वैज्ञानिकले खोजे अस्वस्थकर सेतो नुनको स्वस्थकर विकल्प, स्वादमा गर्नुपर्दैन सम्झौता

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख ४ गते ११:०३

सेतो नुन (सोडियम क्लोराइड) स्वास्थ्यका लागि हानिकारक हुन्छ । नुनको अधिक सेवनले उच्च रक्तचाप, मोटोपनलगायत अनेक किसिमका रोग निम्त्याउँछ । तर, संसारभरि नै खानामा नुनको प्रयोग युगौँदेखि अनवरत कायमै छ । मानव जिब्रोका लागि सम्भवतः सबैभन्दा अभ्यस्त र नभई नहुने स्वाद नै नुन हो । हामीलाई नुनको नसा यति प्रबल छ कि, विनानुनको खानाले एक छाक मात्र पनि टार्न मुस्किल छ । यद्यपि, हाम्रो अपरिहार्य खाद्यतत्वका रूपमा युगौँयुगदेखि रहेको नुन स्वास्थ्यका लागि भने हानिकारक छ ।

वासिंग्टन स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले नुनका केही यस्ता विकल्प खोजेका छन्, जसको प्रयोगले तपाईंको खाना पनि स्वादिष्ट हुन्छ र तपाईंको स्वास्थ्यमा पनि न्यून मात्र नोक्सान पुर्याउँछ । यो अध्ययन ‘जर्नल अफ फुड एन्ड साइन्स’मा छापिएको छ । शोधकर्ता क्यारोलिन रास बताउँछन्, ‘बजारमा पहिले नै कम सोडियमयुक्त नुन उपलब्ध छन्, तर यो मानिसलाई मनपर्दैन, किनकि, खानामा यिनको प्रयोगले प्रयोगकर्ताले स्वादमा सम्झौता गर्नुपर्ने हुन्छ । तर, यस अध्ययनमा नुनका जुन विकल्प खोजिएका छन्, तिनले खानाको स्वाद पनि बढाउनेछन् र स्वास्थ्यका लागि हानिकारक पनि हुनेछैनन् ।’

नुनको दोस्रो विकल्प– कम हानिकारक नुन

संसारभर सबैभन्दा बढी सेतो नुन अर्थात् सोडियम क्लोराइडको प्रयोग गरिन्छ । सेतो नुनको अधिक सेवन गर्नाले स्वास्थ्यमा नराम्रो असर पर्छ । आज संसारभरमा करोडौँ मानिसले उच्च रक्तचाप, मस्तिष्कमा पानी जम्नु, बाथलगायत रोगका कारण ज्यान गुमाइरहेका छन् । त्यसैकारण वैज्ञानिकहरूले नुनको उपयुक्त विकल्पहरुबारे अनुसन्धान सुरु गरे, जुन स्वास्थ्यका लागि कम हानिकारक होऊन् ।

पोटासियमले रक्तचापलाई नियन्त्रण गर्छ

अध्ययनसिद्ध छ कि, सोडियम क्लोराइड (सेतो नुन)को अपेक्षामा पोटासियम क्लोराइड र क्याल्सियम क्लोराइड शरीरका लागि सुरक्षित छन् । पोटासियमले उच्च रक्तचापको समस्यालाई पनि कम गर्छ । तर, पोटासियम क्लोराइडको स्वाद तितो हुन्छ, जसका कारण आजअघि यसलाई नुनको विकल्पका रूपमा प्रयोग गरिँदैनथ्यो ।

कसरी खोजे वैज्ञानिकले सेतो नुनको विकल्प ?

वैज्ञानिकहरूले ई–टंग (इलेक्ट्रोनिक जिब्रो) र प्यानल्सको मद्दतले अनेक किसिमका नुनलाई मिलाएर एउटा यस्तो कम्पोजिसन तयार गरेका छन्, जसले खानालाई सोतो नुनले जस्तै स्वादिष्ट पनि बनाउँछ र सेवनकर्ताको स्वास्थ्यमा हानि पनि पुर्याउँदैन । ई–टंगले मानिसको जिब्रोलाई कुन स्वाद मनपर्छ र कुन पर्दैन भन्ने कुराको जानकारी दिन्छ ।

अनेक किसिमका नुनको कम्बिनेसन : स्वास्थ्यमा अब्बल, स्वादमा समान

हानिकारक सेतो नुनको विकल्पका रूपमा शोधकर्ताहरूले ७८% सोडियम क्लोराइड र २२% क्याल्सियम क्लोराइडलाई मिलाएर एउटा नायाँ कम्बिनेसन बनाए । यसका अतिरिक्त एउटा अर्को कम्बिनेसन पनि बनाए, जसमा ९६.४% सोडियम क्लोराइड, १.६% पोटासियम क्लोराइड र २% क्याल्सियम क्लोराइड मिलाइयो । अनुसन्धानका क्रममा यो नतिजा प्राप्त भयो कि, यी कम्बिनेसन र सेतो नुनमा स्वादका हिसाबले खासै अन्तर पाइएन, तर स्वास्थ्यका लागि भने सेतो नुनको तुलनामा यी कम्बिनेसन अत्यधिक सुरक्षित पाइए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय