बर्सेनि थपिन्छन् २६ हजार मोतिविन्दुका बिरामी, यस्ताे छ उपचारविधि

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख ३० गते १३:४६

आँखा स्वास्थ्यमा नेपालले उल्लेखनीय उपलब्धी हाँसिल गरिरहेपनि अहिले पनि रोगबारे प्रयाप्त जानकारीको अभावमा ग्रामीणमा ठूलो संख्यामा मानिसहरु उपचार संभव हुने मोतिविन्दुको समस्या पालेरै बसेका छन् । जनचेतनाकै अभावमा अहिले पनि मोतिविन्दुलाई रोगभन्दा पूर्वजन्मको पाप र देविदेवताको श्राप ठानेर उपचारमा नजानेहरुको संख्या अधीक रहेको विभिन्न तथ्यांकले देखाएको छ ।

चिकित्सकहरुका अनुसार मोतियाविन्दुरोग खासगरी ४०–४५ वर्ष नाघेका जोसुकैलाई लाग्न सक्छ । यो विश्वव्यापी आँखाको समस्या हो । नेपालमा सन् १९८१ मा गरिएको सर्वेक्षणले झन्डै ८० हजार मानिस मोतियाविन्दुका कारण अन्धो भएको देखाएको थियो ।त्यसयता बर्सेनि सरदर २६ हजार मोतिविन्दुका थपिने गरेको पाइएको छ । मोतियाविन्दुका कारण अन्धोपनको सिकार भएका मध्ये झन्डै ८० प्रतिशत बिरामी ग्रामीण भेगका बासिन्दा रहेको र कतिपयले आँखा नदेख्ने हुनाको कारण पूर्वजन्मको पाप वा देवी–देवताको श्राप लागेको सम्झेर उपचार नगराउनाले सधैँका लागि अन्धकारमय जीवन बिताइरहेको आकलन गरिएको छ ।

के हो मोतिविन्दु
उमेर तथा अन्य कारणले मानिसको आँखाको कालो नानीपछाडिको पारदर्शक लेन्स बादल लागेझैँ अपारदर्शक हुन जान्छ, जसले गर्दा बाहिरको प्रकाश आँखाभित्रको दृष्टिपर्दासम्म पुग्न पाउँदैन र आँखाले देख्न छोड्छ । आँखाको यही रोगलाई मोतियाविन्दु भनिन्छ । कालो देखिनुपर्ने गोलो नानी सेतोजस्तो देखिने भएकाले नै यस रोगलाई मोतियाविन्दु भनिएको हो ।

मोतियाविन्दुका कारण
मोतियाविन्दु अनेक कारणले हुन्छ । मोतियाविन्दुपीडितको झन्डै ८० प्रतिशत ४० वर्षमाथिका बिरामी पाइएका छन् । त्यसैले बढ्दो उमेरलाई मोतियाविन्दुको प्रमुख कारण मानिएको छ । उमेरका अलावा आँखामा लाग्ने चोटपटक, मधुमेह, कुपोषण, आँखाका अन्य संक्रमण, स्टेराइड औषधिको दुष्प्रभावलगायत पनि मोतियाविन्दुका कारक हुन् । यसबाहेक अधिक समय खुला आकाशमा काम गर्नेहरूमा र तातो चिजको सम्पर्कमा रही काम गर्नेहरूमा विकिरणका कारण मोतिविन्दुको जोखिम अत्यधिक पाइएको छ । मोतियाविन्दु जन्मजात पनि हुन सक्छ । जन्मजात मोतियाविन्दुको एउटा कारण वंशानुगत हो । अर्को भनेको बच्चा गर्भमा रहेको पहिलो ३ महिनाभित्र गर्भवतीमा रुवेल्ला नामक भाइरसको संक्रमण भई दादुरा आएमा बच्चा जन्मँदै मोतिविन्दु भएर जन्मिने सम्भावना हुन्छ ।

लक्षण
मोतियाविन्दुको सुरुवात भएपछि एउटा वा दुवै आँखामा बिस्तारै धमिलोपन महसुस हुन थाल्छ । चोटपटक तथा अन्य कारणका अलावा उमेरका कारण हुने मोतियाविन्दुमा आँखा दुख्ने, पोल्ने वा रातो हुने हुँदैन । मोतियाविन्दु सुरु भएको आँखाले टाढाका वस्तुहरू हेर्दा बिस्तारै आकृति धमिलो हुँदै जान्छ र केही महिनापछि पूरै नदेख्ने हुन्छ । हेर्दा कालो देखिने आँखाभित्रको गोलो सानो नानी खैरो वा सेतो हुँदै जानु मोतियाविन्दु सुरु भएको प्रमुख लक्षण हो । सामान्यतया ४० वर्ष उमेर नाघेपछि आँखा धमिलो हुँदै जानु र कालो नानी सेतो देखिनु नै मोतियाविन्दुका लक्षण हुन् ।

उपचारविधि

मोतियाविन्दु निको पार्ने एउटै मात्र उपाय शल्यक्रिया हो । संसारभर कतै पनि मोतियाविन्दुको खाने तथा लाउने औषधि हालसम्म बनेको छैन । यो रोगका कारण आफूलाई दैनिक कामकाजमा असुविधा भएको छ भने आँखा विशेषज्ञको सल्लाहअनुसार यसको शल्यक्रिया गराउन सकिन्छ । मोतियाविन्दुको शल्यक्रिया बिरामीलाई बेहोस नबनाई केही छिनमै सम्पन्न गर्न सकिन्छ ।शल्यक्रियाका माध्यमबाट जालो लागेको अर्थात् अपारदर्शक लेन्सलाई निकाली कृत्रिम लेन्स राखिन्छ, जसबाट आँखाले पहिलेजस्तै सफा देख्न थाल्छ । जन्मजात रूपमै मोतियाविन्दु भएको छ भने त्यसको उपचार छिटोभन्दा छिटो गर्नुपर्ने हुन्छ ।

मोतियाविन्दु भई आँखाले कत्ति पनि नदेख्ने भए पनि चारैतिरबाट आएको उज्यालो भने ठम्याउन सक्छ । शल्यक्रियापश्चात् भने पूर्णतः देख्ने बनाउन सकिन्छ । तर, मोतियाविन्दु भएको आँखाले ३ गजभन्दा टाढाको वस्तुलाई राम्रोसँग ठम्याउन सक्दैन भने जतिसक्दो छिटो शल्यक्रिया गराउनु आवश्यक हुन्छ ।शल्यक्रिया गराउनुपर्ने अवस्थामा पनि नगराई बसेमा मोतियाविन्दुका कारण अन्धोपन पनि हुन सक्छ । त्यसैले शंकास्पद लक्षण देखिएपछि समयमै चिकित्सकको परामर्शमा शल्यक्रिया गर्नु बुद्धिमानी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय