स्वास्थ्यराज्यमन्त्रीको माग पूरा गर्ने प्रतिबद्धतासँगै नर्स बरालले तोडिन् १४ दिनदेखिको अनशन

समग्र नर्सिङ क्षेत्रको सुधार र नर्सिङ पेसा र नर्सहरुमाथिको विभेदको अन्तका लागि  १४ दिनदेखि अनशनमा रहेकी नर्स जिता बरालले बिहीबार साँझ अनशन तोडेकी छिन् ।

स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले माग पूरा गर्ने मौखित सहमतिसहितको आश्वासन दिएसँगै उनले मन्त्रीकै हातबाट जुस पिएर दुई साता लामो अनशनलाई विराम दिएकी हुन् । यद्यपि, उनका मागबारे औपचारिक रुपमा सम्झौताको तहसम्म वार्ता भएको भने सार्वजनिक भएको छैन । अनशन तोड्नेक्रममा कुनै लिखित सहमति नभई राज्यमन्त्रीले माग पूरा गर्ने मौखिक सहमति गरेको जनाइएको छ ।

नर्सिङ क्षेत्रको सुधारका लागि १० बुँदे माग अघि सार्दै बरालले २७ वैशाखमा आमरण अनशन सुरु गरेकी थिइन् । प्राध्यापन पेसा छोडेर समग्र नर्सिङ क्षेत्रको सुधारका लागि अभियान छेडेकी बरालले महिनौँसम्म बेथिति र अन्यायको अन्तका लागि पहल गर्नका लागि नर्सिङ संघलाई घच्घच्याउँदा सफल हुन नसकेपछि आमरण अनशनको बाटो रोजेकी थिइन् । नर्सिङ संघको प्रांगणबाटै आमरण अनशन सुरु गरेकी बरालको स्वास्थ्यमा समस्या आएपछि केही दिनमै उनलाई वसुन्धारास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार नै नर्सहरुले संघर्ष समिति नै बनाएर अनशनरत बरालको जीवनरक्षाका लागि कडा आन्दोलनका कार्यक्रम ल्याउन नेपाल नर्सिङ संघमाथि दबाब सिर्जना गरेका थिए । त्यसपछि डा. गोविन्द केसी अलायन्सले पनि बरालको आभियानमा समर्थन गरेको थियो । यसअघि नै चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले बरालको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइसकेका थिए ।

उनले बुधबार मात्र अनशनरत अस्पतालबाटै प्रधानमन्त्री केपी ओलीलाई आफ्ना माग पूरा गर्न अनुरोध गर्दै खुला पत्रसमेत लेखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय