चिकित्सकको ओपिडी बहिष्कारले अस्पतालका आकस्मिककक्षमा चुलियो भिड, हडतालमा यसरी दिइयो सेवा

कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरू एक सातादेखि सेवा–बहिष्कार आन्दोलनमा छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को गत शुक्रबारदेखि देशभर जारी अनिश्चितकालीन सेवा–बहिष्कार आन्दोलनका कारण दैनिक करिब ५० हजार निम्न आयस्तरका बिरामी मर्कामा परेका छन् । लामो समयदेखि ओपिडीसेवा बन्द रहँदा सरकारी अस्पतालका आकस्मिककक्षमा भिड अत्यधिक बढेको छ । के छ त प्रमुख सरकारी अस्पतालमा आकस्मिककक्षमा बिरामीको चापको अवस्था ? चिकित्सकका माग र आन्दोलनप्रति पूर्ण समर्थन हुँदाहुँदै पनि हडतालका वेला प्रमुख सरकारी अस्पतालले कसरी दिए त बिरामीलाई सेवा ? हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले तयार पारेको रिर्पोट :

वीर अस्पताल
मुलुककै पुरानो, ठूलो र समाजका अन्तिम वर्गको समेत पहुँचमा रहेको मानिने वीर अस्पतालमा एक सातादेखि ओपिडीलगायतका सेवा पूर्ण रूपमा ठप्प हुँदा हजारौँ बिरामी अलपत्र परेका छन् । वीरका निर्देशक डा. केदार सेन्चुरीले बिरामीको असुविधालाई मध्यनजर गर्दै केही दिनदेखि अस्पतालको प्रांगणमा टेन्ट राखेर उपचार दिइरहेको बताए । सेवा ठप्प पारेर वीरमा धर्नामा बसेका सरकारी चिकित्सकमा बुधबार प्रहरीले धरपकड गरी टिकट काउन्टर खुलाएपछि केही चिकित्सकले अस्पताल प्रांगणमै बिरामीलाई चेकजाँच गर्दै आएका छन् ।

अस्पतालमा सामान्य अवस्थामा दैनिक २ हजारको हाराहारीमा ओपिडी टिकट विक्री हुँदै आएको छ । सामान्य दिनमा वीरको आकस्मिककक्षमा २ सयको हाराहारीमा बिरामी आउने गरेकोमा ओपिडी हडतालको अवधिमा आकस्मिकसेवा लिनेको संख्या दोब्बर पुगेको उनी बताउँछन् । निर्देशक सेन्चुरीका अनुसार हाल दैनिक करिब ४ सयको संख्यामा आकस्मिकसेवाका लागि टिकट विक्री हुने गरेको छ । उनी भन्छन्, ‘बिरामीले ओपिडीमा सेवा नपाएपछि आकस्मिकको टिकट काटेर भए पनि उपचार गराएका छन् ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
मुलुककै एक मात्र सरुवारोग अस्पताल टेकुमा भने चिकित्सकले गोदानको सेवा–बहिष्कार आन्दोलनलाई पूर्णतः समर्थन जनाए पछि सेवाको संवेदनशीलतालाई मध्यनजर गर्दै अस्पतालमा आइपुगेका बिरामीलाई कुनै न कुनै प्रकारले सेवा दिइरहेका छन् । ‘कुकुरलगायतका जनावरको टोकाइबाट लाग्ने रेबिजविरुद्धको खोप समयमै नपाए बिरामीलाई रेविज लाग्छ र उसलाई मुत्युबाट बचाउन सकिँदैन,’ अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘यस्तो संवेदनशील अवस्थामा सेवा अवरुघ गर्नु हुँदैन ।’ चिकित्सकले उठाएका मागमा आफूले पूर्ण समर्थन जनाएको जनाउँदै पाण्डेले बिरामीको मर्मलाई पनि आत्मसात् गर्दै सेवा दिइरहेको बताए ।

अस्पतालको आकस्मिककक्षमा १२ वटा बेड छन् । ‘सामान्य अवस्थामा दैनिक केही बेड खाली रहने अवस्था हुन्थ्यो,’ डा. पाण्डे भन्छन्, ‘अन्य अस्पतालमा सेवा नपाउँदा हामीकहाँ बिरामी चाप केही बढ्न गएको छ ।’ यतिवेला अस्पतालका सबै आकस्मिक बेड भरिएका छन् । टेकु अस्पतालमा दैनिक ५ सयको हाराहारीमा ओपिडी टिकट बिक्री हुने गरेको छ ।

कान्ति बाल अस्पताल
मुलुकको एक मात्र केन्द्रीयस्तरको सरकारी बाल अस्पताल कान्तिले पनि चिकित्सकको सेवा–बहिष्कार आन्दोलनका बाबजुद पनि आस्पताल आइपुगेका बिरामीलाई यत्तिकै नर्फकाउन यथाशक्य प्रयास गरेको छ । ‘बोल्न नसक्ने बच्चाको स्वास्थ्य प्रत्येक आमाबुबाका लागि जटिल विषय हो,’ कान्तिका निमित्त निर्देशक डा. प्रकाश जोशी बताउँछन् । उनले बालबालिकाको स्वास्थ्य धेरै नै संवेदनशील हुने भएकाले अस्पतालको करिडोरमै राखेर भए पनि उपचारसेवा दिइरहेको बताए । ‘ओपिडी टिकट नकाटेर आकस्मिकको टिकटमै बिरामीको चेकजाँच गर्दै आएका छौँ,’ उनले भने ।

अस्पतालमा सामान्य अवस्थामा जस्तै हडतालका वेला पनि ६ सयको हाराहारीमा टिकट विक्री हुँदै आएको उनले जानकारी दिए । कान्तिमा आधाभन्दा बढी चिकित्सक अस्पताल विकास समितिअन्तर्गत कार्यरत भएकाले सरकारी दरबन्दीका चिकित्सकले सेवा–बहिष्कार गर्दा पनि अस्पतालले विकास समितिका चिकित्सकमार्फत बिरामीलाई सेवा दिँदै आएको छ ।

परोपकार प्रसूतिगृह
थापाथलीस्थित परोपकार प्रसूतिगृहमा गोदानको आन्दोलनको आंशिक मा प्रभाव रह्यो । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘सरकारी दरबन्दीका कम र अस्पताल विकास समितिमा बढी चिकित्सक कार्यरत भएका कारण हामीले बिरामीलाई सेवा दिन सक्यौँ ।’ अस्पतालमा हाल सरकारीतर्फ १६ र अस्पताल विकास समितितर्फ ४० जना चिकित्सक कार्यरत छन् ।

प्रसूतिगृहमा दैनिकजसो ६ सयदेखि ७ सय टिकट विक्री हुने गरेकोमा शुक्रबार भने ३ सयको हाराहारीमा मात्र टिकट विक्री भएको डा. गौतमले बताए । आकस्मिकतर्फ१ सयको हाराहारी टिकट विक्री भएको उनले जानकारी दिए ।
‘चिकित्सकका माग पूर्णतः जायज छन् । अहिलेको कर्मचारी समायोजनले चिकित्सकलाई झन् सुगमकेन्द्रित गराउने देखिन्छ,’ उनले भने, ‘सरकारले पेलेर जाने जुन नीति लिएको छ, त्यसले स्वास्थ्यक्षेत्रमा ठूलो असर पर्ने देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय