‘रिटोटलिङ’मा नम्बर फरक परेपछि आइओएमको एमडी/एमएस प्रवेश परीक्षा विवादमा

कम्प्युटराइज प्रणालीबाट लिइने चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को प्रवेश परीक्षामा रिटोटलिङ गर्दा बढी नम्बर आएपछि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ ।
आइओएमले १६ चैतमा सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजालाई लिएर केही विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिएका थिए । सोक्रममा एकजना परीक्षार्थी सञ्जीव परियारको सुरुमा ५३ नम्बर आएकोमा रिटोटलिङ गर्दा ६१ नम्बर आएपछि परीक्षा प्रणालीमा प्रश्न उब्जिएको हो ।

कम्प्युटराइज परीक्षा प्रणाली अवलम्बन गरिएकोमा प्राप्तांक नै फरक परेपछि परीक्षाको विश्वसनीयतामा प्रश्न उब्जिएको हो । यो घटनालाई लिएर गैरसरकारी चिकित्सक संघले सोमबार आइओएमको डिन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ । संघका महासचिव डा. रीतेश थापाले कम्युप्टरबाटै उत्तरपुस्तिका परीक्षण गर्ने भनिएको परीक्षामा वस्तुगत प्रश्नको जाँच र प्राप्तांकमा समेत अन्तर देखिएपछि परीक्षा प्रणालीमै प्रश्न उब्जिएको बताए ।

थापाका अनुसार गैरसरकारी चिकित्सक संघले संस्थागत रूपमै यस विषयको छानबिनको माग गरेको छ । संघले विज्ञाप्तिमा यस्ता त्रुटिले दिनरात मिहिनेत गरेर परीक्षामा सहभागी भएका चिकित्सकको मनोबल गिरेको र परीक्षा प्रणालीमा शंका उब्जिएको भन्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिनसमेत सचेत गराएको छ । संघले ज्ञापनपत्र बुझाए पनि आइओएमले छानबिन एवम् स्पष्टीकरण नदिई ओपनहाउस काउन्सिलिङको सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय