काठमाडौंका सरकारी अस्पतालवरपर सुर्तीजन्य पदार्थको प्रयोग निषेध अभियान, अटेरी गरे जरिवाना

नेपाल प्रहरीले काठमाडौंका सरकारी अस्पतालवरपर धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेविरुद्ध कडा कदम चाल्ने भएको छ । काठमाडौंका ११ सरकारी अस्पतालको सय मिटरवरपरको क्षेत्रलाई सुर्तीजन्य पदार्थ निषेधित घोषणा गरेको प्रहरी आइतबारदेखि कारबाहीमा उत्रने भएको हो । प्रहरीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्नेविरुद्ध सूर्तीजन्य पदार्थ ऐन, २०६८ बमोजिम कारबाही गर्न लागेको हो ।

राजधानीका वीर, त्रिवि शिक्षण, परोपकार प्रसूतिगृह, सैनिक, नेपाल प्रहरी, कीर्तिपुर, गंगालाल, शुक्रराज ट्रपिकल तथा सरुवारोग (टेकु), कान्ति बाल, नरदेवी आयुर्वेद र निजामती अस्पतालको सय मिटरवरपर धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निधेष गरिएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ । सुर्तीजन्य पदार्थ निषेध अभियानलाई चरणबद्ध रूपमा निरन्तरता दिइने जनाउँदै प्रहरीले पहिलो चरणमा सरकारी अस्पतालमा निगरानी बढाउन लागिए पनि बिस्तारै निजी अस्पतालआसपासमा समेत अभियानलाई विस्तार गरिने बताएको छ ।

सिभिलियनको सहयोगमा सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध चरणबद्ध अभियान सुरु गरेको प्रहरीले अनुगमनका लागि समुदाय–प्रहरी साझेदारीअन्तर्गत समितिसमेत गठन गरिसकेको छ

पहिलोपटक सम्झाइ–बुझाइ, दोस्रोपटकदेखि बढ्दोक्रममा जरिवाना
प्रहरीका अनुसार निषेधित क्षेत्रभित्र सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएमा सेवनकर्तालाई पहिलोपटकका लागि सम्झाइ–बुझाइ गरेर छोडिने र दोस्रोपटक पनि नियम उल्लंघन गरेको भेटिएमा जरिवाना गराइनेछ । दोस्रोपटकका लागि ५० रूपैयाँ जरिवाना गराइने र त्यसपछि पनि अटेरी गर्नेको हकमा जरिवाना रकम बढ्दै जाने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि सन्देशमूलक पर्चा तथा बोर्डहरूको समेत प्रयोग गरिनेछ ।

सिभिलियनको सहयोगमा अभियान सञ्चालन
प्रहरीले सुर्तीजन्य पदार्थको प्रयोगमा निषेध अभियान प्रशासनको एकतर्फी बलमा मात्र नभई सिभिलियनको समेत संलग्नता र सहयोगमा सञ्चालन गर्न लागेको हो । अभियान सञ्चालनका लागि प्रहरीले यसअघि नै सरकारी अस्पतालका निर्देशक, तथा चिकित्सकका साथै सम्बन्धित स्थानीय तहका वडा प्रतिनिधिलगायत अन्य सरोकारवाला पक्षसित छलफलसमेत गरिसकेको छ । छलफलसँगै अभियानअन्तर्गत अनुगमनका लागि समुदाय–प्रहरी साझेदारी अनुगमन समितिको गठनसमेत गरिसकेको प्रहरीले जनाएको छ । मानव स्वास्थ्यमा गम्भीर हानि पुर्याउने सुर्तीजन्य पदार्थको जथाभावी प्रयोगविरुद्धको अभियानमा सिभिलियनको आम रूपमा समर्थन र सहयोग रहने अपेक्षा प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय