स्वास्थ्यसेवामा हडतालको पाँचौँ दिन मंगलबार वीरमा जे देखियो…

वीर अस्पतालको प्रांगण भरिभराउ छ । अस्पतालको दृश्य जनसभा चलिरहेको भन्दा कम छैन । ३०–४० जनाको समूह एकै ठाउँमा गोलबद्ध भएर उभिएका छन् ।

सेतो एप्रोन लगाएका एक चिकित्सक ठूलो स्वरमा भनिरहेका छन्, ‘यो समायोजन हामीलाई मान्य छैन । जबसम्म हामीसितको सम्झौताअनुरूपको समायोजन आउँदैन, हाम्रो आन्दोलन जारी रहनेछ ।’ सेवा छोडेर भेला भएका अन्य चिकित्सक उनको होमा हो मिलाइरहेका छन् । चिकित्सकसँगै केही मानिस उभिएर नारा सुनिरहेका छन् ।

सामान्य अवस्थामा वीरको टिकट काउन्टरमा पाइला हाल्ने अवस्था हुँदैन, तर आज शून्य छ । प्रांगणमा आर्थिक विपन्नताका कारण निजी अस्पतालमा पहुँच नभएका बिरामी कति खेर ओपिडी टिकट काउन्टर खुल्ला र जाँच गराउँला भनेर मलिन मुहार लिएर प्रतीक्षारत छन् । तर, उनीहरूको प्रतीक्षा समाप्त हुने दिन कसैलाई पनि थाहा छैन, न अस्पताल प्रशासनलाई, न हडताल गर्ने चिकित्सकलाई, न त सरकारलाई नै । अस्पतालको प्रांगणमा केही बिरामी सञ्चारकर्मीसँग आफ्नो दुखेसो पोखिरहेका छन् । विपन्नताले सिथिल बनाएका आफ्ना आवाज सञ्चारकर्मीमार्फत सरकारसम्म पुग्ला र संविधान प्रदत्त स्वास्थ्यसेवाको अधिकार पाइएला भनेर उनीहरूले प्रयास गरेको पनि ५ दिन बितिसकेको छ । यो दृश्य सरकारको पनि आँखैअगाडि छ, तर देखेको, सुनेको र सेवा सुचारु गराउन पहल गरेको भने कत्ति पनि महसुस हुन्न ।

कर्मचारी समायोजनको विषयलाई लिएर सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले शुक्रबारदेखि गरेको अनिश्चितकालीन सेवा–बहिष्कारको मंगलबार ५ दिन पुगिसकेको छ । उपचारको आसमा दूरदराजबाट आएका बिरामी अस्पताल प्रांगणमै ओछ्यान लगाएर कुरिरहेका छन् । तर, सेवा–सुचारु हुने छनक देखिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत स्वास्थ्यजस्तो अत्याश्यक सेवामा हडताल गर्न नपाइने बताउँदै आएको छ । मन्त्रिपरिषद्बाटै निर्णय गराएर अत्यावश्यक सेवामा हडताल निषेध घोषणा गरेको सरकार ५ दिनदेखि स्वास्थ्यसेवा ठप्प हुँदा न वार्ताको पहल गर्छ, न चिकित्सकका माग नजायज ठहर गरी पेलेर सेवा सुचारु गराउन सक्छ । सरकारको यो निरिहताले लाखौँ नागरिकलाई हैरानीसँगै बिरामीको स्वास्थ्य जोखिममा परेको छ । सरकार वार्ता र समस्या समाधानतर्फ नभई आन्दोलनकारीलाई थप चिढ्याउने गतिविधितर्फ उन्मुख देखिन्छ । सरकार न त सेवा अवरुद्ध गर्नेलाई कारबाही गर्छु भन्न छोड्छ, न सेवा खुलाउन नै ।

उता, आन्दोलनरत चिकित्सक भने सामूहिक राजीनामा दिने धम्की दिँदै हडताललाई थप कसिलो पार्न कोसिसरत छन् । सरकारले विगतको सहमति र कार्यकारी प्रमुखकै आश्वासनविपरीत समायोजन सूची जारी गरेकाले बाध्य भएर कठोर आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ । यसअघि पनि दुई चरणमा आन्दोलन गरिसकेको गोदान शान्तिपूर्ण आन्दोलनका कुनै पनि कार्यक्रमले सरकारलाई नछोएका कारण कठोर कदम चाल्नुपर्ने अवस्था आएको बताउँछ । सरकारले झुक्याएर चिकित्सकमाथि विभेदपूर्ण समायोजन लाद्न खोजेको आरोप गोदानको छ । यी दुईको जुधाइमा दैनिक ५० हजारभन्दा बढी विपन्न बिरामी नराम्ररी पिल्सिरहेका छन् ।

५ दिनदेखि वीरको प्रांगणमा उपचार कुरिरहेका बिरामीले यसरी पोखे वेदना–

घटना १
सिरहाकी १६ वर्षीया विनिता ठाकुर पेटमा जेमेको पानी निकाल्न शुक्रबार भिनाजुको साथमा काठमाडौं आइन् । उनको ४ वर्षअघि पेटमा मासु पलाएको पत्ता लागेको थियो । त्यसको उपचार गराउँदा–गराउँदै पछि पेटमा पानी जम्ने समस्या देखा पर्यो । उनको शरीरमा पेटको भाग पूरै फुलेको छ । तर, शरीरका अन्य अंग भने पूरै सुकेका छन् । ‘सिरहामा रहेको अस्पतालमा उपचार नहुने भएपछि काठमाडौं ल्याएँ,’ विनिताका भिनाजु अमित ठाकुर भन्छन्, ‘तर, यहाँ आउँदा थाहा भयो, चिकित्सकको आन्दोलन रहेछ ।’

सुरुवातमा एक–एक महिनामा पानी जम्नेर असहज अवस्था आउने गरेकोमा पछिल्लो समय एक–दुई दिनमै त्यस्तो हुने गरेको उनले बताए । डाक्टरहरूले आन्दोलन चलिरहेका कारण सकिएपछि उपचार गरिदिने आश्वासन दिँदै आएको ठाकुर बताउँछन् । ‘अस्पतालको ओपिडी टिकट काउन्टर खुल्ला र डाक्टरलाई देखाउँला भन्ने आसमा बिहानैबाट अस्पतालमा ल्याएको छु,’ उनी भन्छन्, ‘हाल साथीको कोठामा बस्दै आएको छु, कहिलेसम्म डाक्टरको आन्दोलन गर्ने हो र सालीको उपचार गराउने हो !’ हालसम्म पेटको मासु पलाएको उपचार गराउँदा २० लाख रूपैयाँ सकिसकेको उनले बताए ।

घटना २


सिन्धुलीका ६० वर्षीय विष्णुबहादुर पाख्रिन अल्सरको उपचार गराउन काठमाडौं आएको ८ दिन भइसकेको छ । ‘दिसा–पिसाबको जाँच गराएँ, तर आन्दोलनका कारण रिपोर्ट देखाउन पाएको छैन,’ उनी भन्छन्, ‘५ दिनका लागि लेखिदिएको औषधि खाइसकेँ, रिपोर्ट तयार छ, तर डाक्टरलाई देखाउन पाएको छैन ।’

पाख्रिनले काठमाडौंमा बस्नका लागि कोही पनि आफन्त नरहेको बताए । ‘कहिले इँटाभट्टा त कहिले ज्यामीसँग बस्दै आएको छु,’ उनले दुखेसो पोखे ।

पाख्रिन शुक्रबारदेखि नै काउन्टर खुल्छ कि भन्ने प्रतीक्षामा छन् । ‘खुल्छ कि भनेर बिहानैदेखि आउँछु, घरबाट ल्याएको पैसा सकिन लागिसक्यो, तर उपचार पाउन सकेको छैन,’ उनी भन्छन्, ‘उपचार गराउन पाए घर फर्कन्थेँ ।’

५ दिनदेखि सरकारी अस्पतालमा सेवा ठप्प हुँदा लाखौँ बिरामी अलपत्र परेका छन् । तर, समाधान निकाल्नुपर्ने सरकार र कठोरतम तहमा उत्रिएर आन्दोलन गरिरहेका चिकित्सकलाई निमुखा बिरामीको क्रन्दनले नछुँदा देशको स्वास्थ्य क्षेत्र नै धरासायी बन्ने अवस्था आएको छ । सरकारी अस्पतालमा सेवा नपाएमा उपचारमा पहुँच अभावकै कारण ज्यान गुमाउनुपर्ने विपन्न जनताको बाध्यता सरकार बुझ्न सक्दैन । यदि बुझ्दो हो त आन्दोलनकारीसित वार्ता गर्दो हो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले आन्दोलन घोषणा गरेलगत्तै आन्दोलन सुरु हुनुअघि नै वार्तामा लाग्नुपर्ने सरकार आन्दोलनकारी स्वयम्ले वार्ता मागिरहँदा पनि किन पहल गर्दैन ? कतै गरिब जनतालाई मारेर निजी अस्पताललाई पोस्ने खेल त होइन ? यो प्रश्न ५ दिनदेखि अलपत्र पारिएका बिरामीको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय