अनशनरत नर्सको कथा : प्राध्यापकबाट राजीनामा दिएर नर्सिङ बेथितिविरुद्ध अनशन

बिपी स्मृति अस्पतालको तेस्रो तलामा बेड नं ३२६ मा एक नर्स भोकभोकै सुतिरहेकी छिन् । बेडको माथि लेखिएको छ– आमरण अनशनको १२ औँ दिन ।
नर्समाथि भएको श्रमशोषणको मुद्दालाई लिएर पोखराकी नर्स जिता बराल आमरण अनशनमा छिन् । उता भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा लामो समयदेखि करारमा कार्यरत डिकी शेर्पा आफ्नो पेसागत स्थायित्वको माग राखी अनशनरत रहँदा जिता भने भइरहेको जागिर राजीनामा दिएर समग्र नर्सिङ क्षेत्रको सुधारका लागि अनशनमा होमिएकी हुन् ।

हाल नेपालमा ८७ हजारको हाराहारीमा नर्सिङ जनशक्ति उपलब्ध भएको नर्सिङ काउन्सिलको तथ्यांक छ । तर, उपलब्ध जनशक्तिमध्ये आधाजसो बेरोजगार छन् । नर्समाथि अस्पतालहरूले चरम शोषण गर्ने गरेका छन् । आमरण अनशनमा रहेकी बराल भन्छिन्, ‘सरकारी अस्पतालमा पनि श्रमको उचित पारिश्रमिक दिइएको छैन भने निजीमा त झन् नर्सको अत्यन्तै दयनीय अवस्था छ ।’
नर्सको हितका लागि सरकारले भएको नीतिलाई पनि कार्यान्वयन नगरिरहेको अवस्था छ । यसका कारण नर्सले गुणस्तरीय सेवा दिन नसकेको हामीसामु स्पष्ट छ । यसको प्रत्यक्ष असर बिरामीको स्वास्थ्यमा परिरहेको छ ।

किन आयो अनशन बस्नुपर्ने अवस्था ?
सुरुमा जिताले नर्सहरूको समस्यालाई लिएर संगठित आवाजका खातिर नर्सको हकहितका लागि स्थापित पेसागत संगठन नर्सिङ संघ, नेपालमा पहल गरिन्, गर उनको सुनुवाइ भएन । ‘नर्सहरूको समस्यालाई लिएर १७ दिनसम्म नर्सिङ संघ, नेपालमा आवाज उठाउँदा पनि यो विषयलाई ओझेलमा राखेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउनतिर मात्र संघको ध्यान केन्द्रित भयो,’ उनी भन्छिन्, ‘पछि मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरूले पनि श्रमशोषणमा परेको भन्दै संघमा गुनासो पोख्दा उनीहरूको केही सुनुवाइ भएन ।’

नर्समाथिको श्रमशोषणविरुद्ध आवाज उठाउनु नै उनको अनशनको प्रमुख उद्देश्य हो । ‘नर्सलाई अस्पतालमा मासिक ५ हजार दिएर काममा लाइराखिएको अवस्था छ,’ उनी भन्छिन्, ‘एकातिर आर्थिक शोषण भइरहेको छ भने अर्कोतिर जुन संख्यामा नर्स उत्पादन भइरहेका छन्, तिनमा आवश्यक गुणस्तरीयता छैन, न त उत्पादित जनशक्तिको व्यवस्थापन नै छ ।’

पेसागत हित र अधिकारका लागि स्थापित संगठनले नै आफ्ना सदस्यहरूको पीडा नबुझेपछि व्यक्तिगत रूपमै भए पनि लड्नुको विकल्प नभएको जिता बताउँछिन् । ‘नर्सिङ संघले सबै नर्सको आवाज बोक्नुपर्ने हो, तर उल्टै नर्सहरूका मागलाई नाजायज भनेर दमन गर्ने काम गर्यो,’ उनी भन्छिन्, ‘संघले नै यस्तो अवस्था सिर्जना गरेपछि हामी नर्सले कसको सहारा खोज्ने ?’
संघले नर्सको आवाज उठाउनुको साटो उल्टै आवाज दबाउने, प्रहरी दमन गर्ने, नर्सलाई गाली–गलौज गर्ने अवस्था आएपछि अनशन बस्नुपरेको बरालको भनाइ छ ।

नर्सिङ क्षेत्रको बेथिति विसंगतिको चिरफारका लागि अनशन

जिताले २७ वैशाख, दिउँसो २ बजेबाट नर्सिङ संघ नेपालको प्रांगणमा आमरण अनशन सुरु गरिन् । तर, खुला ठाउँमा बसेका कारण छातीमा संक्रमण भएपछि उनी अस्पताल भर्ना हुनुपर्यो ।
नर्समाथिको श्रमशोषणविरुद्ध आवाज उठाउनु नै उनको अनशनको प्रमुख उद्देश्य हो । ‘नर्सलाई अस्पतालमा मासिक ५ हजार दिएर काममा लाइराखिएको अवस्था छ,’ उनी भन्छिन्, ‘एकातिर आर्थिक शोषण भइरहेको छ भने अर्कोतिर जुन संख्यामा नर्स उत्पादन भइरहेका छन्, तिनमा आवश्यक गुणस्तरीयता छैन, न त उत्पादित जनशक्तिको व्यवस्थापन नै छ ।’
विश्व स्वास्थ्य संगठनले एक नर्सले जनरल वार्डमा अधिकतम ६ जनासम्म बिरामी हेर्न सक्ने मापदण्ड निर्धारण गरेको छ । यही नीतिअनुसार नेपाल सरकारले पनि मापदण्ड तय गरेको छ । तर, व्यवाहरमा भने सरकारले नै लागू गरेको छैन । नेपालमा ठूला सरकारी अस्पतालमै एक नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यताका कारण नर्सले कामको अत्यधिक बोझ खेप्नुपरिरहेको छ । यसका कारण नर्सले बिरामीलाई दिनुपर्ने सेवा पनि खस्किएको अवस्था छ ।

प्रत्यारोपण केन्द्रका नर्समाथि पनि विभेद भइरहेको बराल बताउँछिन् । उनका अनुसार करारमा ७–८ वर्षसम्म काम गरेका नर्सलाई सञ्चालन गर्ने नर्सिङ निर्देशक तथा इन्चार्जका लागि लोकसेवाको आवश्यकता छ । तर, उनीहरूका लागि लोकसेवा नखुलाइए बताउँदै उनले एउटा संस्था सञ्चालनका लागि आवश्यक सम्पूर्ण जनशक्ति लोकसेवाको प्रक्रियाबाट चयन गर्नुपर्ने जनाइन् । ‘किन ७ वर्षसम्म लोकसेवा खुलाइएन ?’ उनी प्रश्न गर्छिन्, ‘जब कि, करारमा ६ महिनाभन्दा बढी राख्न नपाउने व्यवस्था छ ।’

सरकारकै मापदण्डअनुरूप स्वास्थ्यसंस्थामा नर्सिङ जनशक्ति उपलब्ध गराउने हो भने भन्डै ३४ हजार नर्स सरकारी स्वास्थ्यसंस्थामा मात्रै तत्काल आवश्यक देखिन्छ । तर विडम्बना, एकातिर जनशक्ति अभावमा जनता गुणस्तरीय स्वास्थ्यसेवाबाट वञ्चित छन् भने अर्कातर्फ आधा लाखको हाराहारीमा नर्सिङ जनशक्ति बेरोजगारीको पीडा खेपिरहेको छ ।

प्रत्यारोपण केन्द्रका निर्देशक कुशल प्रशासक बन्न नसक्दा त्यहाँ कार्यरत कर्मचारी अन्यायमा परेको उनको बुझाइ छ । ‘प्रत्यारोपण केन्द्रका निर्देशक पनि चिकित्सक त हुनुभयो, तर कुशल प्रशासक बन्न सक्नुभएन,’ बराल भन्छिन्, ‘दुई सयभन्दा बढी कर्मचारी करारमा छन्, जसको जिन्दगीमा ठूलो खेलबाड गरिएको छ । कतिपयको लोकसेवा दिन पाउने उमेर कटिसकेको छ । यत्रो वर्षसम्म संस्थाको हितमा काम गर्ने कर्मचारीलाई खाली हात फर्काउन मिल्छ ? उनीहरूमाथि अन्याय भएन ?’

को हुन् बराल ?
स्याङ्जा स्थायी घर भएकी बराल दुई दशकदेखि नर्सिङ पेसामा आबद्ध छिन् । उनले बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सका रूपमा पेसा सुरु गरेकी थिइन् । उनले पोखरा मणिपाल अस्पतालमा केही समय पेसालाई निरन्तरता दिँदै स्नातक तहको अध्ययन पूरा गरेर पछि नर्सिङ कलेजमा पढाउन थालिन् ।

हाल फिस्टेल नर्सिङ क्याम्पसकी प्राध्यापक हुन् बराल । ११ वर्षसम्म निरन्तर नर्सिङ क्याम्पसमा काम गरेकी बराल हाल नर्सिङ क्षेत्रमा व्याप्त बेथिति, विसंगतिविरुद्ध सुधारको अभियान चलाउन जागिर राजीनामा दिएर लागिपरेकी छिन् । गत मंसिरदेखि धेरै अस्पतालमा पुगेर आफूले नर्सका समस्याबारे आवाज उठाएको बराल बताउँछिन् । ‘ठेक्कापट्टामार्फत समेत नर्स राख्ने चलन सुरु भएको छ । किस्ट मेडिकल कलेज र चितवन मेडिकल कलेज (सिएमसी)ले नर्सलाई ठेक्कापट्टाद्वारा राखेका थिए,’ बराल भन्छिन्, ‘जहाँ ५ हजारमा नर्सहरू आफ्नो श्रम बेचिरहेका थिए । त्यसविरुद्ध हामीले १५ दिन अस्पताल प्रशासनसँग संघर्ष गर्यौँ, १६औँ दिनमा १७ हजारको नियुक्तिपत्र दिलाउन सफल भयौँ ।’

यस्ता घटना ठूला अस्पतालमा अझै पनि विद्यमान राहेको र झन् मौलाउँदै गएको उनको ठम्याइ छ । नेपालमा ८७ हजारको हाराहारीमा नर्सको उत्पादन भए पनि एकतिहाइले पनि सरकारी अस्पतालमा सेवाको अवसर पाएका छैनन् । यद्यपि, सरकारकै मापदण्डअनुरूप स्वास्थ्यसंस्थामा नर्सिङ जनशक्ति उपलब्ध गराउने हो भने भन्डै ३४ हजार नर्स सरकारी स्वास्थ्यसंस्थामा मात्रै तत्काल आवश्यक देखिन्छ । तर विडम्बना, एकातिर जनशक्ति अभावमा जनता गुणस्तरीय स्वास्थ्यसेवाबाट वञ्चित छन् भने अर्कातर्फ आधा लाखको हाराहारीमा नर्सिङ जनशक्ति बेरोजगारीको पीडा खेपिरहेको छ ।

यस्ता छन् बरालका ५ बुँदे माग
१. नेपालमा ८५ हजार नर्सिङ जनशक्ति उत्पादन गरी अव्यवस्थित नर्सिङ सेवालाई विश्व स्वास्थ्य संगठनको नीतिअनुसार नेपाल सरकारले अविलम्ब लागू गर्नुपर्ने ।
२. नेपालमा नर्सहरूलाई उत्पादन गर्ने, उच्च शिक्षासमेतमा भएको हक विभेदलाई हटाई अरु जनशक्तिसरहको शैक्षिक सुविधा, अवसर, तालिम प्रादन गर्नुपर्ने ।
३. नर्सलाई भोकोपेट काम गराई मानसिक, सामाजिक र संवेगात्मक शोषणसहित चरम आर्थिक शोषणको अन्य गरिनुपर्ने ।
४. नर्सको उत्पादनको योजना र उत्पादित जनशक्तिलाई उचित व्यवस्थापन गरी सम्मानजनक सेवा गर्ने सुरक्षासहितको वातावरण सिर्जना गराउने ।
५. शैक्षिक कार्यक्रम र नर्सिङ सेवाको गुणस्तरीयतामा कुनै पनि सम्झौता नगर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय