कलेजो प्रत्यारोपणको सुस्ततम गति : ४ अस्पताल, २ प्रत्यारोपण ! नयाँ निजीले देलान् त राहत ?

चिकित्साविज्ञानमा जटिलतम सेवामध्ये मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा अनुमति पाउने स्वास्थ्यसंस्थाको संख्या ४ पुगेको छ । स्वास्थ्यसेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले पछिल्लोपटक निजीस्तरमा सञ्चालित फोफसलका दुई मेडिकल कलेजलाई प्रत्यारोपण अनुमति दिएसँगै कलोजो प्रत्यारोपण अनुमति पाउने स्वास्थ्यसंस्था ४ पुगेका हुन् । पछिल्लोपटक चितवनका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले कलेजो प्रत्यारोपण अनुमति पाएका छन् । सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले यसअघि नै कलोजो प्रत्यारोपण अनुमति पाइसकेका छन् ।

प्रत्यारोपण अनुमति पाउने स्वास्थ्यसंस्था थपिरहँदा कलेजो प्रत्यारोपणको अवस्था भने शून्यप्रायः नै छ । पहिलोपटक दुई बिरामीमा कलेजो प्रत्यारोपण गराएको मानव अंग प्रत्यारोपण केन्द्रले पनि त्यसपछि प्रत्यारोपणलाई निरन्तरता दिन नसकेको अवस्था छ । त्रिवि शिक्षणले भने करिब ४ महिनाअघि नै अनुमति पाएर प्रत्यारोपणका सम्पूर्ण तयारी पूरा भएको जनाए पनि हालसम्म प्रत्यारोपण सुरु गर्न सकेको छैन ।

अनुमति पाएसँगै सम्पूर्ण तयारी पूरा भइसकेकाले एक महिनाभित्रै सेवा सुरु गर्ने जनाएको देशकै उपचारको केन्द्र मानिने त्रिवि अस्पतालले ४ महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसक्नुले कलेजो प्रत्यारोपणको संवेदनशीलता र जटिलतालाई उजागर गर्छ ।

विशेषगरी, कलेजो लिने व्यक्तिको दिने व्यक्ति (डोनर)सँगको रक्तसमूह, कलेजोको आकार, शरीरको एनाटोमी, कानुनले निर्धारण गरेको परिधिभित्रको नाता मेल खान नसक्नु नै प्रत्यारोपणमा ढिलाइको प्रमुख कारकतत्व रहेको अस्पतालका सम्बन्धित विज्ञहरूको भनाइ छ ।

किन सकेनन् अनुमति पाएकाले सेवालाई निरन्तरता दिन ?
कलेजो प्रत्यारोपण सेवा चिकित्साविज्ञानकै जटिलतम र संवेदनशील सेवा भएकाले यसको सफल क्रियान्वयनका लागि प्राविधिक सम्पन्नता, विशेषज्ञ चिकित्सक तथा अन्य आवश्यक दक्ष जनशक्तिको पर्याप्त उपलब्धता, पूर्वाधार तथा अत्याधुनिक यन्त्र–उपकरणहरूको सुलभ उपलब्धता, बिरामीको आर्थिक क्षमता त अत्यावश्यक छ नै, त्यसका अलावा कलेजो लिने र दिने व्यक्तिबीचको आंगिक, जैविक, कानुनी र सहमतिगत मेल पनि उत्तिकै आवश्यक हुन्छ ।

त्रिवि शिक्षण अस्पतालले सम्पूर्ण पूर्वाधार, प्रविधि र जनशक्तिगत तयारी पूरा भएको घोषणासहित एक महिनाभित्र प्रत्यारोपणलाई मूर्त रूप दिन प्रारम्भ गर्ने जनाएको ४ महिनाभन्दा बढी बितिसक्दा पनि प्रत्यारोपण सुरु हुन नसक्नुपछाडिको प्रमुख कारण बिरामीसित अंगदाताका आवश्यक पक्षहरूको मेल गराउन नसक्नु रहेको अस्पतालले जनाएको छ ।

विशेषगरी, कलेजो लिने व्यक्तिको दिने व्यक्ति (डोनर)सँगको रक्तसमूह, कलेजोको आकार, शरीरको एनाटोमी, कानुनले निर्धारण गरेको परिधिभित्रको नाता मेल खान नसक्नु नै प्रत्यारोपणमा ढिलाइको प्रमुख कारकतत्व रहेको अस्पतालका सम्बन्धित विज्ञहरूको भनाइ छ । यसका अतिरिक्त केही हदसम्म बिरामीमा प्रत्यारोपणका लागि आवश्यक महँगो शुल्क तिर्न सक्ने क्षमता अभाव पनि समस्याकै रूपमा छ ।

यसअघि नै दुई बिरामीमा सफल प्रत्यारोपण गरेर कलेजो प्रत्यारोपणको क्षेत्रमा चिकित्सक तथा अन्य स्वस्थ्यसंस्थाको पनि प्रेरणाको स्रोत बनेको मानव अंग प्रत्यारोपण केन्द्रले पनि प्रत्यारोपणलाई निरन्तरता दिन नसक्नुलाई भने विशेषज्ञहरू तयारीको कमीका रूपमा विश्लेषण गर्छन् । उपचारको संवेदनशीलता, जोखिम र जटिलताअनरूप त्यसलाई चिर्न सक्ने तहको पूर्वाधारलगायत सम्पूर्ण पक्षको तयारी हुन नसक्दा नै प्रत्यारोपणले निरन्तरता पाउन नसकेको उनीहरूको भनाइ छ ।

सोमबार प्रत्यारोपण अनुमतिको पत्र पाएकामध्ये कलेज अफ मेडिकल साइन्सेसले एकदेखि दुई महिनाभित्र कलेजो प्रत्यारोपणसेवालाई मूर्त रूप दिने जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि बिरामी र अंगदाता पनि छनोट भइसकेको छ । विश्वविख्यात कोरियन विशेषज्ञ टोलीको नेतृत्व, भारतीय विशेषज्ञसमेतको संलग्नतामा प्रत्यारोपणको सुरुवात गरिने अस्पतालको भनाइ छ

नयाँ अनुमति पाएका निजीले सक्लान् त सेवालाई मूर्त रूप दिन ?
सोमबार प्रत्यारोपण अनुमतिको पत्र पाएकामध्ये कलेज अफ मेडिकल साइन्सेसले एकदेखि दुई महिनाभित्र कलेजो प्रत्यारोपणसेवालाई मूर्त रूप दिने जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि बिरामी र अंगदाता पनि छनोट भइसकेको छ । विश्वविख्यात कोरियन विशेषज्ञ टोलीको नेतृत्व, भारतीय विशेषज्ञसमेतको संलग्नतामा प्रत्यारोपणको सुरुवात गरिने अस्पतालको भनाइ छ । ‘हामीकहाँ  डा. प्रवीण जोशीलगायत कलेजो प्रत्यारोपणका विशेषज्ञ सर्जनहरू कार्यरत हुनुहुन्छ, जसले विभिन्न समयमा भारतका प्रतिष्ठित अस्पतालहरूमा कलेजो प्रत्यारोपणमा सफल सहभागिता जनाइसक्नुभएको छ,’ अस्पताल स्रोतले भन्यो ।

करिब ४ वर्षअघि नै सन् २०१५ अप्रिलमा मिर्गौला प्रत्यारोपण अनुमति पाई सेवालाई निरन्तरता दिइरहेको र सार्क क्षेत्रकै पहिलो सर्जिकल मेडिकल कलेजका रूपमा समेत परिचय बनाएकाले पनि कलेजो प्रत्यारोपणमा पनि आत्मविश्वास बलियो रहेको अस्पतालको दाबी छ । यद्यपि, तोकिएकै समयमा सेवा सुरु हुँदा पनि प्रत्यारोपण सेवाले पाउने निरन्तरताका विषयमा भने मानव अंग प्रत्यारोपण केन्द्रकै अवस्था नहोला भन्न सकिँदैन । यसबारे अस्पताल स्रोत भन्छ, ‘कलेजो प्रत्यारोपणजस्तो जटिल विषय, त्यसमाथि पनि नेपालजस्तो देशमा ‘रेयर’ नै हुने गर्छ । त्यसैले सेवाले गति लिने विषय बिरामीका विविध पक्षमा निर्भर गर्छ ।’

त्यसैगरी मिर्गौलासँगै कलेजो प्रत्यारोपणको अनुमति पाएको चितवन मेडिकल कलेज (सिएमसी)मा कलेजो प्रत्यारोपण विशेषज्ञका रूपमा डा. छेतेन योन्जन तामाङ, डा. वरुण श्रेष्ठलगायत विशेषज्ञ चिकित्सक कार्यरत छन् । सिएमसीलाई सबैभन्दा राम्रो आइसियू ब्याकअप भएको अस्पतालका रूपमा समेत हेर्ने गरिएको छ । चितवनका यी दुवै मेडिकल कलेजले स्वास्थ्यसेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको १६ वैशाखको निर्णयबाट प्रत्यारोपण अनुमति पाएका हुन् ।

नेपालमा एकतिहाइभन्दा पनि कम खर्च
प्रत्यारोपणमा नेपाल आत्मनिर्भर नहुँदा ठूलो संख्याका बिरामी भारतलगायत विदेशी मुलुकहरूमा महँगो मूल्यमा सेवा लिन बाध्य छन् । विभिन्न कारणले लिभरसिरोसिस भई पूर्ण रूपमा ड्यामेज भएको कलेजोलाई फालेर स्वस्थ कलेजो भएको अन्य व्यक्तिको केही भाग काटेर प्रत्यारोपण गरिन्छ । कानुनतः अंग प्रत्यारोपणका लागि चिकित्सक र संस्था दुवै सूचीकृत भएर अनुमति लिनुपर्छ । प्रत्यारोपण गरेको बिरामीलाई उच्च निगरानी र हेरचाहका साथ राख्नुपर्छ । त्यसैले कति प्रत्यारोपण गर्ने भन्ने अस्पतालको क्षमतामा भर पर्छ ।

यसअघि नै अनुमति पाएका सरकारीस्तरका दुई अस्पतालमध्ये मानव अंग प्रत्यारोपण केन्द्रले ३ वर्षअघि नै २ सफल प्रत्यारोपण गरे पनि सेवालाई निरन्तरता दिन सकेको छैन भने उच्च क्षमताको त्रिवि शिक्षण अस्पतालले अझै सुरु गरेको छैन ।

कलेजो प्रत्यारोपण सेवा नियमित गर्न सकेमा नेपालमा उपचारका लागि धान्ने नसक्ने बिरामी आउने विशेषज्ञहरू बताउँछन् । यहाँको सुलभ मूल्यका कारण बाहिरी मुलुकबाट पनि बिरामी आकर्षित हुने उनीहरूको अनुमान छ । नेपालमा कलेजो प्रत्यारोपणका लागि करिब २० देखि २५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ, जुन छिमेकी देश भारतको तुलनामा एकतिहाइभन्दा पनि कम हो । भारतमा कलेजो प्रत्यारोपण गरेबापत बिरामीले ७० लाखभन्दा बढी खर्च गर्नुपर्ने बताइन्छ । अस्पतालमा हुने यो खर्चबाहेक पनि बिरामी कुरुवालगायत अनेकन खर्च जोडिने जानकारहरू बताउँछन् ।

अमेरिकाका वरिष्ठ सर्जन डा. थोमस स्टार्लले सन् १९६३ मा पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेका थिए भने पहिलो सफल कलेजो प्रत्यारोपण सन् १९६७ मा भएको थियो । नेपालमा भने मानव अंग प्रत्यारोपण केन्द्रले विदेशी विशेषज्ञ टोलीसमेतको सहयोग र संलग्नतामा वि.सं. ०७३ मा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेको थियो । दुई बिरामीमा सफल प्रत्यारोपण गरिए पनि पर्याप्त तयारी अभावमा सेवाले निरन्तरता भने पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय