‘कमिसनका लागि’ उपकरण किन्दै थन्क्याउँदै, प्रयोगविहीन बने महँगा उपकरण

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख ५ गते १६:०३

हरेक अस्पतालको एउटै उद्देश्य हुन्छ, अस्पताल आएका बिरामीलाई राम्रो उपचारसेवा दिने । यही उद्देश्यअनुरूप अस्पतालहरूले उपचारका लागि आवश्यक महँगा उपकरणहरू भित्र्याउने गरेका हुन्छन् । सरकारले सरकारी अस्पतालमा उपकरण खरिदका लागि भनेर बर्सेनि अर्बौं रकम विनियोजनका साथै भन्सारमा सहुलियतसमेत दिँदै आएको छ । तर, अस्पतालले खदिर गरेका महँगा उपकरणहरू प्रयोग आउन सकेका छैनन् । कतिपय उपकरण त एकपटक पनि प्रयोग नगरी थन्किने गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले केही दिनअघि सार्वजानिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा मुलुकका १८ वटा अस्पतालले खरिद गरेका ३५ भन्दा बढी उपकरण प्रयोगविहीन थन्किएर बसेको पाइएको छ ।

स्वास्थ्य सेवाप्रवाहका लागि खरिद भएका मेसिनरी उपकरणहरू सम्बन्धित विशेषज्ञ तथा आवश्यक पूर्वाधार अभावका कारण उपयोग हुन नसकेका हुन् । सरकारले उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति र पूर्वाधारका लागि पर्याप्त बजेट उपलब्ध नगराउँदा महँगो मूल्यमा खरिद गरिएका अत्यावश्यक उपकरणहरू खेर गइरहेका छन् लाखौँ बिरामी उपचरासेवाबाट वञ्चित भइरहेका छन् ।

कुन अस्पतालमा कस्ता उपकरण प्रयोगविहीन थन्किएका छन् :

१. भक्तपुर अस्पताल
– भक्तपुर अस्पतालले आर्थिक वर्ष ०७२–०७३ मा १० लाख ९० हजारमा खदिर गरेको जेनेरेटर मेसिन हालसम्म पनि सञ्चालनमा आएको छैन ।
– २१ जेठ ०७५ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएको फुल्ली एटोमेटेड एनलाइजर मेसिन पनि प्रयोगविहीन छ ।
– इन्डोस्कोपी मेसिन पनि थन्किएको धेरै समय बितिसकेको छ ।

२. जिल्ला अस्पताल गुल्मी
जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्यसेवा विभागबाट प्राप्त एक्स–रे, सिओ२ सिलिन्डर मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् । त्यसैगरी, इसिजी माइक्रोस्कोपको उपकरण मर्मत नभएका कारण तथा चिकित्सक अभावका कारण प्रयोगविहीन भएर अस्पतालमा थन्किएको छ ।

३. सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर
आर्थिक वर्ष ०७४–०७५ मा खरिद भएको ट्रान्सफरमर हालसम्म जडान भएको छैन । उक्त उपकरण १९ लाख ९० हजारमा खरिद गरिएको थियो ।

४. पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १० करोड ६२ लाख २ हजारमा खदिर गरिएको १.५ टेस्ला एमआरआई मेसिन हालसम्म पनि सञ्चालनमा आएका छैनन् । त्यसैगरी, ०७४ भाद्रबाट सिटी स्क्यान मेसिन बिग्रेका कारण हालसम्म पनि प्रयोगविहीन छ ।

५. वीर अस्पताल
वीर अस्पतालमा एक वर्षअघिदेखि नै २ वटा भेन्टिलेटर सञ्चालनविहीन छन् ।

६. धौलागिरि अञ्चल अस्पताल
धौलागिरि अञ्चल अस्पतालमा युएसजी, इसिजी, इन्डोस्कोपी मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् ।
अस्पतालमा स्वास्थ्यसेवा विभागले २६ साउन ०७४ मा ३६ लाख ९७ हजार मूल्यका २ हेमोडायलाइसिस मेसिन उपलब्ध गराएकोमा सुरुवातदेखि नै मेसिन सञ्चालनमा आएको छैन । अस्पतालले ४ वटा हेमोडायलाइसिस मेसिन रहेकोमा २ वटा मात्र सञ्चालन गरी हप्तामा ६ जनालाई सेवा दिँदै आएको छ । मेसिन अभावले २० जना बिरामीले प्रतीक्षासूचीमा पालो कुर्नुपर्ने बाध्यता छ ।

७. महाकाली अञ्चल अस्पताल
महाकाली अञ्चल अस्पतालमा ३ वर्षदेखि आइसियूसम्बन्धी विभिन्न उपकरण सञ्चालनमा नआएको पाइएको छ । उक्त उपकरणहरू ६९ लाख १२ हजारमा खरिद गरिएका थिए ।

८. मालाखेती अस्पताल, कैलाली
कैलालीको मालाखेती अस्पतालमा स्वास्थ्यसेवा विभागबाट प्राप्त एक्स–रे मेसिन, इपी ३०० सञ्चालनमा आएका छैनन् ।

९. क्षेत्रीय मेडिकल स्टोर, बाँके
हुम्ला र डोल्पाका लागि खरिद भएको सोलार प्यानल बाँकेमा रहेको भए पनि सञ्चालनमा आउन सकेको छैन । सोलार प्यानल १३ लाख ९६ हजारमा खरिद गरिएको थियो ।

१०. जाजरकोट अस्पताल
जाजरकोट अस्पतालमा जिए मेसिन तथा डिजिटल एक्स–रे उपकरण मर्मत नभएका कारण सञ्चालनमा आउन सकेका छैनन् ।

११. बाजुरा अस्पताल
दुई वर्षदेखि बिग्रिएको एक्स–रे, बेबी वार्मर उपकरण प्रायोगविहीन छन् ।

१२. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

११ भदौ ०६८ मा चीन सरकारबाट प्राप्त एक्स–रे १ र अल्ट्रासाउन्ड मेसिन प्रयोगविहीन अवस्थामा अस्पतालमा थन्किएर बसेका छन् ।

१३. कान्ति बाल अस्पताल
कान्ति बाल अस्पतालमा रहेको ४ करोड ५४ लाखको सिटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डिआर मेसिन सञ्चालनमा नआउँदा मासिक २ हजारभन्दा बढी बिरामीलाई अन्य अस्पतालमा रेफर गनुपर्ने बाध्यता छ ।

१४. मेची अञ्चल अस्पताल
स्वास्थ्यसेवा विभागबाट २ चैत ०७४ मा नवजात शिशु सघन उपचारकक्ष सञ्चालन गर्ने उपकरण ३३ लाख ३६ हजार मूल्यको जडान भए पनि जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।

१५. पाटन अस्पताल
पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा हेमोडायलाइसिसका लागि उपलब्ध १२ मेसिनमध्ये स्वास्थ्यसेवा विभागबाट प्राप्त २ वटा मेसिन भण्डारण गरेर राखिएको पाइएको छ । १० वटा मेसिनले दैनिक ३० जना बिरामीलाई डायलाइसिस गराएको भए पनि पर्याप्त मेसिन अभावका कारण सेवाप्रवाहमा कठिनाइ भएको पाइएको छ ।

१६. शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
रगतसम्बन्धी विभिन्न परीक्षण गर्न २९ मंसिर ०७४ मा सेभ द चिल्ड्रेनबाट सहयोगमा प्राप्त १ लाख ८२ हजार अमेरिकी डलर मूल्यबराबरको पिसिआर मेसिन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशाला भवनमा उपयोगविहीन अवस्थामा थन्किएको छ, जुन हालसम्म एकपटक पनि प्रयोगमा आएको छैन । उक्त मेसिन विधिवत् हस्तान्तरण भई नआएकाले सञ्चालनमा आउन नसकेको अस्पतालको भनाइ छ ।

१७. हेटौँडा अस्पताल
हेटौँडा अस्पतालको स्तरवृद्धि गर्न ३ सय शय्या थप गर्नेक्रममा खरिद वा प्राप्त गरेका १० प्रकारका २४ लाख ८३ हजार मूल्यबराबरका नियोनेटल भेन्टिलेटरलगायत उपचार उपकरणहरू अस्पतालमा प्रयोगविहीन रूपमा भण्डारण गरेर थन्क्याइएका छन् । उक्त उपकरणमध्ये विभागबाट प्राप्त इन्प्यान्टोमिटरको मूल्य खुलेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय