इच्छाकामनाका चेपाङ समुदायमा शिशुमृत्युदर विकराल, खाना र कपडाको अभावमा गुम्छ शिशुको ज्यान

वसन्त ढुंगाना
प्रकाशित
२०७६ वैशाख ११ गते १४:१५

इच्छाकामना गाउँपालिका–१, थाप्राङकी माया चेपाङ २२ वर्षकी भइन् । उनले ४ छोरीलाई जन्म दिइसकेकी छिन् । उनको साथमा अहिले २ छोरी छन् । १६ वर्षमा विवाह गरेकी चेपाङका २ छोरीको एक वर्षको कलिलै उमेरमा मृत्यु भयो ।
‘भएका २ छोरीको पनि स्वास्थ्यअवस्था राम्रो छैन,’ चिसोले थरथर कामिरहेका २ छोरीलाई काखीमा च्याप्दै चेपाङले भनिन्, ‘यिनीहरू पनि सधैँ बिरामी हुन्छन् ।’

आफूसँग भएको रुखो बारीकाे उत्पादनले चेपाङ परिवारलाई ६ महिना मात्र खान पुग्छ । ‘ बाँकी जंगलका गिठा–भ्याकुरले जीवन चलाउनुपर्छ,’ आँखाबाट पिलपिल आँसु झार्दै उनले भनिन्, ‘यी २ छोरीलाई कपडा किनिदिन धौ–धौ पर्छ ।’

कान्छी छोरी भर्खर ७ महिना पुगिन् । चेपाङ फेरि गर्भवती छिन् । श्रीमान्ले कुल्ली काम गर्दै आएका छन् ।

थाप्राङकै लालकुमारी चेपाङ विवाह हुँदा १५ वर्षकी थिइन् । २२ वर्षीया लालकुमारीले पनि २ सन्तान गुमाइसकेकी छिन् । ४ सन्तानकी आमा बनेकी चेपाङको साथमा अहिले २ छोरी छन् । ‘पहिलो सन्तान छोरा र तेस्रो सन्तान छोरीको मुत्यु भयो ।’ धुजैधुजा परेका कपडा लगाएका छोरीहरूलाई देखाउँदै उनले भनिन्, ‘समय–समयमा मलाई पनि चक्कर लाग्छ । छोरीहरूले राम्रो हेरचाह पाएका छैनन्, दुब्लाएका छन् ।’

चेपाङ बस्तीमा एक वर्षको कलिलै उमेरमा सन्तान गुमाउने लालकुमारी र माया चेपाङ प्रतिनिधिपात्र मात्र हुन् । इच्छाकामना गाउँपालिकामा शिशु मृत्युदर उच्च छ । इच्छाकामना गाउँपालिकामा मृत्यु हुनेमा २५ प्रतिशत एक वर्षमुनिका शिशु छन् । गाउँपालिकाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा गाउँपालिकामा ३ सय ९६ जनाको मृत्यु हुँदा ९८ जना एक वर्षमुनिका शिशु थिए । एक वर्ष नपुगी मृत्यु हुनेमा पुरुष शिशु ७५ र महिला शिशु २३ जना रहेको इच्छाकामना गाउँपालिकाका तथ्यांक शाखाका प्रमुख सुजन अर्यालले जानकारी दिए ।

आमा पनि परिपक्व हुँदैनन् । कम तौलका शिशु जन्मन्छन् । बच्चालाई स्याहार–सुसार गर्न आउँदैन,’ उनले भने, ‘शिशुलाई पौष्टिक आहार पुग्दैन र शिशुको अकालमै मृत्यु हुन्छ ।’ स्वास्थ्यसेवाको पहुँच नहुँदा पनि शिशु मृत्युदर बढिरहेको उनको भनाइ छ ।

चेपाङको बाहुल्य रहेको इच्छाकामनामा गरिबी, अशिक्षा, अन्धविश्वास, विकटता र पोषणको अभावका कारण बालमृत्युदर बढेको गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख धनबहादुर खड्काले बताए । ‘यहाँ कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउने चलन छ । आमा पनि परिपक्व हुँदैनन् । कम तौलका शिशु जन्मन्छन् । बच्चालाई स्याहार–सुसार गर्न आउँदैन,’ उनले भने, ‘शिशुलाई पौष्टिक आहार पुग्दैन र शिशुको अकालमै मृत्यु हुन्छ ।’ स्वास्थ्यसेवाको पहुँच नहुँदा पनि शिशु मृत्युदर बढिरहेको उनको भनाइ छ ।

चेपाङ बस्तीमा कुपोषणका कारण शिशुको बढी मृत्यु हुने गरेको स्वास्थ्यप्रमुख खड्काले बताए । ‘वर्षभरि दुःख गरेर ६ महिना मात्र खान पुग्छ, बाँकी ६ महिना उनीहरूको अनिकालमै बित्छ,’ उनले भने, ‘आमाले त राम्रोसँग खान पाउँदिनन्, बच्चालाई कहाँबाट पौष्टिक आहार पुग्नु !’ कलिलै उमेरमा विवाह गर्दा आमा र शिशुको समेत स्वास्थ्य राम्रो नहुने उनले बताए ।

शिशु मृत्युदर रोक्नका लागि गाउँ–गाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिइन् । ‘प्रत्येक टोलमा आमासमूह गठन गरेका छौँ । उनीहरूमार्फत बालविवाह रोक्न तथा पोषणसम्बन्धी परामर्श दिने गरेका छौँ,’ गुरुङले भनिन्, ‘आगामी दिनमा पोषणलक्षित कार्यक्रम पनि ल्याउँदै छौँ ।’

इच्छाकामना गाउँपालिकामा प्रदेश सरकारले पोषण कार्यक्रमका लागि एक लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । तर, उक्त रकम अपुग हुने अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाका बर्थिङ सेन्टरमा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले पोषणका लागि १० हजार रुपैयाँ प्रदान गर्दै आएको उनले बताइन् ।
गाउँपालिकाबाट सुत्केरी आमालाई हर्लिक्स वितरण हुँदै आएको छ । इच्छाकामना गाउँपालिकामा पोषणगृह छैन । आगामी दिनमा पोषणगृह स्थापना गर्ने सोचमा रहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय