वीरकोट ‘पूर्ण संस्था सुत्केरी वडा’

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख २५ गते १४:४१

 

 

पूर्वखोला गाउँपालिका–५, वीरकोट पूर्ण संस्था सुत्केरी वडा घोषणा भएको छ । प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले एक कार्यक्रमका बीच वडालाई पूर्ण संस्था सुत्केरी वडा घोषणा गरेका हुन् । वडाभित्र घरदैलो गरी सुरक्षित सुत्केरीको तथ्यांक लिइएको र मापदण्ड पूरा भएको देखिएपछि घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चारपटकसम्म नियमित गर्भ जाँच गर्ने महिलालाई एक क्यारेट अण्डा निःशुल्क दिँदै आएको छ । त्यसैगरी, स्वास्थ्यसंस्थामा सुत्केरी महिलालाई न्यानो झोला र केन्द्र सरकारका तर्फबाट दिइने २ हजार ८ सय रूपैयाँमा गाउँपालिकाका तर्फबाट ६ सय रूपैयाँ थप गरी जम्मा ३ हजार ४ सय रूपैयाँ दिने गरिएको छ । सबै स्वास्थ्यचौकीले विभिन्न माध्यमबाट समुदायमा पुगेर स्वास्थ्यसंस्थामा आएर नियमित गर्भ जाँच सुत्केरी गराउन चेतना फैलाउँदै आएका छन् ।

गत आर्थिक वर्षमा ८० गर्भवती महिलामध्ये वडा-५ को वीरकोटस्थित वीरकोट स्वास्थ्यचौकीमार्फत ७६ गर्भवती महिलाले डेलिभरी सेवा लिएका थिए भने ४ जना महिला स्वास्थ्यसंस्थामा आउँदै गर्दा बाटोमै सुत्केरी भएको भेटिएको स्वास्थ्यचौकीले जनाएको छ । ती ४ महिला साबिकको वडा नं. ९ भोर्से, थुम्बास र वडा-१ को कर्ने डाँडाका हुन्, जुन उक्त गाउँ स्वास्थ्यचौकीदेखि टाढाका गाउँ हुन् । गाउँसम्म मोटरबाटो नपुगेका कारण गाउँबाट स्वास्थ्यसंस्थासम्म गर्भवती महिलालाई ल्याउनका लागि मान्छेले बोक्नुपर्ने अवस्था हुँदा समयमै स्वास्थ्यसंस्था नपुगी बीच बाटोमै सुत्केरी हुने गरेको पाइएको छ ।

९५ प्रतिशतभन्दा बढी महिला स्वास्थ्यसंस्थामा सुत्केरी भएको अवस्थामा पूर्ण सुत्केरी संस्था घोषणा गर्न सकिने प्रावधान रहेको गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले जानकारी दिए । घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्य, गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थलगायतले धारणा राखेका थिए ।

पूर्वखोला गाउँपालिकाका ६ वटै स्वास्थ्यचौकीमा अहिले बर्थिङ सेन्टर सञ्चालनमा छन् । गत वर्षसम्म तीनवटा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर रहेकोमा थप तीन स्वास्थ्यचौकीमा यस वर्षदेखि थपिएको थियो । वीरकोट स्वास्थ्यचौकीमा भने गत भदौ महिलादेखि बर्थिङ सेवा सुरु गरिएको हो ।
नेपाल सरकारको स्वास्थ्य प्रक्षेपणमा पूर्वखोला गाउँपालिकामा वार्षिक ५ सय ३१ जना डेलिभरी हुने गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय