दाइजोका लागि श्रीमतीहत्याका आरोपी डा. यादव पुर्पक्षका लागि जेलचलान

निर्मला भण्डारी
प्रकाशित
२०७६ वैशाख १२ गते १८:२०

दाइजोको निहुँमा जेठी श्रीमतीलाई निर्मम यातना दिई हत्या गरेको अभियोग लागेका नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सच्चिदानन्द (एसएन) यादव पुर्पक्षका लागि सोमबार कारागारचलान भएका छन् । उनी (सुनीताका श्रीमान्)लगायत परिवारका अन्य सदस्यले दाइजोको निहुँमा निर्मम यातना दिएकै कारण सुनीताको मृत्यु भएको थियो ।

सुरुमा डा. यादवविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएर किटानी–जाहेरी दिइए पनि उनकी श्रीमती सुनीताको उपचारका क्रममा मृत्य भएपछि सोही मुद्दा कर्तव्यज्यानमा परिणत भएको थियो । सोही कर्तव्यज्यान मुद्दा खेपिरहेका डा. यादव सोमबार कारागार चलान भएका छन् ।

डा. यादवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई आइतबार पर्सा जिल्ला अदालतमा पेस गरे पनि दुई दिनदेखि चलिरहेको थुनछेक बहस सोमबार मात्र सकिएपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको थुनछेक आदेशबाट डा. यादव कारागार चलान भए । उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी भोलानाथ धमलाले हेल्थपोस्टलाई बताए ।

उनको मृत्यु भएपछि माइतीपक्षले नै सुनीताको शव बारास्थित माइतीघरमा ल्याएर दाहसंस्कार गरेका थिए । तर, सुनीताको अन्त्येष्ठिमा उनका घरतर्फका भने कोही पनि उपस्थित नभएको स्थानीयको भनाइ छ ।

सरकारवादी मुद्दा भएपछि, वादीका तर्फबाट सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, सहायक न्यायाधिवक्ता भीमसेन काफ्ले, वरिष्ठ न्यायाधिवक्ता दीपकराज भण्डारी, अधिवक्ताहरू रामनारायण कुर्मी, रामाशिषप्रसाद यादव, रामश्रे साह र प्रतिवादी डा. यादवका तर्फबाट अधिवक्ताहरू रामेश्वर सेढाईं, विजयलाल ठाकुर र सुधीरकुमार कर्णले बहस गरेको पर्सा जिल्ला अदालतले जनाएको छ । बहस सकिएपछि न्यायाधीश पौडेलको एकल इजलासले मृतक सुनीताका श्रीमान् डा. यादवलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश गरेको उनको भनाइ छ ।

मृतक सुनीताका माइतीपक्षले डा. यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यानमार्ने उद्योगको जाहेरी दर्ता गराएकै अवस्थामा १५ चैतमा सुनीताको उपचारका क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको थियो । उनको मृत्यु भएपछि माइतीपक्षले नै सुनीताको शव बारास्थित माइतीघरमा ल्याएर दाहसंस्कार गरेका थिए । तर, सुनीताको अन्त्येष्ठिमा उनका घरतर्फका भने कोही पनि उपस्थित नभएको स्थानीयको भनाइ छ ।

श्रीमान् डा. यादवसहित घरका अन्य सदस्यले दाइजोको निहुँमा ६ चैतमा निर्घात कुटपिट गर्दै चरम यातना दिएपछि उपचारका क्रममा १५ चैतमा सुनीताको निधन भएको थियो

गत चैत ६ गते राति वीरगन्ज महानगरपालिका–२० हरपतगंजमा रहेकी सुनीतालाई दाइजो कम ल्याएको निहुँमा डा. यादव तथा उनका परिवारका सदस्यले निर्घात कुटपिट गरेको दावी गर्दै माइतीपक्षले प्रहरीमा जाहेरी दिएका थिए । टाउको, हातखुट्टा र शरीरभरि ५० भन्दा बढी नीलडाम रहेको अवस्थामा स्थानीय गण्डक अस्पतालमा उनीहरूले नै उपचारका लागि भर्ना गराए पनि त्यहाँ उपचार सम्भव भएन । गण्डक अस्पतालले थप उपचारका लागि सुनीतालाई काठमाडौं पठाएको थियो । उनको चैत १५ गते साँझ निधन भएको थियो ।

डा. यादवले भने घटनामा आफू दोषी नभएको दाबी गरेका छन् । आफूले कुटपिट नगरेको तथा सुनीता आफैँ लडेर घाउचोट लागेको र सोही समयमा उनको निधन भएको डा. यादवको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय