उन्मूलन लक्ष्य नजिकिँदै जाँदा औलोका बिरामी प्रतिवर्ष बढ्दै

पुष्पराज चौलागाईं
प्रकाशित
२०७६ वैशाख १२ गते १८:५७

सरकारले औलो उन्मूलनका लागि सन् २०२५ को लक्ष्य निर्धारण गरेको छ, तर देशमा औलोका बिरामी भने बढ्दै गएको पाइएको छ । बिहीबार स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले विश्व औलो दिवसका अवसरमा गरेको कार्यक्रममा नेपालमा औलोरोगीको संख्या बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको छ ।विश्व स्वास्थ्य संगठनले हरेक वर्ष २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष ‘आफैँबाट सुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’ नारासहित विश्व औलो दिवस मनाइएको छ ।

पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा नेपालमा औलोका बिरामी बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७२/०७३ मा ९ सय ९१ औलोका बिरामी भेटिएकोमा ०७३÷०७४ मा उक्त संख्या १ हजार १ सय २८ पुगेको थियो । त्यसैगरी, ०७४/०७५ मा औलोका १ हजार १ सय ८७ बिरामी फेलापरेका थिए । तथ्यांकअनुसार प्रतिवर्ष औलोका बिरामी बढ्दै जानुले उन्मूलनको सरकारी लक्ष्यलाई चुनौती दिइरहेको छ ।

सरकारले औलोरोग नियन्त्रणका लागि कम बजेट छुट्याएका कारण पनि उन्मूलन कार्यक्रम प्रभावकारी हुन नसकको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउँछन् । निर्देशक लालका अनुसार दातृनिकाय ग्लोबल फन्डले पछिल्ला २ वर्षका लागि १ अर्ब बजेट विनियोजन गरेकोमा हाल ३ वर्षका लागि जम्मा ४३ करोड मात्र विनियोजन गरेको छ ।

संघीय संरचनाअनुसार कर्मचारी समायोजनले पनि औलो उन्मूलन कार्यक्रममा चुनौती बढेको डा. लाल बताउँछन् । उनी भन्छन्, ‘समायोजनका क्रममा भेक्टर कन्ट्रोल सुपरभाइजर र मलेरिया इन्स्पेक्टरको दरबन्दी फाजिलमा रहेका कारण पनि निवारण कार्यक्रममा चुनौती देखापर्न सक्छ ।’

डा. लालका अनुसार पहिले तालिम दिइएका जनशक्ति हाल फाजिलमा छन् । जिम्मेवारी लिएर अगाडि बढ्नुपर्ने स्थानीय तहको क्षमता अभिवृद्धिका लागि धेरै समय लाग्नेछ । जुन मात्रामा तल्लो निकायसम्म दक्ष जनशक्ति लाग्नुपर्ने हो, सोअनुरूप पठाउन नसकिँदा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा चुनौती देखापरेका छन् ।

अझै पनि २ लाखभन्दा बढी नेपाली औलोको उच्च जोखिममा
औलो सूक्ष्म स्तरीकरण २०१८ को अध्ययनअनुसार २ लाख १६ हजार ७ सय ६ नेपाली औलोको उच्च जोखिममा रहेको पाइएको छ भने ९ लाख २७ हजार ४ सय १४ मध्यम जोखिममा छन् ।

सुदूरपश्चिम प्रदेश उच्च जोखिममा
आर्थिक वर्ष ०७४/०७५ मा प्रदेशअनुसारका औलोका बिरामीको तथ्यांकलाई विश्लेषण हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी औलाका बिरामीको पहिचान भएको छ । मुलुकभर १ हजार १ सय ८७ बिरामीको पहिचान भएकोमा सुदूरपश्चिम प्रदेशमा मात्र ५ सय ८६ जना फेला परेका हुन् ।
त्यसैगरी, उक्त वर्ष प्रदेश ५ मा २ सय ३९, कर्णाली प्रदेशमा २ सय १०, प्रदेश २ मा ६६, गण्डकी प्रदेशमा ३६, प्रदेश ३ मा २६ र प्रदेश १ मा २४ जना औलोका बिरामी फेलापरेका छन् ।

पहाडी जिल्लातर्फ बढ्दै औलोको संक्रमण
तराईमा मात्र देखिने औलो पछिल्लो समय देशका पहाडी तथा हिमाली क्षेत्रमा समेत भेटिन थालेका छन् । मुगु, बाजुराजस्ता दुर्गम पहाडी बस्तीहरूमा औलोका बिरामी भेटिँदै गएको छ । डा. लाल भन्छन्, ‘यस्ता बस्तीहरूमा छुट्टै किसिमका कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, त्यसअनुरूपका कार्यक्रम निर्माण गर्न सकिएको छैन ।’

पछिल्लो समय पहाडी वातावरण पनि लामखुट्टे हुर्कनका लागि अनुकूल भएको छ । यातायतको पहुँचले सजिलै तराईका लामखुट्टे पहाडमा गएपछि ती संक्रमित लामखुट्टेको टोकाइबाट पहाडमा रहेका मानिसलाई औलो सर्ने गरेको डा. लाल बताउँछन् ।

सरकारले उन्मूलनको मिति नै तय गरेर नियन्त्रणका विभिन्न कार्यक्रम ल्याइरहँदा यसका बिरामीको संख्या घट्दै जानुपर्नेमा बढ्दै गएका कारण सरकारको ०२५ सम्ममा औलो उन्मूलन प्रतिबद्धता कागजमै सीमित हुने पो हो कि भन्ने शंका उत्पन्न भएको छ ।

आयातित औलोका बिरामी बढ्दै
खुला सिमानाका कारण भारत तथा अन्य मुलुकमा कामको सिलसिलामा पुगेका नेपाली स्वदेश फर्किंदा औलो संक्रमित भएर आउनेक्रम बढ्दै गएको पाइएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०७४÷०७५ मा १ हजार १ सय ८७ औलोका बिरामीमध्ये ६ सय ३० जनाले औलोरोग आयात गरेका थिए । स्थानीय औलोका बिरामी ५ सय ५७ जना मात्र थिए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्ने हो भने विश्वमा २२ करोड मानिस औलोबाट संक्रमित छन् । गत वर्ष विश्वभर करिब ४ लाख ३५ हजार मानिसले औलोका कारण ज्यान गुमाएका थिए । दक्षिण एसियामा औलोका १ करोड १३ लाख बिरामी भेटिएका छन् भने गत वर्ष यस क्षेत्रका १ लाख ५७ हजार मानिसले औलोका कारण मुत्युवरण गरेका थिए ।

पी फाल्सिपारस औलोले लिन्छ ज्यान
नेपालमा मुख्यतया पी भाइभेक्स र पी फाल्सिपारस औलो पाइने गरेको छ । आर्थिक वर्ष ०७४/०७५ को तथ्यांकअनुसार पी भाइभेक्स औलोका बिरामी १ हजार १ सय ०५ थिए भने पी फाल्सिपारसका ८२ जना फेलापरेका थिए । पी भाइभेक्सको तुलनामा पी फाल्सिपारस औलो बढी घातक हुने गरेको छ, जसले संक्रमितको ज्यानैसमेत लिने गर्छ ।

के कारण लाग्छ औलो ?
औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट लाग्ने एकप्रकारको सरुवारोग हो । औलो लागेको व्यक्तिलाई उक्त जातिको लामखुट्टेले टोक्दा रगतसँगै औलोका परजीवी पनि चुस्दछ र उक्त लामखुट्टे औलो संक्रमित हुन जान्छ । संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा उक्त व्यक्तिमा औलो सर्ने गर्छ ।

औलो रोकथामका लागि लामखुट्टेको टोकाइबाट बच्नुको विकल्प छैन । यसका लागि हात–खुट्टा छोप्ने गरी पूरा बाहुला भएका लुगा लगाएर वा शरीरको खुला भागमा कीटनाशक मलम वा तेल लगाएर लामखुट्टेको टोकाइबाट बच्च सकिन्छ । यसका साथै, औषधियुक्त झुलको प्रयोग गर्ने, घरवरपर सफासुग्घर गर्ने, पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने, लामखुट्टेनाशक औषधिहरूको प्रयोग गर्नेलगायत उपायहरू अपनाएर लामखुट्टेको टोकाइबाट बच्न सके मात्र औलोरोगबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय