काठमाडौंमा मात्रै ६ महिनामा क्यान्सरका ७ सय २ नयाँ बिरामी, फोक्सो र स्तन उच्च जोखिममा

काठमाडौं उपत्यकामा ६ महिनामा ७ सय २ जना क्यान्सरका नयाँ बिरामी देखापरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको पहिलो ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यो सन् २०१८ को जनवरीदेखि जुन महिनासम्मको विवरण हो । क्यान्सरका नयाँ बिरामीमध्ये सबैभन्दा बढी ७० देखि ७४ वर्ष उमेरसमूहका पाइएका छन् ।

उपत्यकामा ६ महिनाको अवधिमा ३ सय २३ पुरुष र ३ सय ७९ महिलामा क्यान्सर पाइएको हो । परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार उक्त अनुसन्धानमा पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर पाइएको छ भने दोस्रोमा ओठ तथा मुखको क्यान्सर पाइएको छ । त्यसैगरी, पुरुषमा आन्द्रा तथा गुदद्वारको क्यान्सर तेस्रो नम्बरमा देखिएको छ । महिलामा भने स्तनक्यान्सरको स्थान पहिलो छ । त्यसैगरी, दोस्रोमा फोक्सोको क्यान्सर र तेस्रोमा पाठेघरको क्यान्सरबाट महिला पीडित रहेको तथ्यांकले देखाएको छ । क्यान्सर रजिस्ट्रीको पूर्ण तथ्यांक आउन भने अझै केही समय लाग्ने परिषद्ले जनाएको छ ।

उपत्यकामा ६ महिनाको अवधिमा ३ सय २३ पुरुष र ३ सय ७९ महिलामा क्यान्सर पाइएको हो । परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार उक्त अनुसन्धानमा पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर पाइएको छ भने दोस्रोमा ओठ तथा मुखको क्यान्सर पाइएको छ । त्यसैगरी, पुरुषमा आन्द्रा तथा गुदद्वारको क्यान्सर तेस्रो नम्बरमा देखिएको छ ।

भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा (६३ प्रतिशत) क्यान्सरका बिरामी पाइएका छन् । त्यस्तै, दोस्रो नम्बरमा ललितपुर जिल्लामा (२१ प्रतिशत) र तेस्रोमा भक्तपुरमा (१६ प्रतिशत) क्यान्सररोगी भेटिएको तथ्यांक छ । विभिन्न जातजातिमध्ये काठमाडौं उपत्यकामा नेवार जातिमा क्यान्सरको प्रकोप बढी (३९ प्रतिशत) पाइएको छ । त्यसैगरी, दोस्रोमा बाह्मण/क्षेत्री (३७ प्रतिशत) र तेस्रोमा अन्य जनजाति (१९ प्रतिशत) क्यान्सरपीडित रहेको पाइएको अधिकृत धिमालले बताए ।

नेपालमा पनि यसरी नै क्यान्सर प्रमुख समस्या बनिरहँदा एकीकृत तथ्यांकको भने अभाव रहेको छ । यद्यपि, सन् २००३ देखि अस्पतालमा आधारित क्यान्सर रजिस्ट्री सुरु भए पनि विभिन्न भौगोलिक क्षेत्रमा बसोवास गर्ने मानिसमा क्यान्सरको स्थिति के–कस्तो छ भन्ने यकिन आँकडा हालसम्म उपलब्ध नभएको परिषद्को भनाइ छ ।

क्यान्सरसम्बन्धी विश्वसनीय तथ्यांकका लागि जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री हुनुपर्छ । यही अपरिहार्यतालाई आत्मसात् गरेर नेपालको कुन क्षेत्र (जिल्ला)मा बसोवास गरिरहेको जनसंख्यामध्ये कतिमा एक वर्षभित्र नयाँ क्यान्सर देखापरेको छ, कुन अंगको क्यान्सरको प्रकोप बढिरहेको छ र एक वर्षमा कुन क्षेत्रमा कति मानिसको क्यान्सरका कारण मृत्यु भएको छ भन्ने कुराको यकिन तथ्यांक निकाल्न क्यान्सर रजिस्ट्री प्रणाली प्रारम्भ भएको परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउँछन् ।

यस्तो तथ्यांक अद्यावधिक भए मात्रै त्यसका आधारमा उपचार, रोकथामका कार्यक्रम र दीर्घकालीन योजना तर्जुमा गर्न सहज हुन्छ । साथै, क्यान्सरको रोकथाम तथा उपचारका लागि कार्यक्रम, जनशक्ति उत्पादन, स्वास्थ्यसंस्था निर्माणजस्ता विषयमा नीति तथा योजना निर्माण गर्न सरकारसमक्ष आग्रह गर्न जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री गर्नु आवश्यक रहेको परिषद्को भनाइ छ ।

नागरिकमा उपचारका क्रममा सामाजिक तथा आर्थिक भार थप्दै गएको स्वास्थ्यसमस्यामध्ये क्यान्सर प्रमुख हो । तथ्यांकअनुसार विश्वमा हुने कुल मृत्युको दोस्रो प्रमुख हिस्सा क्यान्सरले ओगटेको छ । क्यान्सरका कारण सन् २०१८ मा मात्र ९६ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालका भिन्नाभिन्नै भौगोलिक क्षेत्र समावेश हुने गरी हाल ९ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, सिरहा, सप्तरी, धुनषा, महोत्तरी, पश्चिम रुकुम र पूर्वी रुकुम)मा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री भइरहेको छ । उल्लेखित जिल्लामा बसोवास गर्ने मानिसले क्यान्सररोगको निदान तथा उपचारका जान सक्ने सम्भावित सम्पूर्ण स्वास्थ्यसंस्था, अस्पताल, प्याथोलोजी, हस्पिस, आयुर्वेद, सामाजिक स्वास्थ्य सुरक्षा शाखा आदि स्थानबाट सन् २०१८ मा पत्ता लागेका क्यान्सर बिरामीको संख्या तथा सन् २०१८ मा क्यान्सरका कारण मृत्यु हुन पुगेका मानिसको आवश्यक विवरण संकलन गरी अन्तर्राष्ट्रिय क्यान्सर रजिस्ट्री (IARC) द्वारा मान्यताप्राप्त सफ्टवेर (Canreg)को सहायताले विवरण नदोहोर्याईकन तथ्यांक संकलन भइरहेको छ । यसरी क्यान्सरका बिरामी तथा मृतकको विवरण संकलनमा हालसम्म नेपाल तथा नेपालबाहिरका गरी ४८ किसिमका स्रोत प्रयोग भइरहेका छन् ।

जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री कार्यक्रमलाई यथाशीघ्र हरेक जिल्लामा अभियानकै रूपमा विस्तार गर्नुपर्ने परिषद्को सुझाब छ । यस तथ्यांकले आगामी दिनमा क्यान्सररोगको भार नेपालका कुन क्षेत्रको बासिन्दामा कति छ भनेर सही तथ्यांक उपलब्ध गराउँछ र त्यसैका आधारमा क्यान्सरको रोकथाम तथा उपचारसम्बन्धी नीति–निर्माण तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा अगाडि बढ्नुपर्ने अधिकृत डा. धिताल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय