बिरामीमा अन्धविश्वास, चिकित्सकमा ज्ञानको कमी र सरकारको उपेक्षाले मानसिक स्वास्थ्य नाजुक छ

डा. सरोज वझा
प्रकाशित
२०७६ वैशाख ६ गते १४:४३

मानसिक स्वास्थ्य भनेको के हो ?
मानसिक स्वास्थ्य तथा मानसिकरोग दुईवटा कुराबारे बुझ्नु आवश्यक छ । धेरैजसो मानिसको बुझाइ मानसिक अवस्था ठिक नभएको भन्नेबित्तिकै मानसिकरोग भन्ने छ । मानसिक स्वास्थ्यबारे बुझ्नुभन्दा पहिले प्रत्येक मानिसले पहिले स्वास्थ्य भनेको के हो बुझ्नु आवश्यक हुन्छ ।
शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ भएको अवस्थालाई स्वस्थ भन्ने बुझिन्छ । शारीरिक रूपमा स्वस्थ रहनुको अवस्थालाई आममानिसले स्वस्थताका रूपमा बुझ्ने गरेका छन् । तर, मानसिक स्वास्थताविना कुनै पनि मानिस स्वस्थ रहन सक्दैन ।
मानिसको जीवनमा आउने गरेका तनावहरूले जीवनमा उतार–चढावको स्थिति सिर्जना गर्छन् । मानिसको मनोविज्ञानले जीवनमा आएका विभिन्नप्रकारका तनावलाई वहन गर्ने काम गर्छ । उक्त प्रक्रियामा शरीरले धान्न सक्नेभन्दा बढी तनाव मानिसलाई पर्यो भने ऊ बौलाउने गर्छ । यसको मतलब के हो भने, पारिवारिक, सामाजिक, व्यक्तिगत, प्राकृतिकलगायत जे–जस्ता तनावहरू आए पनि मानिसको दिमाग र शरीरले तिनीहरूलाई धान्न सकेको अवस्था र तिनीहरूलाई बहन गरेर आफ्नो दैनिक क्रियाकलापहरू निर्बाध रूपमा सुचारु गर्न सकेको अवस्थालाई हामी मानसिक रूपमा स्वस्थ रहेको भन्छौँ । तर, कुनै पनि मानिसको मनोविज्ञानमा मानसिक स्वास्थ्य कमजोर भयो भने सानोतिनो तनावले पनि उसको दैनिक जीवनमा असर पर्ने, निद्रा खलबलिने, भोक नलाग्ने, मनमा अनावश्यक कुराहरू आउने, कोही–कोहीमा त तनावसँग डराएर आत्महत्या नै पनि गर्ने स्थिति आउँछ । यी सबै कुरा मानसिक स्वास्थ्यको समस्याभित्र समावेश हुने विषय हुन् । तर, मानसिक स्वस्थताको अवस्था भनेकै जस्तोसुकै तनावलाई पनि वहन गरेर आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न सक्नु हो ।

मेरो व्यक्तिगत अनुभवमा भन्ने हो भने नेपालमा मानसिकरोगमा पनि अहिले डिप्रेसनको समस्या बढी देखिएको छ । कतिपय मानिसले आफूलाई डिप्रेसन भएको थाहै नपाई आत्महत्यासमेत गर्छन् । डिप्रेसन नेपालको मात्र नभई विश्वकै लागि चुनौतीका रूपमा देखापरेको छ ।

मानसिक समस्याभित्र के–कस्ता रोग वा समस्या समावेश हुन्छन् ?
मानसिक रूपमा स्वस्थ नभई कुनै पनि मानिस स्वस्थ हुन सक्दैन । ‘नो हेल्थ विदाउट मेन्टल हेल्थ’ भन्ने नारा नै छ । मानसिक समस्याभित्र धेरै कुरा समावेश हुन्छन् । मानसिकरोगलाई कडाखालका मानसिकरोग तथा सामान्यखालका मानसिकरोग भनी वर्गीकरण गर्न सकिन्छ ।
कडाखालका मानसिकरोगभित्र करिब २० प्रतिशत मानसिकरोग पर्छन् । ८० प्रतिशत मानसिकरोग भने सामान्यखाले मानसिक रोगभित्र पर्छन् । कडाखालका मानसिकरोगलाई साइकोसिस भन्ने गरिन्छ । साइकोसिस हुने विभिन्न कारणमा सबैभन्दा प्रमुख कारण ‘सिजियोफेनिया’ हो भने अर्काेचाहिँ ‘बाइपोलार डिसअर्डरमेनिया’ भन्ने हुन्छ । यी साइकोसिस हुने कडाखालका रोगभित्र पर्छन् । सामान्यखालका मानसिकरोगभित्र पर्ने विभिन्न समस्यामध्ये नेपालमा देखापरेको साझा समस्या डिप्रेसन हो भने कतिपयलाई मन डराउने अर्थात् एन्जाइटी डिसअर्डर, अल्कोहल युज डिसअर्डर, सोसलफोबियाजस्ता मानसिकरोग देखापर्ने गर्छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार हरेक ५ मध्ये १ जनामा मानसिक समस्या देखापरेको छ । त्यो हिसाबले कुनै पनि मुलुकको करिब १५–२० प्रतिशत जनतामा मानसिक समस्या छ ।

मानसिकरोगका कारण के हुन् ?
वैज्ञानिक तथ्यका आधारमा मानसिकरोगका ३ वटा कारण महत्वपूर्ण मानिएका छन् । पहिलो कारणमा व्यक्तिगत वा वंशानुगत कारण पर्छ । परिवारका कुनै सदस्यमा मानसिकरोग छ भने तल्लो पुस्तामा पनि मानसिकरोग हुने सम्भावना हुन्छ । त्यस्तै, टाउकोमा ठूलो चोटपटक लाग्नु, विभिन्न प्रकारका संक्रमण हुनु, शारीरिक रूपमा कडाखालका रोगहरू, जस्तै, सुगर, उच्च रक्तचापका कारण पनि मानसिक रोगहरू लाग्न सक्छन् ।
दोस्रोमा मनोवैज्ञानिक कारण पर्छ । जस्तै, मानिसले जन्मिएपश्चात् जसरी आफ्नो स्वभाव तथा व्यक्तित्वको विकास गर्छ, त्यसमा आएका कमी–कमजोरीका कारण पनि मानसिकरोग लाग्न सक्छन् ।
अर्काे तेस्रो कारण भनेको सामाजिक कारण हो । आजभोलि मानसिकरोगको महत्वपूर्ण कारण भनेको मानिसको तनावपूर्ण जीवनशैली बनेको छ । मानिसले आफूमा आएको तनावलाई सजिलैसँग वहन गर्न नसकेका कारण कतिपय मानिस मानसिकरोगको सिकार बन्न पुग्छन् ।
मानिसमा विभिन्नप्रकारका तनाव हुन सक्छन्, जस्तै, आर्थिक तनाव, पारिवारिक तनाव, व्यक्तिगत तनाव, अध्ययनको तनाव, नाता–सम्बन्धको तनाव, प्रेमसम्बन्धका तनाव । यी विविध तनावका कारण मानिसमा मानसिक समस्या देखापर्न सक्छन् ।
समग्रमा मानसिकरोग लाग्ने कारणहरू खोतल्दै जाने हो भने वंशानुगत, मनोवैज्ञानिक र सामाजिक कारणले मानिसमा मानसिक समस्या सिर्जना हुने गर्छ ।

नेपालाको सन्दर्भमा कुन–कुनखाले मानसिक समस्या बढी देखिने गरेका छन् ?
मेरो व्यक्तिगत अनुभवमा भन्ने हो भने नेपालमा मानसिकरोगमा पनि अहिले डिप्रेसनको समस्या बढी देखिएको छ । कतिपय मानिसले आफूलाई डिप्रेसन भएको थाहै नपाई आत्महत्यासमेत गर्छन् । डिप्रेसन नेपालको मात्र नभई विश्वकै लागि चुनौतीका रूपमा देखापरेको छ ।
डिप्रेसनपश्चात् नेपालमा देखिएको अर्काे ठूलो समस्या भनेको मन डराउने समस्या अर्थात् एन्जाइटी डिसअर्डर हो । त्यसपश्चात् अन्य मानसिकरोगहरू लागुऔषध दुव्र्यसन तथा अल्कोहलको प्रयोग गरेका कारण आउने मानसिक समस्या हुन् ।

मानसिकरोगको विश्वव्यापी अवस्था कस्तो छ ?
विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार हरेक ५ मध्ये १ जनामा मानसिक समस्या देखापरेको छ । त्यो हिसाबले कुनै पनि मुलुकको करिब १५–२० प्रतिशत जनतामा मानसिक समस्या छ । नेपालमा भने अहिलेसम्म मानसिकरोगीको नेसनल सर्वे भएकै छैन । सन् २०१९ भित्रै नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा राष्ट्रव्यापी रूपमा सर्वेक्षण गर्ने योजना बनाएको छ ।

नेपालमा पछिल्लो समय युवापुस्तामा मानसिक समस्या बढ्नुका कारण के होलान् ?
युवापुस्तामा मानसिक समस्या व्यापक रूपमा बढ्दै जानुका विभिन्न कारणमध्ये वैदेशिक रोजगारी एउटा प्रमुख कारण हो । साथै, बेरोजगारीका कारण सिर्जना भएको आर्थिक अभाव पनि मानसिकरोगको अर्को महत्वपूर्ण कारण हो ।
गुणस्तरीय शिक्षाका लागि विदेश जानुपर्ने अवस्था, राजनीतिक अस्थिरताजस्ता विभिन्न सामाजिक कारणले हाल नेपालमा युवा मानसिकरोगीको संख्या बढ्दै गएको छ । अल्कोहल तथा लागुऔषधको अत्यधिक सेवनका कारण पनि युवापुस्तामा मानसिकरोगीको संख्या बढ्दै गएको हो ।

जनमानसमा रहेको गलत धारणाका कारण मानसिकरोगीहरू अझै पनि खुल्न सक्ने अवस्थामा छैन । मानसिक स्वास्थ्यक्षेत्रलाई सरकारले पनि उपेक्षा गरेको छ । मानसिक रोगको क्षेत्रमा जटिलता आए पनि समयमा उपचार गराउन सकेको खण्डमा मानसिकरोगलाई नियन्त्रण गर्न तथा निको बनाउन सकिन्छ । मानसिकरोग लागेपश्चात् १ महिनादेखि ६ महिनासम्मको औषधिसेवनले ५० प्रतिशत मानसिकरोग निको हुन्छन् ।

लैंगिक हिसाबले मानसिक समस्याको अवस्था कस्तो पाउनुभएको छ ?
स्वदेशी तथा विदेशी विभिन्न अध्ययनका अनुसार कडाखालका मानसिकरोगको समस्या लोग्नेमान्छेमा बढी देखिने गरेको छ । तर, डिप्रेसन, एन्जाइटीलगायत सामान्यखाले मानसिक समस्या भने महिलामा बढी देखापरेको छ । त्यसैले, समग्रमा पुरुष या महिला भन्नुभन्दा पनि रोगको प्रकृतिअनुसार महिला र पुरुष दुवै मानसिकरोगको सिकार बन्ने गरेका छन् ।
नेपालमा व्याप्त केही रुढीवादी संस्कारका कारण डिप्रेसन तथा एन्जाइटीजस्ता रोगहरू महिलामा बढी मात्रामा देखापरेको हो । प्रविधिको विकासले पनि मानिसमा डिप्रेसन तथा एन्जाइटीको समस्या निम्त्याउन भूमिका खेलेको छ । आर्थिक, पारिवारिक तथा शैक्षिकस्तरका कारण पुरुषहरूभन्दा महिला बढी मानसिकरोगको सिकार हुन पुगेका हुन् ।
मानसिकरोग लागेपश्चात् उपचारको माध्यमबाट बिरामीलाई पुरानै स्थितिमा ल्याउन कत्तिको सम्भव छ ?
त्यो त रोगको प्रकृतिअनुसार हुन्छ, सबै प्रकारका रोगमा एउटै उत्तर दिन मिल्दैन । कडा तथा सामान्य, मानसिकरोगअनुसार उपचारको प्रभावकारिता पनि फरक हुन्छ । सामान्यखाले रोगमा पनि उदाहरणका लागि डिप्रेसनको कुरा गर्ने हो भने के कारणले डिप्रेसन भयो भन्ने कुरामा निर्भर हुन्छ । तनाव कम भयो भने डिप्रेसन ठिक हुन्छ । वंशानुगत कारणले डिप्रेसन भएको छ भने जीवनभर औषधि खानुपर्ने हुन्छ । वंशानुगतबाहेक अन्य कारणले भएको डिप्रेसनको उपचार सुरुदेखि नै गर्ने हो भने यसलाई पूर्ण रूपमा निको बनाउन सकिन्छ ।
जनमानसमा रहेको गलत धारणाका कारण मानसिकरोगीहरू अझै पनि खुल्न सक्ने अवस्थामा छैन । मानसिक स्वास्थ्यक्षेत्रलाई सरकारले पनि उपेक्षा गरेको छ । मानसिक रोगको क्षेत्रमा जटिलता आए पनि समयमा उपचार गराउन सकेको खण्डमा मानसिकरोगलाई नियन्त्रण गर्न तथा निको बनाउन सकिन्छ । मानसिकरोग लागेपश्चात् १ महिनादेखि ६ महिनासम्मको औषधिसेवनले ५० प्रतिशत मानसिकरोग निको हुन्छन् ।

सरकारले मानसिक स्वास्थ्यक्षेत्रलाई उपेक्षा ग¥यो भन्ने धारणा पनि छ नि ?
नेपालमा १५ देखि २० प्रतिशत मानिसमा मानसिक समस्या छ । तर, राज्यको दृष्टिकोणमा शारीरिक स्वास्थ्य मात्रै परेको अवस्था छ । मानसिक स्वास्थ्यलाई खासै प्राथमिकतामा राखिएको छैन । यस क्षेत्रमा कम मात्र रकम विनियोजन हुने गरेको छ । भन्ने नै हो भने सेवा दिने चिकित्सकहरूलाई समेत मानसिक स्वास्थ्यबारे पर्याप्त ज्ञान नै छैन । त्यसमाथि पनि मनोचिकित्सकको संख्या नै कम छ ।

समाजमा अझै पनि रुढीवादी सोचाइका कारण धामीझाँक्रीमा विश्वास गर्ने मानिसको समूह पनि ठूलै छ । राज्यले प्राथमिकता नदिनु र जनमानसमा समेत रोगप्रतिको नकारात्मक धारणाका कारण मानसिक स्वास्थ्यको अवस्था नाजुक छ । शारीरिक, मानसिक, सामाजिक रूपमा स्वस्थ हुनुलाई स्वास्थ्य भनेपछि त्यसलाई कार्यान्वयन गर्ने दिशातिर सरकार जानु आवश्यक छ ।नेपालका जिल्ला अस्पतालहरूमा मानसिक स्वास्थ्यसेवा दिने चिकित्सक नै छैनन् । तसर्थ, मानसिक स्वास्थ्यका क्षेत्रमा जनशक्ति बढाउनतिर सरकार लाग्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय