मेडिकल अधिकृतमा सातौँ तहका चिकित्सक माग गर्ने काठमाडौं महानगरको सूचना सच्याउन चिकित्सक संघको माग, ऐनविपरीत भएको ठहर

काठमाडौं महानगरपालिकाले निकालेको मेडिकल अधिकृतको मागसम्बन्धी सूचनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । महानगरले बुधबार प्रकाशन गरेको आवश्यकताको सूचनामा मेडिकल अधिकृत सातौँ तह भनी माग गरेपछि संघले शुक्रबार त्यसलाई सच्याउन महानगरलाई पत्र लेखेको हो ।

संघले महानगरको उक्त सूचनामा मेडिकल अधिकृत पदका लागि निर्धारण गरिएको सातौँ तहको योग्यता प्रचलित स्वास्थ्यसेवा ऐनको मर्म र भावनाविपरीत भएको ठहर गरेको छ । संघले अन्तर्राष्ट्रिय अभ्यासहरूका आधारमा सर्कक्षेत्रलगायत विभिन्न देशको उदाहरणसहित चिकित्सकको सुरु नियुक्ति नवौँ तहबाट हुनुपर्ने माग गर्दै आएकोमा नेपाल सरकारले ०६४ मा स्वास्थ्यसेवा ऐन संशोधन गरी चिकित्सकको सुरु नियुक्ति आठौँ तहबाट गर्ने प्रावधान ल्याएको थियो । तर, महानगरले त्यसविपरीत मेडिकल अधिकृतमा सातौँ तहको योग्यतासहितको सूचना गरी गरेपछि संघले महानगरलाई सच्याउन आग्रह गरेको हो ।

महानगरका कार्यकारी प्रमुखलाई सम्बोधन गरी संघका महासचिव डा. लोचन कार्कीले लेखेको पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको सूचना १÷०७५–७६ मिति २०७६–०२–०८ मा प्रकाशित सूचनाअनुसार मेडिकल अधिकृत सातौँ तह भनी माग गरिएको हुनाले उक्त सूचना प्रचलित स्वास्थ्यसेवा ऐनको भावना र मर्मविपरीत भएको ब्यहोरा जानकारी गराउँदै अविलम्ब उक्त सूचना सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय