मणिपालले तिरेन ६ करोड कर, १० वटा पत्र काटिसक्दा पनि न जवाफ दिन्छ न त कर नै

प्रकाश ढकाल
प्रकाशित
२०७६ वैशाख १५ गते १४:३७

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालले सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन । अस्पतालले एकीकृत सम्पत्ति कर र त्यसपछिको सम्पत्ति कर गरी करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको पोखरा महानगरले जनाएको छ ।

अस्पतालले हालसम्म ११ करोड ८० लाख रुपैयाँ तिर्नुपर्नेमा जम्मा ५ करोड २८ लाख मात्रै तिरेको देखिएको छ । अस्पतालले अझै पनि ५ करोड ९२ लाख रुपैयाँ तिर्न बाँकी रहेको कर अधिकृत शिवहरि शर्माले जानकारी दिए । ‘६ करोड जति तिर्न बाँकी छ । समयमा कर तिर्नुस् भनेर पत्र पनि पठाइसकेका छौँ,’ उनले भने, ‘तर, अस्पतालले कुनै रेस्पोन्स गरेको छैन । अब एक्सनमै जानुपर्ने अवस्था पनि आउन सक्छ ।’ समयमै कर तिर्न अस्पताललाई उनको आग्रह छ ।

१० पटकसम्म पत्र काटेर ताकेता गर्दा पनि न कर तिर्यो, न जवाफ नै पठायो
कर बुझाउन मणिपाललाई महानगरले ०७० सालदेखि लगातार पत्र पठाइरहेको छ । हालसम्म १० वटा पत्र लेखिसकिएको तर कर बुझाउने कुरामा मणिपाल सकारात्मक नदेखिएको शर्माले बताए । ‘पहिले घरजग्गा कर थियो । पछि एकीकृत सम्पत्ति करको रूपमा लिन थालियो । अहिले सम्पत्ति कर मात्रै लिन पाइन्छ,’ उनी भन्छन्, ‘मणिपालले कर नतिरेको धेरै वर्ष भइसक्यो । न पत्रको जवाफ आउँछ, न कर बुझाएको छ ।’ उनका अनुसार महानगरले अस्पताललाई अन्तिमपटक २६ पुस ०७५ मा कर बुझाउन आग्रहसहित पत्र पठाएको थियो । उक्त पत्रको अस्पतालले हालसम्म कुनै प्रतिक्रिया नदिएको महानगरको राजस्वशाखाले जनाएको छ ।

मणिपाल अस्पतालका डिन बिएम नागपाल भने सरकारी जग्गाको सम्पत्ति कर तिर्न नसक्ने बताउँछन् । ‘हामीले हाम्रो सम्पत्तिको कर बुझाएका छौँ । जग्गा नेपाल सरकारसँग लिजमा लिएको हो । त्यसको कर बुझाउन सक्दैनौँ,’ उनले भने, ‘अरू सम्पत्तिको कर यो वर्षको पनि बुझाइसकेका छौँ । अरू विषय वार्ताबाट सम्बोधन होलान् ।’ कर नतिर्ने कुरामा मेयर मानबहादुर जिसी पनि सकारात्मक रहेको उनले सुनाए ।

यो वर्ष हेर्छौं, अटेरी गरे अर्को वर्ष कानुनी प्रक्रिया बढ्छ : महानगर
तर, मेयर जिसी भने सरकारलाई तिर्नुपर्ने कर कुनै पनि अवस्थामा छुट नहुने बताउँछन् । ‘हामीले कर तिर भनेर ताकेता गरेको गर्यै छौँ । तर, उनीहरू तिर्न तयार छैनन्,’ जिसीले भने, ‘सामान्य कुराकानी त भइरहेको छ । यो आर्थिक वर्ष हेर्छौं, नभए कानुनी प्रोसेसमा अघि बढ्नुको विकल्प छैन ।’

उपल्लो दीपको जग्गा नेपाली सेनासँग भाडामा लिएको र त्यहाँको एकमुष्ट शुल्क नेपाल सरकारलाई बुझाएकाले यसको कर तिर्नुनपर्ने अस्पतालको अडान छ । तर, महानगर भने उक्त जग्गाको पनि कर तिर्नुपर्ने बताउँछ । चालू आर्थिक वर्षभित्र कर नबुझाए अस्पतालविरुद्ध मुद्दा दायर गर्ने जिसीको भनाइ छ ।

करछलीका लागि निर्माणसम्पन्न प्रमाणपत्र नलिई भवनबाट सेवा
मणिपालले केही भवनको निर्माण सम्पन्न प्रमाण नभई सञ्चालन गरेको खुलेको छ । मुख्य बिल्डिङबाहेक केही भवनको सम्पन्न प्रमाणपत्र नभएको महानगर स्रोतले जनाएको छ । ‘अस्पतालका केही बिल्डिङको सम्पन्नताको कुनै प्रमाण छैन । यसबाट महानगरलाई तिर्नुपर्ने करसमेत बर्सेनि नोक्सान भइरहेको छ,’ स्रोतले भन्यो, ‘एकातिर कर नतिर्ने, अर्कोतिर बिल्डिङको निर्माण सम्पन्न प्रमाणपत्र छैन । मणिपालले सरकारलाई हेपेको छ ।’

महानगरका मेयर मानबहादुर जिसी निर्माण सम्पन्न भइसकेका भवनहरूको सम्पन्न प्रमाणपत्र लिनका लागि अस्पताललाई परिपत्र गरिसकेको बताउँछन् । ‘महानगरको प्राविधिक टोलीले सम्पन्नताको प्रमाण लिन आउन भनेको छ । होस्टेललगायत भवनहरूको सम्पन्नको कागजपत्र नभएको सुनिएको छ,’ उनले भने, ‘प्राविधिकले अध्ययन गरेर काम अघि बढ्ला ।’ पोखरा महानगरपालिकाभित्रका घर ४ वर्षभित्रै सम्पन्न गर्नुपर्ने प्रावधान छ । ४ वर्षभित्रमा काम नसकिएपछि म्याद थपका लागि अस्पताल प्रशासनले निवेदन दिएको थियो । तर, उक्त निवेदन अहिले महानगरपालिकामा भेटिँदैन ।

१० हेक्टरमा फैलिएको पश्चिमकै ठूलो र सुविधासम्पन्न अस्पताल
एमबिबिएस पढाइका लागि सन् १९९४ मा पोखरामा मणिपाल शिक्षण अस्पताल खोलिएको हो । यसका लागि सन् १९९२ मै नेपाल सरकार र मणिपाल शिक्षा तथा चिकित्सा ग्रुपबीच समझदारी भएको थियो । काठमाडौं युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको छ, जसमा सुरुमा ४० बिलियन भारतीय रुपैयाँ लगानी भएको थियो । पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पताल पछिल्लो समय कर्मचारी व्यवस्थापन र पढाइको विषयलाई लिएर पटक–पटक विवादमा तानिन्छ । कलेजमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायत देशबाट अध्ययनका लागि बर्सेनि विद्यार्थी आउँछन् । मणिपाल पश्चिमी क्षेत्रकै ठूलो र सुविधासम्पन्न अस्पताल पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय