उच्च रक्तचाप : कारण र जीवनशैली व्यवस्थापन

उच्च रक्तचाप जनस्वास्थ्यको प्रमुख समस्या हो । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप र त्यसका जटिलताहरू विश्वका विकसित, विकासोन्मुख र अल्पविकसित सबै देशको साझा चुनौती बनेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हाल एक अर्ब मानिसमा उच्च रक्तचापको समस्या छ, जसमा दुईतिहाइ विकासोन्मुख देशका नागरिक छन् । सन् २०२५ सम्म यो संख्या बढेर १ अर्ब ५६ करोड पुग्ने आकलन गरिएको छ । दक्षिणपूर्वी एसियाका एकतिहाइ युवा उच्च रक्तचापबाट पीडित छन् । उच्च रक्तचापबाट बर्सेनि ८० लाख मानिसको मृत्यु हुन्छ । दक्षिणपूर्र्वी एसियामा मात्र प्रतिवर्ष १५ लाख मानिसले उच्च रक्तचापबाट जीवन गुमाउँछन् ।

विश्वमा मुटु एवम् मुटुको रक्तनलीजन्य रोग मृत्युको प्रमुख कारण बनेको छ । सन् २०१७ मा १ करोड ७९ लाख मानिसको मृत्यु मुटु एवम् मुटुको रक्तनलीजन्य रोगबाट भयो, जुन कुल मृत्युको ३१ प्रतिशत हो । त्यसमा पनि ८५ प्रतिशतको मृत्यु हृदयाघात र मस्तिष्काघातबाट भएको छ । हृदयाघात र मस्तिष्काघातको प्रमुख कारण उच्च रक्तचाप हो । हृदयाघातबाट हुने मृत्युका लागि ४५ प्रतिशत र मस्तिष्काघातबाट हुने मृत्युका लागि ५१ प्रतिशत उच्च रक्तचाप मात्र जिम्मेवार मानिन्छ । यसका अतिरिक्त उच्च रक्तचापले मुटुरोग, मिर्गौलारोग, मधुमेह आदि पनि गराउँछ । विश्वमा तीनमध्ये एक वयस्कमा उच्च रक्तचाप रहेको, तीनमध्ये एकलाई उच्च रक्तचाप भएको थाहा नभएको र तीनमध्ये एकको उच्च रक्तचाप नियन्त्रणमा नरहेको बताइन्छ ।

नेपालमा पनि नसर्ने रोगको महामारी बढ्दै गएको छ । सन् २०१७ मा कुल मृत्युको ६६ प्रतिशत नसर्ने रागबाट भयो । मुटु एवम् मुटुको रक्तनलीजन्य रोगबाट मात्र ३० प्रतिशतको मृत्यु भयो । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१७ अनुसार १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या छ । त्यस्तै, २४ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषमा पूर्व–उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) छ । ननकम्युनिकेबल डिजिज रिक्स प्याक्टर सर्वे २०१३ का अनुसार २५.७ प्रतिशत मानिसमा उच्च रक्तचाप छ । विगत पाँच वर्षका विभिन्न अनुसन्धानहरूबाट सिन्धुलीको ग्रामीण क्षेत्रमा १२.३ प्रतिशत, धुलिखेलमा २७.७ प्रतिशत, पोखरामा २८ प्रतिशत, सुर्खेतमा ३८.९ प्रतिशत र काठमाडौंमा ३२.५ प्रतिशत मानिसमा उच्च रक्तचाप रहेको पाइएको छ ।

उच्च रक्तचाप अस्वस्थकर आहार, विहार, विचार र व्यवहारको नतिजा हो । विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत एक मोडेलअनुसार विभिन्न सामाजिक चालक एवम् कारकतत्वहरू, जस्तै, औद्योगीकरण, सहरीकरण, आर्थिक अवस्था, शिक्षा, पेसागत संलग्नता एवम् कार्यशैली, बसाइ आदिले बानीव्यहोरालाई प्रभाव पार्छ अर्थात् अस्वस्थकर बानीउन्मुख बनाउँछ ।

परिचय
मुटुको नियमित खुम्चिने र फैलिने क्रियाबाट शुद्ध रगत शरीरभरि पुग्दछ । रगतको वहावबाट रक्तनलीको भित्तामा पर्ने दबाब नै रक्तचाप हो । मुटु खुम्चिने अवधिको दबाबलाई सिस्टोलिक र मुटु फैलिने अवस्थाको दबाबलाई डायस्टोलिक प्रेसर भनिन्छ । बोलिचालीको भाषामा सिस्टोलिक प्रेसरलाई माथिको र डायस्टोलिक प्रेसरलाई तलको प्रेसर भन्ने गरिएको पाइन्छ । सामान्यतः सिस्टोलिक प्रेसर १०० देखि १४० एमएम एचजी र डायस्टोलिक प्रेसर ६० देखि ९० एमएम एचजीसम्म हुन्छ । सिस्टोलिक प्रेसर १४० र डायस्टोलिक प्रेसर ९० एमएम एचजीभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ ।

उच्च रक्तचाप प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी हाइपरटेन्सनको निश्चित कारण थाहा छैन अथवा विभिन्न मिश्रित कारणहरूबाट रक्तचाप बढ्छ । ९० देखि ९५ प्रतिशत उच्च रक्तचापमा प्राइमरी हाइपरटेन्सन पाइन्छ । ५ देखि १० प्रतिशत उच्च रक्तचाप मुटुरोग, मिर्गौलारोग, हर्मोनल समस्या, औषधिको पाश्र्व प्रभाव आदिका कारण हुन्छ, जसलाई सेकेन्डरी हाइपरटेसन भनिन्छ । अमेरिकाको नेसनल हार्ट, लंग्स एन्ड ब्लड इन्स्टिच्युटको प्रिभेन्सन, डिटेक्सन, इभालुएसन एन्ड ट्रिटमेन्ट अफ हाई ब्लड प्रेसरसम्बन्धी सातौँ रिपोर्टअनुसार सिस्टोलिक ब्लड प्रेसर १२० भन्दा कम र डायस्टोलिक प्रेसर ८० भन्दा कमलाई सामान्य मानिएको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १२० देखि १३९ र डायस्टोलिक ८० देखि ८९ एमएम एचजीलाई प्रि–हाइपरटेन्सन भनिएको छ । सिस्टोलिक १४० देखि १५९ र डायस्टोलिक ९० देखि ९९ एमएम एचजीलाई स्टेज फस्ट हाइपरटेन्सन र सोभन्दा बढी भएमा स्टेज सेकेन्ड हाइपरटेन्सन भनिएको छ ।

यो गाइडलाइन २०१७ मा अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले संशोधन गरेको छ, जसअनुसार सिस्टोलिक ब्लड प्रेसर १२० र डायस्टोलिक ब्लड प्रेसर ८० भन्दा कमलाई सामान्य रक्तचाप मानेको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १२० देखि १२९ र डायस्टोलिक प्रेसर ८० भन्दा कमलाई इलिभेटेड ब्लडप्रेसर (बढ्दो रक्तचाप) भनिएको छ । सिस्टोलिक प्रेसर १३० देखि १३९ र डायस्टोलिक प्रेसर ८० देखि ८९ लाई स्टेज फस्ट हाइपरटेन्सन र सोभन्दा बढी भएमा स्टेज सेकेन्ड हाइपरटेन्सन भनिएको छ । त्यस्तै, सिस्टोलिक प्रेसर १८० र डायस्टोलिक प्रेसर १२० भन्दा बढी भएमा हाइपरटेन्सिभ अरजेन्सी र यसको साथमा लक्षित अंगहरूमा क्षति पुगेमा हाइपरटेन्सिभ इमर्जेन्सी भनिएको छ । यो पछिल्लो गाइडलाइनलाई आधार मान्ने हो भने पुरानो गाइडलाइनलाई आधार मानेर विश्लेषण गरिएको तथ्यांकमा ठूलो अन्तर आउँछ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वे २०१६ मा उल्लेखित उच्च रक्तचापको २१.२ प्रतिशत बढेर ४४.२ प्रतिशत हुन्छ ।

उच्च रक्तचापको कारण
प्राइमरी हाइपरटेन्सन विविध कारणको संयुक्त नतिजा हो, जसलाई अपरिवर्तनीय र परिवर्तनीय कारण गरी वर्गीकरण गर्न सकिन्छ ।

अपरिवर्तनीय कारण
क) उमेर : सामान्यतया उमेर बढ्दै जाँदा रक्तनलीमा आउने संरचनागत परिवर्तन (साँघुरो र कडापन)ले रक्तचाप पनि बढ्ने गर्दछ ।
ख) आनुवंशिकता :रक्तचाप निर्धारणमा जिनको भूमिका रहने विश्वास गरिन्छ । एउटै जाइगोटबाट जन्मिएका जुम्ल्याहा बच्चामध्ये एकलाई उच्च रक्तचाप भएमा अर्कोलाई पनि भएको पाइएको छ । त्यस्तै, सामान्य रक्तचाप भएका आमाबुबाबाट जन्मेका बच्चाहरूमा पछि उच्च रक्तचाप हुने सम्भावना ३ प्रतिशत मात्र हुन्छ, तर आमाबुबा दुवैमा उच्च रक्तचाप भएमा बच्चामा उच्च रक्तचाप हुने सम्भावना ४५ प्रतिशत हुन्छ ।
ग) जातीयता : तुलनात्मक रूपमा काला(अफ्रिकन–अमेरिकन)हरूमा अरूभन्दा रक्तचाप बढी पाइएको छ ।

परिवर्तनीय कारण
उच्च रक्तचाप अस्वस्थकर आहार, विहार, विचार र व्यवहारको नतिजा हो । विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत एक मोडेलअनुसार विभिन्न सामाजिक चालक एवम् कारकतत्वहरू, जस्तै, औद्योगीकरण, सहरीकरण, आर्थिक अवस्था, शिक्षा, पेसागत संलग्नता एवम् कार्यशैली, बसाइ आदिले बानीव्यहोरालाई प्रभाव पार्छ अर्थात् अस्वस्थकर बानीउन्मुख बनाउँछ । अस्वस्थकर आहार, शारीरिक निष्क्रियता, सुर्ती र रक्सीजन्य पदार्थको सेवन (बानीव्यवहारजन्य रिक्स)ले उच्च रक्तचाप, मोटोपन, मधुमेह र उच्च लिपिड (मोटाबोलिक रिक्स) गराउँछ, जसबाट मुटु एवम् रक्तनलीजन्य रोग र मिर्गौला रोग गराउँछ ।

१) धूमपान : सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बनमोनोअक्साइडजस्ता २५० भन्दा बढी घातक रसायनहरू पाइन्छन्, जसमध्ये कम्तीमा ५० वटाले फोक्सोलगायतको क्यान्सर गराउँछन् । यसका अलावा मुटुरोग, स्ट्रोक, दीर्घ श्वास–प्रश्वास, मधुमेह आदिको जोखिम बढाउँछ । विश्वमा बर्सेनि ७० लाख मानिसले धूमपानका कारण मृत्युवरण गर्छन । १० मध्ये १ मृत्युका लागि धूमपान जिम्मेवार मानिन्छ ।

सन् २०१३ को तथ्यांकअनुसार नेपालमा १७.६ प्रतिशत मानिसले धूमपान गर्दछन् । ३६ प्रतिशत मानिस सेकेन्ड हेन्ड स्मोकर (अरूले गरेको धूमपानबाट प्रभावित) छन् । निकोटिनले मुटु एवम् रक्तनलीमा संरचनागत र क्रियागत परिवर्तन गराउँछ । अध्ययनहरूबाट धूमपानले रगतको तरलतामा परिवर्तन ल्याउने, एथेरोमा प्लेग बन्न सघाउने, रक्तनली साँघुरो र कडा बनाई रक्तप्रवाहमा कमी ल्याउने गर्दछ । धूमपान नगर्ने व्यक्तिमा समेत सेकेन्ड हेन्ड स्मोकका कारण एक्युट कोरोनरी डिजिज हुने सम्भावना २५ देखि ३५ प्रतिशत बढ्ने बताइन्छ । धूमपान गरिरहेको समयमा सिम्पेथेटिक नर्भस सिस्टम सक्रिय भई मुटुको चाल र रक्तचाप बढ्छ, जुन सामान्य हुन २० मिनेट लाग्छ । धूमपान छोडेको एक वर्षमा हृदयाघात हुने सम्भावना आधा कम हुन्छ भने पक्षाघात हुने सम्भावना धूमपान नगर्नेजतिको अवस्थामा पुग्न पाँच वर्ष लाग्छ ।

२) मद्यपान : विश्वमा मध्यपानका कारण २०१७ मा ३० लाख मानिसको मृत्यु भयो, जसमा १९ प्रतिशतको मृत्यु अत्यधिक मद्यपानका कारण भएको मुटु एवम् रक्तनलीको रोगबाट भएको छ । मद्यपानले सडक दुर्घटना, कलेजो एवम् पेटको रोग, क्यान्सर, मानसिकरोग निम्त्याउँछ । नेपालमा २०१३ को तथ्यांकअनुसार १७.४ प्रतिशत मानिसले रक्सीजन्य पदार्थ सेवन गर्छन् र औसत ४.४ स्टान्डर्ड ड्रि«न्क्स प्रतिपटक सेवन गर्छन् । ४० प्रतिशतले एक हप्तामा चार वा बढी दिन रक्सीजन्य पदार्थको सेवन गर्छन् । अमेरिकी पोषण निर्देशिका २०१५ दखि २०२० ले रक्सीजन्य पदार्थको सेवनलाई सिफारिस गरेको छैन ।

रक्सी सेवन गर्ने पुरुषलाई प्रतिदिन २ स्टान्डर्ड ड्रिन्क्स र महिलालाई १ स्टान्डर्ड ड्रिन्क्स (१ स्टान्डर्ड ड्रिन्क्सबराबर बियर, जाँड २५० मिली, वाइन १०० मिली, लोकल रक्सी ४५ मिली र ह्विस्की, रम, भोडका ३० मिली)भन्दा बढी सेवन नगर्न सुझाएको छ । रक्सीजन्य पदार्थहरूले रक्तचाप एवम् मुटुमा पार्ने प्रभाव सेवन मात्रा, समय आदिमा निर्भर गर्छ । एक अध्ययनले रक्सी सेवनको एक घण्टापछि रक्तचाप बढ्ने र अर्को सात घण्टामा पूर्ववत् अवस्थामा आउने देखाएको छ । रक्सी सेवनबाट मुटुको चाल र कार्डियक आउटपुट बढ्छ भने रक्तनली फैलिएर पेरिफेरल रेसिस्टेन्ट केही कम हुन्छ । थोरै मात्रामा रेड वाइन सेवनले कोरोनरी हार्ट डिजिजको रिक्स घटाउने मान्यता पनि केहिले राख्ने गरेको पाइन्छ । तर, त्यो रेड वाइनमा प्रयोग हुने फलफूलमा भएको पोलिफिनोल, एन्टिअक्सिडेन्ट एवम् फाइटोकेमिकल्सहरूको असरले गर्दा हो भन्ने मत पनि छ ।

अल्कोहल बढी मात्रामा लामो समयसम्म सेवन गरेमा कार्डियोमायोप्याथी, हार्ट फेलर, मुटुको चाल अनियमित हुने समस्या गराउँछ । बढी मात्रामा रक्सी सेवन गर्ने उच्च रक्तचापका रोगीहरूलाई रक्सी छुटाउँदा रक्तचाप पनि कम भएको अनुसन्धानहरूले देखाएका छन् । यसका अलावा अल्कोहलले शरीरको मेटाबोलिज्म, लिपिड प्रोफाइल, मोटोपन, कलेजोको सक्रियता आदिमा असर गर्छ । सन् २०१८ मा ल्यान्सेट जर्नलमा प्रकाशित एक अनुसन्धानले मद्यपानको कुनै सुरक्षित मात्रा नरहेको निष्कर्ष निकालेको छ ।

अध्ययनअनुसार हाल अमेरिकनहरूले दैनिक ३४०० मिग्रा सोडियम प्राप्त गर्दछन्, जसको ७० प्रतिशत तयारी परिकार र रेस्टुरेन्टको खानाबाट प्राप्त गर्छन् । खानेनुन सोडियम क्लोराइड हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोरिन हुन्छ । दैनिक ५०० मिग्रा सोडियमले शरीरको नर्मल फिजियोलोजी मेन्टेन गर्ने बताइन्छ ।

३) अस्वस्थकर आहार: मुटुस्वास्थ्यसँग नुन (सोडियम)को मात्रा, स्याचुरेटेड फ्याट र फाइवरयुक्त आहारको सेवन सम्बन्धित हुन्छन् । नुन सेवन बढी हुँदा प्रेसर बढ्छ । विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्राम नुनको सेवन शरीरका लागि पर्याप्त मानेको छ । तर, अध्ययनहरूले ९ देखि १२ ग्राम नुन दैनिक सेवन भइरहेको देखाएको छ । भान्छामा प्रयोग गरिने तयारी नुनका अतिरिक्त मासु, दूध, सागपात, फलफूलमा पनि नुनको मात्रा हुन्छ । झनै प्रशोधित एवम् तयारी (पत्रु) खानाहरूमा नुनको मात्रा अत्यधिक हुन्छ, जसले मानिसले प्राप्त गर्ने नुनको ७५ देखि ८० प्रतिशत हिस्सा ओगट्छ । मानव जातिको विकासक्रम हेर्दा कृषि पेसा सुरु गर्नु (५, ००० देखि १०, ००० वर्ष )अघि एक व्यक्तिले प्रतिदिन १ ग्राम नुन प्राप्त गर्ने गरेको देखिन्छ, जुन आजको भन्दा १० गुणा कम हो । अहिले पनि अफ्रिका एवम् दक्षिण अमेरिकाको जंगल वा आसपास बस्ने आदिवासीहरूले दैनिक ३ ग्रामभन्दा कम (कतिले त ५०० मिग्रा) नुन सेवन गर्छन् । उनीहरूको रक्तचाप उमेरअनुसारसमेत बढेको पाइँदैन र जीवनभर सामान्य रक्तचाप रहने पाइएको छ ।

त्यस्तै, नुन न्यून मात्रामा सेवन गर्ने जापानको अलस्सकन स्किमोे जातिमा उच्च रक्तचापको समस्या छैन, जब कि नुन बढी सेवन गर्ने उत्तरी क्षेत्रमा बस्ने करिब ३९ प्रतिशत जापनिजहरूमा उच्च रक्तचापको समस्या छ । हाल नुन व्यापारिक स्वार्थबाट प्रेरित भई प्रयोगमा ल्याइएको र यौगिक स्वरूपको सोडियमले शरीरमा हानि गर्ने भएकाले प्राकृतिक स्रोतबाट आवश्यक सोडियम पुर्ती गर्नुपर्छ भन्ने मत राख्नेहरू पनि छन् । प्राकृतिक चिकित्सामा नुनलाई सेतो विष भनिन्छ । यद्यपि, पसिना निस्कने शाकाहारीहरूलाई सोडियम आवश्यक हुन्छ । अमेरिकन हार्ट एसोसिएसनले दैनिक २३०० मिग्राभन्दा कम सोडियम सेवन सिफारिस गरको छ भने १५०० मिग्राभन्दा कम मात्रालाई उपयुक्त(आइडियल) मात्रा भनेको छ ।

अध्ययनअनुसार हाल अमेरिकनहरूले दैनिक ३४०० मिग्रा सोडियम प्राप्त गर्दछन्, जसको ७० प्रतिशत तयारी परिकार र रेस्टुरेन्टको खानाबाट प्राप्त गर्छन् । खानेनुन सोडियम क्लोराइड हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोरिन हुन्छ । दैनिक ५०० मिग्रा सोडियमले शरीरको नर्मल फिजियोलोजी मेन्टेन गर्ने बताइन्छ । शरीरमा सोडियमको मात्रा निर्धारण गर्न मिर्गौलाले भूमिका खेल्छ र बढी सोडियम पिसाब र पसिनाबाट बाहिर जान्छ । मिर्गौलाको सोडियम छान्ने क्षमता ३० वर्षपछि बिस्तारै कम हुँदै जान्छ, जुन ८० वर्ष पुग्दा ४० प्रतिशतमा सीमित रहन्छ । अन्ततोगत्वा उमेर ढल्दै जाँदा सोडियम बढी भइरहेमा प्लाज्मा सोडियम र फ्लुड भोलुम बढेर ब्लड प्रेसर बढ्छ । एक अध्ययनमा दैनिक ८ ग्राम नुन सेवन गरिरहेका व्यक्तिहरूलाई ४ हप्तासम्म ४ ग्राम नुन सेवन गराउँदा सिस्टोलिक प्रेसर ८ र डायस्टोलिक प्रेसर ४ एमएम एजजी कम भएको पाइएको छ ।

त्यस्तै, स्याचुरेटेड फ्याटको अत्यधिक सेवन पनि मुटुका लागि प्रतिकूल हुन्छ । शरीरलाई आवश्यक जम्मा क्यालोरीको १० प्रतिशतभन्दा कम क्यालोरीको स्रोत स्याचुरेटेड फ्याट हुनुपर्छ । अझै अमेरिकन हार्ट एसोसिएसनले यसलाई ५ दखि ६ प्रतिशतमा सीमित राख्न सुझाएको छ । अध्ययनहरूले स्याचुरेटेड फ्याटको सेवनले कोलेस्टेरोल र लो डेन्सिटी लिपोप्रोटिन बढ्ने देखिएको छ, जसले मुटुरोगको सम्भावना बढाउँछ । स्याचुरेटेड फ्याटको मुख्य स्रोत जनावरजन्य आहार हुन् । कोकोनट र पाम तैलजन्य वनस्पति भए पनि स्याचुरेटेड फ्याटका स्रोत हुन् । सागपात एवम् फलफूल मुटुका लागि हितकर छन् । सागपात एवम् फलफूल फाइबर, भिटामिन, मिनरल्सका स्रोत हुन् ।

यिनीहरूले लो डेन्सिटी लिपोप्रोटिन घटाउँछन् । फलफूल पोटासियमको राम्रो स्रोत हो । यसले सोडियमको निष्कासनमा सहयोग गर्दछ, रक्तनलीहरूलाई फैलाउँछ र रक्तचाप कम गर्न सहयोग गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक ५ मात्रा (४०० ग्राम) सागपात र फलफूल सेवन गर्नुपर्छ । विभिन्न अध्ययनले नेपालमा ९८ प्रतिशत मानिसले मापदण्डभन्दा कम फलफूल एवम् सागपात सेवन गर्ने गरेको देखाएको छ ।

४) शारीरिक निष्क्रियता : सक्रिय शारीरिक गतिविधि मुटुस्वास्थ्यका लागि महत्वपूर्ण छ । विश्व स्वास्थ्य संगठनले हप्तामा १५० मिनेट मध्यम व्यायाम (पसिना आउने र अलिअलि स्याँ–स्याँ हुने) गर्न सुझाएको छ । दैनिक कामसँग सम्बन्धित (घर वा कार्यालय वा पेसागत), यातायातसँग सम्बन्धित (हिँडडुल, दौड, साइक्लिङ, सवारीसाधनको प्रयोग), मनोरञ्जनात्मक शारीरिक व्यायाम (योग, प्राणायाम, नृत्य, जगिङ, खेलकुद आदि) नै शारीरिक गतिविधिका घटक हुन् । ननकम्युनिकेबल डिजिज रिक्स फ्याक्टर स्टेप सर्भे २०१३ अनुसार नेपालमा करिब ४ प्रतिशत मानिसले न्यून व्यायाम गर्छन् । ४५ देखि ६९ वर्षका ६ प्रतिशत मानिसले मापदण्डबमोजिम व्यायाम गर्दैनन् । व्यायाममा शारीरिक श्रमको हिस्सा ६२.७ प्रतिशत, यातायातसँग सम्बन्धित क्रियाकलापको हिस्सा ३३.६ प्रतिशत र मनोरञ्जनात्मक व्यायामको हिस्सा ३.७ प्रतिशत मात्र छ ।

९.३ प्रतिशत मानिसले श्रमसँग सम्बन्धित क्रियाकलाप, ६.७ मानिसले यातायातसँग सम्बन्धित क्रियाकलाप र ८७.९ प्रतिशत मानिसले मनोरञ्जनात्मक व्यायाम न्यूनतम मापदण्ड (१०/१० मिनेट) पूरा नगर्ने गरेको देखिएको छ । व्यायामले स्वयम् मुटुको रक्तसञ्चार सुदृढ बनाउँछ । विभिन्न केमिकल मेडिएटरहरूले रक्तनलीहरूको लचकता र फैलावट बढाउँछन्, शरीरको तौल घटाउन सहयोग गर्छन्, नराम्रा कोलेस्टेरोल घटाउँछन् र राम्रा कोलेस्टेरोल बढाउँछन् । मनोरञ्जनात्मक व्यायामले सिम्पाथेटिक नर्भस सिस्टमको सक्रियता घटाउँछ र रक्तचाप कम गर्न सहयोग गर्छ । केही कडाखालका व्यायामलगत्तै भने रक्तचाप बढ्छ (पोस्ट एक्सरसाइज हाइपरटेन्सन), जुन केही समयमा स्वतः घट्छ ।

उच्च रक्तचापका लक्षण
उच्च रक्तचापले खासै लक्षण नदेखाई मृत्युको मुखसम्म पुर्याउने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । केहीलाई टाउको दुख्ने, चक्कर लाग्ने, हेर्न असहज हुने, क्षणिक बेहोस हुने आदि हुन सक्छ ।

उपचार एवम् जीवनशैली व्यवस्थापन
अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले रक्तचाप सामान्य (१२०÷८० भन्दा कम) रहेको अवस्थामा वार्षिक रूपमा रक्तचाप मापन गर्र्न र स्वस्थ जीवनशैली अपनाउन सुझाएको छ । त्यस्तै, बढ्दो रक्तचाप (सिस्टोलिक १२० देखि १२९ र डायस्टोलिक ८० भन्दा कम)को अवस्थामा ३ देखि ६ महिनामा पुनः परीक्षण गर्न र जीवनशैली व्यवस्थापन गर्न भनेको छ । फस्ट स्टेज हाइपरटेन्सनमा कार्डियोभास्कुलर रिक्स १० प्रतिशतभन्दा कम भएमा जीवनशैली व्यवस्थापन र ३ देखि ६ महिनामा पुनः रक्तचाप परीक्षण गर्नुपर्छ । तर, कार्डियोभास्कुलर रिक्स १० प्रतिशतभन्दा बढी भएमा औषधि सेवनका साथै जीवनशैली परिवर्तन गर्नुपर्छ । एक महिनामा रक्तचाप नियन्त्रणमा आएमा पुनः ३ देखि ६ महिनामा रक्तचाप परीक्षण गर्नुपर्छ र नियन्त्रण नभएमा औषधि पुनरावलोकन गर्नुपर्छ । सेकेन्ड स्टेज हाइपरटेन्सनमा औषधि र जीवनशैली व्यवस्थापन सँगसँगै गर्नुपर्छ र १ महिनामा पुनः परीक्षण गर्नुपर्छ ।

औषधि
आधुनिक चिकित्सापद्धतिमा थाइजाइड (हाइपोक्लोरोथाइजाइड), एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम इन्हिबिटर (लिसिनोप्रिल, क्याप्टोप्रिल), एन्जिओटेन्सिन सेकेन्ड ब्लकर (लोसार्टन), क्याल्सियम च्यानल ब्लकर (एम्लोडिपिन), बिटा ब्लकर (एटेनोलोल) आदि औषधि उपलब्ध छन् । त्यस्तै, आयुर्वेद चिकित्सापद्धतिमा सर्पगन्धा, जटामसी, अर्जुन, प्रभाकर वटी, सर्पगन्धा घनवटी, गुगुल योगलगायत विभिन्न प्याटेन्ट औषधिहरू उपलब्ध छन् ।

तौल सामान्य राख्नुपर्छ अर्थात् बिएमआई (तौल/उचाइ (मि.) स्क्वायर) १८.५ देखि २४.९ सम्म हुनुपर्छ । दैनिक खाने आहारमा पाइने जम्मा क्यालोरी र शरीरलाई आवश्यक क्यालोरी हिसाब गरी सन्तुलित आहारको मेनु बनाउनुपर्छ । शरीरलाई आवश्यक क्यालोरीको ५० देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट, १० दखि १५ प्रतिशत प्रोटिनबाट र २० देखि ३० प्रतिशत चिल्लोबाट पूर्ति गर्नुपर्छ ।

जीवनशैली व्यवस्थापन
विभिन्न अनुसन्धानले उच्च रक्तचापको रोकथाम, व्यवस्थापन एवम् नियन्त्रणमा जीवनशैली व्यवस्थापनलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने देखाएका छन् । बढी भएको तौल १० केजी कम गर्दा ५ देखि २० एमएम एचजी सिस्टोलिक प्रेसर कम हुन्छ । आहारमा फलफूल तथा सागपातको पर्याप्त सेवन र चिल्लो कम गर्दा ८ देखि १४ एमएम एचजी प्रेसर कम हुन्छ । नुनको मात्रा कम गरेर २ देखि ८ एमएम एचजी, व्यायाम गरेर ४ देखि ९ एमएम एचजी र अल्कोहल बन्द वा न्यून गरेर २ देखि ४ एमएम एचजी सिस्टोलिक प्रेसर कम गर्न सकिन्छ ।

१) तौल नियन्त्रण
तौल सामान्य राख्नुपर्छ अर्थात् बिएमआई (तौल/उचाइ (मि.) स्क्वायर) १८.५ देखि २४.९ सम्म हुनुपर्छ । दैनिक खाने आहारमा पाइने जम्मा क्यालोरी र शरीरलाई आवश्यक क्यालोरी हिसाब गरी सन्तुलित आहारको मेनु बनाउनुपर्छ । शरीरलाई आवश्यक क्यालोरीको ५० देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट, १० दखि १५ प्रतिशत प्रोटिनबाट र २० देखि ३० प्रतिशत चिल्लोबाट पूर्ति गर्नुपर्छ । आरामदायी जीवन जिउने पुरुषलाई २ हजार ३ सय २० किलो क्यालोरी, औसत सक्रिय जीवन जिउनेलाई २ हजार ७ सय ३० किलो क्यालोरी र कडा परिश्रम गर्ने पुरुषलाई ३ हजार ४ सय ९० किलो क्यालोरी शक्ति दिने आहार दैनिक चाहिन्छ । त्यस्तै, आरामदायी जीवन जिउने महिलालाई १ हजार ९ सय किलो क्यालोरी, औसत श्रम गर्ने महिलालाई २ हजार २ सय ३० किलो क्यालोरी र कडा परिश्रम गर्ने महिलालाई २ हजार ८ सय ५० किलो क्यालोरी दैनिक आवश्यक हुन्छ । कार्बोहाइड्रेटले ४ किलो क्यालोरी प्रतिग्राम, प्रोटिनले ४ किलो क्यालोरी प्रतिग्राम र फ्याटले ९ किलो क्यालोरी प्रतिग्राम शक्ति दिन्छन् ।

शरीरका लागि आवश्यक क्यालोरीको ५० देखि ७० प्रतिशत मुटु, फोक्सो, मस्तिष्क, मिर्गौला आदि अंगहरूको काममा खर्च हुन्छ । १५ देखि ३० प्रतिशत शारीरिक श्रममा र बाँकी तापक्रम सन्तुलित राख्न उपयोग हुन्छ । शरीरलाई आवश्यकभन्दा बढी खपत गरिएको क्यालोरीले शरीरको तौल बढाउँछ । बढी भएको शरीरको तौल कम गर्न क्यालोरीको खपत कम गरेर र खर्च बढी गरेर क्यालोरी डिफिसिट गराउनुपर्छ । प्रतिहप्ता ३ हजार ५ सय किलो क्यालोरी नेगेटिभ क्यालोरी ब्यालेन्स भएमा ०.४५ केजी तौल कम हुन्छ । एकैपटक अधिक क्यालोरी खर्च गर्ने वा धेरै तौल घटाउने वा लामो समय निराहार बस्ने कुरा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुँदैन । प्रतिहप्ता आधा केजी तौल कम गर्नु राम्रो मानिन्छ, जुन न्यून क्यालोरीयुक्त आहार सेवन र नियमित शारीरिक व्यायामबाट गर्न सकिन्छ । अमेरिकन कलेज अफ स्पोट्र्स मेडिसिन गाइडलाइनले महिलाले न्यूनतम १ हजार २ सय किलो क्यालोरी र पुरुषले १ हजार ८ सय किलो क्यालोरी आहार सेवन गर्न सुझाएको छ ।

२) शारीरिक सक्रियता
स्वस्थ मानिसले दैनिक ३० मिनेट मध्यम शारीरिक व्यायाम गर्नुपर्छ । बढ्दो रक्तचाप वा उच्च रक्तचाप भएमा थप ३० मिनेट व्यायाम गर्नुपर्छ । बिहान र साँझ छिटो–छिटो हिँड्नु (ब्रिस्क वाकिङ), दौडनु, पौडी खेल्नु, साइकल चलाउनु, नाँच्नु, आउटडोर गेम खेल्नु, योग तथा प्राणायाम गर्नु, शारीरिक श्रम गर्नु आदि व्यायामका विभिन्न रूप हुन् । व्यक्तिको उमेर, अवस्था, रोग र क्षमताअनुसार व्यायामको स्वरूप फरक–फरक हुन सक्छन् । शारीरिक रूपमा सक्रिय रहँदा क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रण गर्न सघाउ पुग्छ । हिँड्दा २ किलो क्यालोरी, छिटो–छिटो हिँड्दा ४ किलो क्यालोरी र दौडँदा ८ किलो क्यालोरी प्रतिमिनेट खर्च हुन्छ ।

सामान्यतया न्यून क्यालोरी सेवनबाट घट्ने तौलको २० प्रतिशत अतिरिक्त तौल व्यायामबाट घटाउन सकिने अनुसन्धानले देखाएको छ । एकपटक घटेको तौललाई सोही अवस्थामा स्थिर राख्न वा तौलको वृद्धिदर कम गर्न व्यायामले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने पाइएको छ । त्यस्तै, नियमित योग एवम् प्राणायामले रक्तचाप र तनाव नियन्त्रण गर्न सहयोग गर्ने अनुसन्धानहरूले देखाएका छन् । ओमलगायतको मन्त्रोच्चारण, जगिङ, सूर्यनमस्कार, सेतुबन्धासन, भुजंगासन, चन्द्रभेदी प्राणायाम, शीतली प्राणायाम, सीत्कारी प्राणायाम, भ्रामरी प्राणायाम, योगनिद्रा आदि अत्यन्त प्रभावकारी छन् ।

३) स्वस्थकर आहार
दैनिक रूपमा फलफूल एवम् सागपात सेवन गर्नुपर्छ । खानासँगै वा अघि सलाद प्रयोग गरेर खाना÷भातको मात्रा कम गरी क्यालोरी घटाउन सकिन्छ । खाजाका रूपमा फलफूल सेवन गर्न सकिन्छ । त्यस्तै, खानामा हरियो सागपात छुटाउनुहुुँदैन । आफैँले करेसाबारी वा कौसीमा आवश्यक तरकारी उत्पादन गरेमा झनै स्वस्थकर हुन्छ । चिल्लोको मात्रा कम गर्नुपर्दछ । बजारमा पाइने तयारी खाना एवम् होटेलका परिकारहरूमा चिल्लो बढी प्रयोग हुने भएकाले सेवन गर्दा सही परिकार छनोट र सकभर कम सेवन गर्नुपर्छ ।

अव्यवस्थित जीवनशैलीबाट हुने भएकाले रोकथाम एवम् उपचार जीवनशैली व्यवस्थापनबाटै गर्नुपर्छ । उचित आहार, विहार, विचार र व्यवहारले उच्च रक्तचाप र त्यसबाट हुन सक्ने जटिलता कम गरी व्यक्तिलाई स्वस्थ सहन र उत्पादनशील एवम् गुणस्तरीय जीवन जिउन सघाउँछ ।

४) नुनको मात्रा कम गर्ने
परिकारहरू तयार गर्दा नुन कम प्रयोग गर्नुपर्दछ वा नुन नराखी तयार गरेर पछि खानेवेलामा थोरै राख्न सकिन्छ । नुन प्रयोग नगर्दा स्वाद फरक लाग्छ भने कागती र अन्य मसलाहरूको प्रयोगबाट स्वाद कायम राख्न सकिन्छ । सोडियमको मात्रा भान्छाको खानाभन्दा बजारको तयारी खानाबाट बढी प्राप्त हुने भएकाले सेवन गर्दा त्यसको खोलमा उल्लेखित सोडियमको मात्रा हेर्नुपर्छ । प्रति १०० ग्राम तयारी परिकार (जकंफुड)मा ०.२ ग्रामभन्दा बढी सोडियम भएमा त्यस्तो तयारी परिकार सेवन नगर्नु बुद्धिमानी हुन्छ । त्यस्तै, सोडा, सस, अजिनोमोटो (मोनो सोडियम ग्लुटामेट)को प्रयोग नगर्दा वा कम गर्दा राम्रो हुन्छ ।

५) रक्सीजन्य पदार्थको सेवन र धूमपान नगर्ने
रक्सीजन्य पदार्थको सेवन र धूमपानले मुटुलाई हानि गर्ने भएकाले सेवन गर्नुहुँदैन । यी दुवै कुलत छाड्न आत्मविश्वास र प्रतिबद्धता चाहिन्छ । चिकित्सक वा परामर्शदातासँग सल्लाह लिन सकिन्छ । यसको सेवनबाट स्वास्थ्यमा, आर्थिक अवस्थामा, पारिवारिक एवम् सामाजिक सम्बन्धमा पर्ने प्रभावहरूको मूल्यांकन गरी बेफाइदाहरू मनन गर्नुपर्दछ, जसबाट मद्यपान र धूमपानप्रति वितृष्णा पैदा हुन्छ । सेवनको मात्रा बिस्तारै घटाउँदै निश्चित समयसीमा तोकेर बन्द गर्नुपर्दछ । काममा व्यस्त रहने, धूमपान र मद्यपान गर्नेहरूको संगत नगर्ने र तलतल मेट्न अन्य वैकल्पिक उपायहरू अपनाउने गर्नुपर्छ ।

६) औषधि एवम् चिकित्सकको परामर्श
रक्तचापको अवस्थाअनुसार उपचारका लागि जीवनशैली परिवर्तन र औषधि चिकित्सकले सिफारिस गर्ने गर्दछन् । यसर्थ, चिकित्सकको नियमित सम्पर्कमा रही रक्तचाप मापन र अन्य आवश्यक परीक्षण गर्नुपर्छ । रक्तचाप सामान्य रहेमा र अन्य कुनै रिक्स नभएमा औषधिको मात्रा घटाउँदै चिकित्सकको निगरानी र सल्लाहमा बन्द गर्न पनि सकिन्छ । तर, आफैँले औषधि परिवर्तन वा बन्द गर्नुहुँदैन । चिकित्सकसँगको भेटमा बिरामीले रक्तचापको हालको अवस्था, हुनुपर्ने रक्तचाप, आफ्नो तौलको अवस्था, उचित आहारको छनोट, शारीरिक व्यायाम, औषधिको नाम, मात्रा, साइडइफेक्ट, अपनाउनुपर्ने सावधानी, औषधि सेवनको समय र तरिका आदिबारे पूरा जानकारी लिनुपर्छ र त्यसको पालना गर्नुपर्छ ।

निष्कर्षमा भन्नुपर्दा उच्च रक्तचाप जनस्वास्थ्यको जल्दोबल्दो समस्या हो । यो अव्यवस्थित जीवनशैलीबाट हुने भएकाले रोकथाम एवम् उपचार जीवनशैली व्यवस्थापनबाटै गर्नुपर्छ । उचित आहार, विहार, विचार र व्यवहारले उच्च रक्तचाप र त्यसबाट हुन सक्ने जटिलता कम गरी व्यक्तिलाई स्वस्थ सहन र उत्पादनशील एवम् गुणस्तरीय जीवन जिउन सघाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय