मेडिसिटीमा डाउन सिन्ड्रोमको बच्चा बेवारिसे छोडेको अभियोगमा पूर्वसांसद शाह पतिसहित पक्राउ

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चा बेवारिसे छाडेको अभियोगमा पूर्वसांसद गायत्री शाह र उनका पति राजेश महतोलाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अस्पतालमा आफ्नो बच्चालाई बेवारिसे छाडेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

शाह दम्पतीले मेडिसिटी अस्पतालमै गर्भजाँचदेखि डेलिभरीसम्म गराएका थिए । जाँचका क्रममा सबै ठिकठाक छ भन्ने रिपोर्ट दिइएकोमा बच्चा जन्मिएपछि डाउन सिन्ड्रोम पाइएपछि अस्पतालले बेवास्ता गरेको भन्दै उनीहरूले बच्चा अस्पतालमै छोडेका थिए । तर, अस्पतालले भने डाउन सिन्ड्रोम रोग नभई जन्मजात अवस्था भएकाले चिकित्सक र अस्पतालको कुनै कमजोरी नरहेकाले आफ्नो बच्चा लिनका लागि शाह दम्पतीलाई भन्दै आएको थियो । उच्च राजनीतिक पहुँचका शाह दम्पती पक्राउ पर्नुलाई अस्पतालको बहुआयामिक उच्चतम पहुँचले काम गरेको रूपमा समेत विश्लेषण गरिएको छ ।

मेडिसिटी गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष उपेन्द्र महतोको प्रमुख लगानीको अस्पताल हो । केही समयअघि अस्पतालले आयोजना गरेको एक कार्यक्रममा देशका प्रधानमन्त्रीसहित मन्त्रीहरू, उच्चपदस्थ अधिकारीहरू, राजनीतिक दलका प्रमुख नेताहरू, विभिन्न देशका राजदूतहरूको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिसिटीको महिमागान गर्दै सरकारी अस्पताललाई पखालेको विषय आलोचितसमेत भएको थियो ।

शाहले २८ फागुनमा मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी थिइन् । अस्पतालको लापरबाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको आरोप लगाउँदै शाह दम्पतीले बच्चाको आजीवन उपचार अस्पतालले नै गर्नुपर्नेलगायत मागसहित दबाब दिएका थिए ।

सामान्य अवस्थाको मानव शरीरका कोषहरूमा २३ जोडी (४६ वटा) क्रोमोजम हुन्छन् । तर, ४७ वटा क्रोमोजोम हुने अवस्था ‘डाउन सिन्ड्रोम’ हो । यो अतिरिक्त क्रोमोजम २१औँ जोडीका रूपमा देखिन्छ, जसका कारण यसलाई ‘ट्राइसोमी ट्वेन्टी वन’ पनि भनिन्छ । यो असामान्य अवस्थामा शरीरका प्रत्येक कोषमा एउटा क्रोमोजम बढी हुन्छ, जसले बालकको शारीरिक तथा बौद्धिक क्षमतामा ठूलो भिन्नता ल्याउँछ । डाउन सिन्ड्रोम भएका बच्चामा सामान्यभन्दा बढी स्वास्थ्य समस्या देखिने, बढी हेरचाहको आवश्यकता पर्ने, वृद्धि र विकासमा असर पुग्नेजस्ता फरकपन आउँछन् । डाउन सिन्ड्रोम कुनै रोग नभई गर्भावस्थामै विकास हुने विशेष अवस्था भएको चिकित्सकको भनाइ छ । यो लैंगिक हिसाबले पुरुष वा स्त्रीमा बराबर हुने सम्भावना रहने चिकित्सकहरू बताउँछन् ।

शाहले २८ फागुनमा मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी थिइन् । अस्पतालको लापरबाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको आरोप लगाउँदै शाह दम्पतीले बच्चाको आजीवन उपचार अस्पतालले नै गर्नुपर्नेलगायत मागसहित दबाब दिएका थिए । अस्पताल प्रशासनले जन्मजात हुने डाउन सिन्ड्रोम चिकित्सकको लापरबाहीका कारण नभएको भन्दै बारम्बार बच्चा लिनका लागि आग्रह गर्दा पनि उनीहरुले अस्पतालमै छाडेर गएपछि अस्पतालले १३ वैशाखमा ललितपुर प्रहरीमा शाह दम्पतीविरुद्ध उजुरी दर्ता गराएको थियो । सोही उजुरीमाथिको कारबाहीका क्रममा मुलुकी अपराध संहिता ऐनअनुसार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुलाई पक्राउन गरेको हो । प्रहरीका अनुसार शाह दम्पतीलाई भोलि सोमबार म्याद थप गरी थप अनुसन्धानका लागि थुनामा राख्निनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय