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी । ‘एउटा मेसुले एउटा सोच लिएर काम थालेको हुन्छ, तर पूरा गर्न नपाउँदै हटिसकेको हुन्छ,’ सुवेदीले भने, ‘सरकारी अस्पतालको विकासका लागि मेसुको कार्यकाल कम्तीमा दुई वर्ष तोकिनुपर्छ ।’

प्रदेश सांसद सुवेदीले यसअघि भरतपुर अस्पताल विकास समितिको अध्यक्षका रुपमा २ वर्ष जिम्मेवारी सम्हालिसकेका छन् । ०७१ देखि ०७३ सम्म अध्यक्ष रहँदा अस्पतालमा ६ पटक मेसु परिवर्तन भएको अनुभव सुवेदीसित छ । यसरी ४ महिनाको औसतमा मेसु परिवर्तन हुँदा अस्पतालको दिगो विकासमा अवरोध आउने उनी बताउँछन् । राजनीतिक पहुँच र निकटताका आधारमा नभई व्यक्तिको कार्यकौशल र क्षमताका आधारमा मन्त्रीले मेसु चयन गर्नुपर्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय