अस्पतालमा बच्चा छाडेको आरोपमा पक्राउ साह दम्पती प्रहरी हिरासतमै अनशनमा, स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

मेडिकल अस्पतालमा बच्चा छाडेको आरोपमा पक्राउ परेका पूर्व सभासद गायत्री साह र उनका पति राजेश महतोले हिरासतमै अनशन थालेपछि उनीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।उनीहरु दुबैलाई प्रहरीले पाटन अस्पतालको आकस्मिक कक्षामा पुर्याएपछि दुबै जनाको उपचार भइरहेको छ ।

गत आइतबार पक्राउ परेका दम्पतीलाई प्रहरीले छुट्टाछुट्टै ठाउँमा राखेको छ । सातदोवाटो प्रहरी वृतमा राखिएकी गायत्रीले शुक्रबार विहान अचानक वेहोस हुने अवस्थामा पुगेपछि उनी आफैले अस्पताल लैजान माग गरेको गायत्रीका भाई सुवोधले जानकारी दिए ।

गायत्रीले तत्काल अस्पताल लैजान माग गरेपनि प्रहरीले दिउसोमात्रै पाटन अस्पताल पुर्याएको थियो । उनलाई अस्पताल पुर्याएको केही समयपछि प्रहरी परिसर जावालाखेलमा राखिएका राजेशलाई पनि प्रहरीले अस्पताल पुर्याएर उपचार सुरु गरेको छ । भाई सुवोधका अनुसार हिरासतमा राखिएका दम्पतिलाई आफन्तलाई भेट्न समेत बञ्चित गरिएको हो ।

गर्भवती अवस्थामा मेडिसिटी अस्पतालमै जाँच गराइरहेकी साहको चैत २८ गते अस्पतालमा सुत्केरी गराइएको थियो । तर, नवजात शिशुमा बच्चामा डाउन सिन्ड्रम जन्मिएपछि साहले अस्पतालको लापरवाहीका कारण यस्तो भएको भन्दै बच्चाको जिम्मेवारी अस्पतालले नै लिनुपर्ने माग गर्दै आएकी छिन् ।
लामो समयदेखि बच्चा लिन नमानेका दम्पतिविरुद्ध अस्पतालले प्रहरीमा उजुरी गरेपनि प्रहरीले उनीहरुलाई पक्राउगरी सोमबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

उनीहरुविरुद्ध आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको थियो । अदालतले सात दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।प्रहरीले दायर गरेको मुद्दा ’मुलुकी अपराध संहिता २०७४’ को दफा १८४ को व्यवस्था अनुसार कसुर प्रमाणित भएमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय