रुरु गाउँपालिकाका स्वास्थ्यचौकीहरूमा ल्याबसेवासहित एमबिबिएस डाक्टर

कृष्ण मल्ल
प्रकाशित
२०७६ वैशाख २५ गते ९:४४

गुल्मीको रुरु गाउँपालिकाले सबै वडामा ल्याबसेवासहित एमबिबिएस डाक्टरबाट बिरामीको स्वास्थ्यजाँच सुरु गरेको छ । जनताको चाहना र गाउँपालिकाको भौगोलिक अवस्थालाई मध्यनजर गरी उक्त सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताए । पहाडी भूगोल रहेको उक्त गाउँपालिकामा ६ वटा वडा छन् ।

गाउँपालिकाका स्वास्थ्यचौकीहरूमा दुई महिनाको फरकमा उक्त सेवा पुर्याउन सुरु गरेको गाउँपालिकाका प्रवक्ता शेषनारायण पौडेलले जानकारी दिए । पहिलो वर्ष स्वास्थ्यकर्मीबाट घरमै पुगेर स्वास्थ्यपरीक्षण गरेको गाउँपालिकाले अहिले भने स्वास्थ्यचौकीमा ल्याबसेवासहित एमबिबिएस डाक्टरको सेवा पुर्याएको हो ।

स्वास्थ्यचौकीमा दिइएको उक्त सेवाबाट फागुन महिनासम्म १ हजार ६ सय ६१ जनाले स्वास्थ्यजाँच गराएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सेवा सुरु भएको दुई महिनामा २ सय ८५ जनाले ल्याबसेवा लिइसकेका छन् । सबैभन्दा बढी बम्घा स्वास्थ्यचौकीबाट ३ सय ५१ जनाले स्वास्थ्यजाँच गराएका छन् भने थानपति स्वास्थ्यचौकीबाट सबैभन्दा बढी ६९ जनाले ल्याबको सेवा लिएका छन् ।

ल्याब परीक्षणमा रगत सिबिसी जाँच, सुगर, युरिक एसिड, जन्डिस, बाथ, टाइफाइड, पिसाब, दिसा, खकार, वीर्य, एचआइभी, हेपाटाइटिस बी, आरपिआर (यौनजन्य), मलेरियालगायतका जाँच निःशुल्क गरिएको छ । ल्याब परीक्षणमा सुगर, युरिक एसिड, प्रेसर, बाथका बिरामी बढी भेटिएका छन् ।

ल्याब परीक्षणमा रगत सिबिसी जाँच, सुगर, युरिक एसिड, जन्डिस, बाथ, टाइफाइड, पिसाब, दिसा, खकार, वीर्य, एचआइभी, हेपाटाइटिस बी, आरपिआर (यौनजन्य), मलेरियालगायतका जाँच निःशुल्क गरिएको छ । ल्याब परीक्षणमा सुगर, युरिक एसिड, प्रेसर, बाथका बिरामी बढी भेटिएका छन् । ती बिरामीलाई औषधिसमेत निःशुल्क दिइएको गाउँपालिकाले जनाएको छ ।
रुरु गाउँपालिकामा ग्वादी स्वास्थ्यचौकी, थानपति स्वास्थ्यचौकी, बलेटक्सार स्वास्थ्यचौकी, बम्घा स्वास्थ्यचौकी, रिमुवा स्वास्थ्यचौकी र रुरु स्वास्थ्यचौकी गरी ६ वटा स्वास्थ्यचौकी छन् ।

गाउँपालिकामा मुख्यगरी सिजनल ज्वरो, ग्यास्ट्रिक, रक्तचाप, जोर्नी दुख्ने समस्या लिएर आउने गरेको पाइएको गाउँपालिकाका स्वास्थ्यसंयोजक छत्रप्रसाद अधिकारीले बताए । उनले स्वास्थ्यसंस्थामा औषधिको अभाव हुन नदिइएको बताए । ‘स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यसंस्थामा रहेर सेवा दिनका लागि प्रेरित गर्न सकेका छौँ,’ उनले भने । सरकारी स्वास्थ्यसंस्थालाई नपत्याएर निजी क्लिनिकबाट स्वास्थ्यसेवा लिनेक्रमलाई कसरी निरुत्साहित गर्ने र सरकारी स्वास्थ्यसंस्थाप्रति विश्वास जगाउने भनी स्वास्थ्यसंस्थामा जनशक्ति, सेवा, औषधि र स्वास्थ्य उपकरणको उपलब्धतालाई बढाउँदै लगेको उनको भनाइ छ ।

अझै पनि रुरु गाउँपालिकाका केही गाउँ भूगोलका कारण स्वास्थ्यसंस्थाबाट टाढा छन् । ग्वादीको भरेक, रिमुवाको शाहघाट, बम्घाको बोटेगाउँलगायत स्थानमा सरकारी स्वास्थ्यसंस्था पुग्न सकेको अवस्था छैन । ती गाउँहरूका जनतालाई स्वास्थ्यसंस्थामा सेवा लिन आउन पैदल डेढदेखि दुई घण्टा लाग्छ । त्यसैले ती गाउँहरूमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि केन्द्र सरकारसँग माग गर्ने गाउँपालिकाले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय