स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको ‘महाकुम्भ’ राजधानीमा सुरु

‘संघीय प्रणालीमा समानता र विकासका लागि अनुसन्धान’ नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन बुधबार राजधानीमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा ३ दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन बिहीबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा स्वास्थ्य वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी, स्वास्थ्यविज्ञ, मेडिकल चिकित्सकलगायत हजारभन्दा बढीको सहभागिता छ । सम्मेलनमा नेपालसहित अमेरिका, चीन, जर्मनी, भारतका विश्वविख्यात वैज्ञानिकसमेत सहभागी छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ । परिषद्ले ५ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

सम्मेलनमा स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्यबिमा, नसर्ने रोग, मातृस्वास्थ्य, बालस्वास्थ्य र किशोर–किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवारोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणालीजस्ता विषयमा विज्ञहरूको प्रस्तुति जारी छ ।
सम्मेलनको पहिलो सत्रको अध्यक्षता गर्दै स्वास्थ्य तथा जनसंख्यासचिव डा. पुष्पा चौधरीले स्वास्थ्य नीति तथा कार्यक्रम बताउन अनुसन्धान अत्यन्त जरुरी रहेको बताइन् । उनले स्वास्थ्यबिमा कार्यक्रमले जनतामा राम्रो प्रभाव परेको बताउँदै बिमा कार्यक्रमलाई छिटोभन्दा छिटो सबै जिल्लामा विस्तार गर्नुपर्ने कुरामा जोड दिइन् । पछिल्लो समय समायोजनको अन्योलले स्वास्थ्यका कार्यक्रम कार्यान्वयनमा समस्या आएको संकेत गर्दै उनले कर्मचारी समायोजन विवाद सुल्झाउन पहल भइरहेको जानकारी दिइन् । गुणस्तरीय स्वास्थ्यसेवाका लागि कानुन तथा नीति तथा कार्यक्रम राम्रा बनेका उल्लेख गर्दै उनले तिनको कार्यान्वयनमा सीमित स्रोत–साधन नै चुनौतीका रूपमा रहेको बताइन् ।

स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. विकास देवकोटाले यसै चालू आर्थिक वर्षमा १ हजार २ सय वडामा स्वास्थ्यचौकी भवन, ६ सय ४० स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण कार्य अघि बढाएको बताए । पछिल्लो २० वर्षमा नेपालले आमा तथा नवजात शिशु, सरुवारोग नियन्त्रण तथा स्वास्थ्यमा भौतिक पूर्वाधार निर्माणमा सुधार गरेको उनले बताए ।

सम्मेलनका आयोजक संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले पछिल्लो समय नेपालमा नसर्ने रोगबाट धेरै मानिसको मुत्यु भएको जानकारी दिए । उनले भने, ‘कुल मृत्युमध्ये नसर्ने रोगबाट हुने मुत्यु ६६ प्रतिशत छ । ९ प्रतिशत चोटकपटकबाट र २५ प्रतिशत सरुवारोगका कारण मृत्यु हुने गरेको छ ।’ उनका अनुसार नसर्ने रोगको चुनौती थपिनुका मुख्य कारकमा समयअगावै हुने जन्म, उच्च रक्तचाप, धूमपान, रगतमा चिनीको अधिक मात्रा रहेका छन् ।

सम्मेलनको पहिलो सत्रमा संघीय संरचनामा स्वास्थ्य, नेपालमा रोगको भार, स्वास्थ्यका सूचक, स्वास्थ्यबिमालगायता विषयमा छलफल केन्द्रित थियो ।
बुधबारको दोस्रो सत्र सामाजिक स्वास्थ्यबिमा कार्यक्रममा केन्द्रित थियो । एसोसिएट प्राध्यापक डा. सतिस डिओले ‘नेपालमा स्वास्थ्यबिमा ः वर्तमान अवस्था, चुनौती र आगामी बाटो’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी, प्रा. डा. शिवराज अधिकारीले ‘नेपालमा स्वास्थ्यबिमा ः समालोचनात्मक अवलोकन’ विषयक प्रस्तुति दिएका थिए । कार्यपत्रमाथिको छलफलमा सहभागीहरूले ४४ जिल्लामा विस्तार भएको स्वास्थ्यबिमा कार्यक्रमको वर्तमान अवस्था, समस्या, चुनौती, आगामी सम्भावना र सुधारका बाटाहरूबारे धारणा राखेका थिए । छलफलमा सहभागी हुँदै प्रदेश १ का स्वास्थ्य निर्देशक डा. सागर दाहालले स्वास्थ्यबिमा सुरु गर्दा नै उद्देश्य र रणनीतिमै कमजोरी भएकाले परिवर्तन आवश्यक रहेको बताए । उनले मन्त्रालय र बिमा बोर्डको सम्बन्धबारे प्रश्न गर्दै कार्यक्रममाथि सूूक्ष्म विश्लेषणको आवश्यकता औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय