मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय कार्यान्वयनबारे तीन दिनभित्र जवाफ दिन शिक्षामन्त्रीको त्रिविलाई निर्देशन

गण्डकी मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयनको अवस्थाबारे तीन दिनभित्र जवाफ पठाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको एक महिना बितिसक्दा पनि कार्यान्वयनमा नआएपछि सहकुलपतिको हैसियतमा मन्त्री पोखरेलले बिहीबार त्रिविलाई यस्तो निर्देशन दिएका हुन् ।

शिक्षा पत्रकार समूहले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री पोखरेलले ‘हिजै मात्र त्रिविलाई पत्र लेखेर पूर्वसहमति कार्यान्वयनबारे जवाफ मागेको’ जानकारी दिए । उनले शुल्कको विषय विश्वविद्यालयको सिस्टमअन्तर्गत नै जानुपर्ने भन्दै सोहीअनुसार काम भइरहेको बताए । बढी शुल्क लिएको भन्दै लामो समयसम्म गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएपछि मन्त्रीकै पहलमा ७ चैत ०७५ को सर्वपक्षीय बैठक बसेर एक महिनाभित्र शुल्क फिर्ता गर्न लगाउने सहमति भएको थियो ।

सहमतिका क्रममा गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुको शैक्षिक कार्यक्रम प्रभावित नहुने गरी परीक्षाका निम्ति आवश्यक विशेष व्यवस्था मिलाउने र सरकारले तोकेभन्दा बढी शुल्क असुलिएकोमा एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको थियो । शुल्क फिर्ता भए–नभएको अनुगमनसमेत नियमनकारी निकायले गर्ने सहमति भएको थियो ।

चिकित्साशिक्षा आयोग
त्यसैगरी, चिकित्साशिक्षा ऐनअनुसार आयोग गठनलगायत विषय पनि अगाडि बढे पनि पूर्णता पाइनसकेको भनाइ मन्त्रीको थियो । उनले प्रधानमन्त्रीको अध्यक्षतामा स्वास्थ्य र शिक्षामन्त्रीसहितको बैठक बसेर उपप्रधानमन्त्रीको नेतृत्वमा कार्यदल बनाएको जानकारी दिए । ‘म पनि त्यसैको सदस्य छु, त्यो बनाएको शैक्षिक सत्रअगावै सम्बोधन गर्न हो’ उनले भने, ‘कार्यदलभित्र चारवटा समिति बनाएर काम भइरहेका छन् ।’
उनले आफूले शैक्षिक वर्षअगावै क्यालेन्डर बनाएर लागू गर्ने सोच रहेको भन्दै गतिविधिले मेल खाने–नखानेबारे भने यकिन भन्न नसक्ने सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय