कुखुरा खान सुरक्षित छ ?

बर्डफ्लुका नामले चिनिने एभियान इन्फ्लुएन्जा एच५एन१को नेपालमा पहिलोपटक मानवमा संक्रमण प्रमाणित भएसँगै यो रोग के हो, कसरी सर्छ लगायत चासो सर्वत्र पाइएको छ । रोगबारे सही जानकारीले यसबाट जोखिन मद्दत गर्छ । त्यसका लागि आमजनमानसमा हुन सक्ने बर्डफ्लुसम्बन्धी जिज्ञासा र तीनको समाधान हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

एच५एन१ के हो ?
एच५एन१ एकप्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो । यसले चराचुरुंगीमा श्वास–प्रवासको समस्या गराउँछ । एच५एन१को मानिसमा संक्रमण कहिलेकाहीँ मात्र हुन्छ । तर, यो मानिसबाट मानिसमा सितिमिती सर्दैन । जब यसले मानिसमा संक्रमण गर्छ, तब मानिसको मृत्युदर लगभग ६० प्रतिशत हुन्छ ।

एच५एन१ इन्फ्लुएन्जा मानिसमा कसरी फैलिन्छ ?
एच५एन१को लगभग सबै संक्रमण प्रत्यक्ष संक्रमित वा मृत पक्षीहरू वा एच५एन१ प्रदूषित वातावरणसँग सम्बन्धित हुन्छ । यसले मानिसलाई सजिलै संक्रमित गर्दैन र यो मानिसबाट मानिसमा सामान्यतया सर्दैन । राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो रोग फैलिन सक्ने वा सरेको कुनै पनि प्रमाण छैन ।

एच५एन१ले किन धेरै चिन्तित बनाएको छ ?
चराचुरुंगीमा संक्रमण गर्ने यो भाइरसले मानिसलाई संक्रमित गरेमा मानिसमा यसले गम्भीर समस्याहरू हुने र अंग–प्रत्यंगले काम गर्न नसक्ने बनाउँछ र मृत्युको मुखमा पुर्याउँछ । मानिसमा यसको संक्रमण भएमा यसको मृत्युदर उच्च छ । त्यस्तै, कुनै पनि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् । त्यसैले यदि एच५एन१ सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ, त्यसैले यसबारे धेरै गम्भीर चिन्ता हुने गरेको हो ।

किन एच५एन१ इन्फ्लुएन्जा भाइरस परिवर्तन हुन सक्छ ?
इन्फ्लुएन्जा भाइरसले नियमित आफ्नो वंशानुगत गुणहरू परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या हुन्छ ।

मानिसमा यस इन्फ्लुएन्जा के–के लक्षण हुन्छन् ?
– उच्च ज्वरो आउनु
– खोकी लाग्नु
– घाँटी दुख्नु
– मांसपेसीहरू दुख्नु
– सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ,
– संक्रमण छिटै फैलिएर सास फेर्न गाह्रो हुनु, तीव्र रूपमा श्वास–प्रश्वासमा कठिनाइ देखापर्नु, निमोनिया हुनु, दम हुनु आदि ।

कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी खान सुरक्षित हुन्छन् ?
अवश्य पनि हुन्छन् । तर, यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ । अन्य भाइरसझैँ यो भाइरसका लागि पनि तातो धेरै नै संवेदनशील हुन्छ । सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रूपमा मर्दछ । तर, पकाउँदा विचारणीय कुरा के हो भने पकाइएका सबै भागहरूमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्दछ । अर्थात्, राम्ररी सबैतिर तापक्रम पुगेर सबै भागमा पाकेको हुनुपर्दछ । यसले सबै भाइरस मर्दछन् र हामीले ढुक्कले खान सक्छौँ ।

सावधानीका रूपमा कुखुरा तथा कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी सधैँ राम्रो, स्वस्थ, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्दछ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाब छ ।
आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रूपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरूलाई चलाउने, प्रयोग गर्ने वा ओसार–पसार गरेकाहरूसँग जोडिएको पाइएको छ । त्यसैले यसकिसिमका बानी–व्यवहारलाई उच्चतम जोखिम बुझेर सुधार गर्नुचाहिँ महत्वपूर्ण हुन्छ ।

मानिसमा यसको उपचार कसरी गरिन्छ ?
यो मानिसमा प्रायः गम्भीर रोगका रूपमा विकास भएर देखापर्ने हुँदा सुविधायुक्त अस्पतालहरूमा आकस्मिक सघन उपचार गर्नुपर्ने हुन्छ । एन्टिभाइरल औषधि ओसेल्टामिभिर (टामिफ्लु)ले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्न सक्ने भएकाले यसको प्रयोग गरिन्छ ।

एच५एन१ एभियान इन्फ्लुएन्जाको मानव संक्रमण रोकथामका लागि खोप उपलब्ध छ ?
एच५एन१ संक्रमणको रोकथामका लागि खोपको विकास भएको छ, तर यो अझै पनि व्यापक उपयोगका लागि तयार छैन ।

के मौसमी इन्फ्लुएन्जा (मौसमी फ्लु/मौसमी रुघाखोकी) खोपले एच५एन१ भाइरसविरुद्ध सुरक्षा प्रदान गर्दछ ?
मौसमी इन्फ्लुएन्जाको खोप एच५एन१विरुद्धको संक्रमणमा काम गर्दैन अर्थात् सुरक्षित बनाउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय